१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ बैशाख ६ शनिबार २१:०९:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना रोक्न युवाको सक्रियतामा गाउँगाउँमा तगारो

Read Time : < 1 मिनेट
२०७७ बैशाख ६ शनिबार २१:०९:००

लकडाउनको समयमा पनि मानिसको चलहपहल बढेको भन्दै लमजुङका ग्रामीण भेगहरूमा स्थानीय र युवाले गाउँमा आवजजावत गर्ने मुख्य बाटोमै तगारो हालेका छन् ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा पनि अटेर गरी गाउँमा बाहिरबाट अपरिचित व्यक्तिहरू आउने र साना सवारीसाधन गुड्ने गरेको भन्दै ग्रामीण भेगका युवाहरूले गाउँ प्रवेश गर्ने मूलबाटोमै तगारो हालेका हुन् । यस्तै कतिपय स्थानमा रूख ढालेरै आवात–जावतमा रोक लगाइएको छ ।

बेंसीसहर नगरपालिका– २ स्थित कालिका युवा क्लब र कालिका स्काई क्लबले गाउँ प्रवेश गर्ने सडकमा रूख ढालेर बाटो बन्द गरेका छन् । क्लबले वडा नं. २ चिसापानी हुँदै सुन्दरबजार– ५ गहेत जाने बाटो बन्द गरेका हुन् । लकडाउनको समयमा गाउँमा अपरिचित व्यक्तिहरू आउने क्रम बढेपछि तगारो हाल्न बाध्य भएको चिसापानीका स्थानीय हिरासिंह गुरुङले बताए ।

उत्तरी लमजुङस्थित मस्र्याङ्दी गाउँपालिकामा बाहुनडाँडा, ठुलीबेंसीलगायतका स्थानीयले पनि गाउँमा बाहिरका व्यक्ति प्रवेशमा रोक लगाउन मुख्य बाटोमा तगारो राखेका छन् । त्यस्तै पूर्वी लमजुङको राइनास नगरपालिका– ४ मा स्थानीय युवाले विभिन्न चार नाकामा तगारो हालेका छन् । आकस्मिक सेवाका लागि आउने सवारीका लागि भने बाटो खुला गरिने उनीहरूले बताएका छन् ।

विश्वव्यापी महामारीकाे रूप लिइरहेको कोरोना भाइरस (कोभिड– १९)को संक्रमणबाट बच्न र बचाउन आवत–जावतमा बन्देज गर्न बाटोमै तगारो राखेको स्थानीयले बताएका छन् । अहिले लकडाउनमा कडाइ गर्दै सरकारले एक पालिकाबाट अर्को गाउँपालिका प्रवेशमा समेत रोक लगाएको छ ।