१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ बैशाख ६ शनिबार १६:४९:००
Read Time : > 1 मिनेट
समाचार

र्‍यापिड टेस्ट गर्न ओखलढुंगाका गाउँगाउँमा स्वास्थ्यकर्मी

Read Time : > 1 मिनेट
२०७७ बैशाख ६ शनिबार १६:४९:००

ओखलढुंगामा विदेशबाट फर्किएका सबैको गाउँगाउँमा पुगेर र्‍यापिड टेस्ट गर्न थालिएको छ । जिल्ला कमाण्ड पोस्टको नेतृत्वमा स्वास्थ्यकर्मीसहितको टोलीले शुक्रबारबाट गाउँपालिकास्तरमा पुगेर विदेशबाट आएका मानिसको ऱ्यापिड डाइग्नोष्टिक टेस्ट (आरटिडी) गर्न थालेको हो । विदेश र सहरबाट आएका मानिसका कारण कोरोनाको त्रास बढेकाले गाउँमै पुगेर उनीहरू सबैको आरटिडी परीक्षण गर्न सुरु गरिएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

‘विदेशबाट आएका, सहरबाट गाउँ पसेका, यसअघि क्वारेन्टाइनमा बसेका तथा शंका लागेका सबैको उनीहरू रहेकै ठाउँमा पुगेर र्‍यापिड टेस्ट गर्न थालेका छौँ,’ आचार्यले भने, ‘गाउँमा बढी चहलपहल हुने भएकाले जोखिम छ । त्यहाँ पुग्दा हाम्रो टोलीले सचेतनाका कार्यक्रम पनि सञ्चालन गर्नेछ ।’

जिल्लाका आठवटै स्थानीय तहमा पुग्ने गरी तीनवटा प्राविधिक टोली बनाएर आरटिडी परीक्षण सुरु गरिएको छ । जिल्ला कमाण्ड पोस्ट र स्वास्थ्यकर्मीको समूहलाई स्थानीय सरकारले र्‍यापिड टेस्टमा सहयोग गरिरहेका छन् । शुक्रबार मानेभञ्ज्याङका ५० र मोलुङका विदेशबाट आएका १७ र अन्य चार गरी २१ जनाको आरटिडी गरिएको थियो ।

मानेभञ्ज्याङमा परीक्षण गरेको टोलीले आज शनिबार चिशंखुगढी गाउँपालिकामा आरटिडी परीक्षण गरेको छ भने मोलुङको टिमले खिजिदेम्बा गाउँपालिकामा आरटिडी परीक्षण गरेको छ । लिखु गाउँपालिका, चम्पादेवी गाउँपालिका र सुनकोसी गाउँपालिकामा आरटिडी परीक्षण गर्न अर्कै टिम खटाइएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा ७ वैशाखसम्ममा जिल्लाका एक सय ४५ जनाको आरटिडी परीक्षण गर्ने तयारी छ ।

यसअघि गत बुधबार सिद्धिचरण नगरपालिकाको ओखलढुंगा क्याम्पसको क्वारेन्टाइनमा बसेका २० जनाको आरटिडी परीक्षण गरिएको थियो । परीक्षणमा उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्ने गरी पठाइएको छ । प्रदेश सरकारले ओखलढुंगामा र्‍यापिड टेस्टका लागि एक सय ५० वटा किट उपलब्ध गराएको छ ।