१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस
२०७५ माघ १० बिहीबार १६:३८:००
Read Time : > 1 मिनेट
समाचार

कर्मचारीको रोजाइ : प्रदेश नं ३ र काठमाडौँका स्थानीय तह

Read Time : > 1 मिनेट
रासस
२०७५ माघ १० बिहीबार १६:३८:००

समायोजनमा जानका लागि कर्मचारीको पहिलो प्राथमिकतामा सात प्रदेशमा प्रदेश नं ३ र सात सय ५३ स्थानीय तहमा काठमाडौँ महानगरपालिका परेका छन् । 

कर्मचारीको समायोजनको पहिलो प्राथमिकतामा परेको प्रदेश नं ३ मा १३ हजार ६ सय ८४ र काठमाडौँ महानगरमा सात हजार दुई सय १२ कर्मचारीले आवेदन फाराम भरेका छन् । 

प्रदेशमा ५८ हजार ६ सय २३ ले समायोजन फाराम भरेकामध्ये सबभन्दा बढी प्रदेश नं ३ मा १३ हजार ६ सय ८४ ले रोजेका छन् । प्रदेशको कूल दरबन्दी २२ हजार सात सय ५५ मध्ये आधाभन्दा बढी प्रदेश नं ३ रोजेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी उपसचिव अनिता निरौलाले बताइन् । 

मन्त्रालयले गत पुस ११ गतेदेखि माघ २ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि कर्मचारीसँग आवेदन फाराम माग गरेको थियो । प्रदेशमा सबभन्दा थोरै रोज्नेमा सुदूरपश्चिम प्रदेश रहेको छ । सुदूरपश्चिम प्रदेशमा पाँच हजार ९८ कर्मचारीले मात्र रोजेका छन् ।

समायोजनका लागि एक कर्मचारीले सातवटै प्रदेश फाराम भर्न पाउने व्यवस्था गरिएको छ । कर्मचारीको दोस्रो रोजाइमा प्रदेश नं ५ परेको छ । प्रदेश नं ५ मा १० हजार चार सय ४९ कर्मचारीले समायोजनका लागि फाराम भरेका छन् । यस्तै क्रमशः तेस्रोमा प्रदेश नं १ मा नौ हजार दुई सय ९०, चौथोमा प्रदेश नं ४ मा सात हजार नौ सय ८४, पाँचौँमा प्रदेश नं २ मा ६ हजार नौ सय २७ र छैठौँमा पाँच हजार दुई सय ६ रहेका छन् । 

उपसचिव निरौलाले समायोजन रोजेकामध्ये ज्येष्ठताका आधारमा समायोजन गरिने बताए । प्रदेशमा २२ हजार सात सय ५५ कर्मचारी आवश्यक रहेकोमा ५८ हजार ६ सय २३ कर्मचारीले समायोजनका लागि फाराम भरेका थिए । 

कर्मचारीले समायोजनका लागि काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तह नै पहिलो रोजाइमा परेका छन् । कर्मचारीको रोजाइमा सात सय ५३ स्थानीय तहमा सबभन्दा बढी काठमाडौँ महानगरपालिका नै कर्मचारीको रोजाइमा परेको छ । 

काठमाडौं महानगरमा समायोजन हुनका लागि सात हजार दुई सय १२ कर्मचारीले आवेदन फाराम भरेको उनले बताए । स्थानीय तहमा तीन लाख ५४ हजार दुई सय २५ ले समायोजनका लागि फाराम भरेका छन् । एक कर्मचारीले सात सय ५३ स्थानीय तहमा फाराम भर्न पाउने व्यवस्था गरिएको थियो ।