मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
वैदेशिक रोजगारीका सिलसिलामा युएई पुगेका नेपाली श्रमिक रोजगार कम्पनीले जागिरबाट निकालेपछि दुबईको एक भवनको छतमा आश्रय लिएर बस्दै 
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख ६ शनिबार ०८:५५:००
Read Time : > 1 मिनेट
प्रवास

विदेशमा नेपाली कामदार जोखिममा, रेमिट्यान्स १० प्रतिशत घट्ने अनुमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख ६ शनिबार ०८:५५:००

कोरोना भाइरस ९कोभिड–१९० संक्रमणका कारण चालू आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाह १० प्रतिशतले घट्ने नेपाल राष्ट्र बैंकको अनुमान छ । नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको एक छलफलमा बोल्दै नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले अधिकांश मुलुक लकडाउन भएका कारण रेमिट्यान्स आप्रवाह घट्ने बताए ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रिएको थियो । तर, यो वर्ष ८ खर्ब पनि भित्रिन नसक्ने सम्भावना रहेको बैंकका प्रवक्ता भट्टले बताए । यद्यपि, संक्रमण मे महिनाको मध्यमा अन्त्य भयो भने पनि रेमिट्यान्स खासै नघट्ने उनको अनुमान छ । 

बहुपक्षीय साझेदारसँग ऋण सहयोग लिन सकिने

वर्तमान अवस्थामा मुलुकको आर्थिक अवस्थालाई नियन्त्रण गर्न बहुपक्षीय साझेदारसँग ऋण सहयोग लिएर भरपूर प्रयोग गर्नुपर्ने केन्द्रीय बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । यतिवेला विश्व बैंक, एसियाली विकास बैंकजस्ता संस्थाबाट सहयोग लिन सकिने उनले बताए । ‘सामान्य अवस्थामा त हामी आइएमएफजस्तो संस्थासँग सहयोग लिँदैनाैँ । तर, यतिवेला आइएमएफले नै सरकारको बजेटरी सपोर्टमा प्रयोग गर्न सकिने भन्ने सर्तमा सहयोग गर्न सक्ने भनेको छ । त्यसैले, त्यस्तो सहयोग रकमलाई सरकारको साधन परिचालनमा प्रयोग गर्न सकिन्छ,’ उनले भने ।

प्राथमिकता निर्धारण गरी व्यापार घाटा कम गर्न सकिने

नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको २७ प्रतिशत योगदान हुन्छ । यद्यपि, बर्सेनि १ खर्बबराबरको आधारभूत कृषिजन्य वस्तुको आयात गरिरहेको उनले बताए । ‘तर, हामीले चाह्यौँ भने यो आयातलाई व्यवस्थापन गर्न सक्छौँ । खुला अर्थतन्त्रमा प्रतिस्थापन गर्न त गाह्रो छ । तर, आधारभूत कृषिजन्य सामग्रीमा आत्मनिर्भर हुन सकिन्छ,’ उनले भने । यसैगरी, जलविद्युत् परियोजनाबाट निर्माणलाई जोड दिएर पेट्रोलियम पदार्थको आयातमा कम गरी व्यापार घाटा कम गर्न सकिने उनले बताए । 

वैदेशिक रोजगारीमा गएका कामदार उच्च जोखिममा

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरू उच्च जोखिममा रहेको श्रम आप्रवासविज्ञ एवं इक्विडेम रिसर्च सेन्टरका दक्षिण एसिया निर्देशक रामेश्वर नेपालले बताए । कामदार स्वास्थ्यका दृष्टिकोणमा र आर्थिक दृष्टिकोण नै पनि जोखिममा परेको उनले बताए । धेरै कामदार एउटै क्याम्पमा बस्नुपर्ने तथा रोजगारदाताले सुरक्षाका लागि अपनाउनुपर्ने उपकरण प्रदान नगरेका कारण कामदारमा स्वास्थ्य जोखिम बढेको छ । त्यस्तै, कम्पनीहरू बन्द हुँदै जाँदा कामदारहरू बेरोजगार भएर आर्थिक जोखिममा पर्दै गएको उनले बताए ।

वर्तमान परिस्थितिमा नेपाली श्रमिकको सुरक्षाका लागि नेपाल सरकारले सम्बन्धित मुलुकसँग कूटनीतिक पहल गर्नुपर्ने श्रम आप्रवासविज्ञ एवं इक्विडेम रिसर्च सेन्टरका दक्षिण एसिया निर्देशक रामेश्वर नेपालले बताए । अधिकांश मुलुकले श्रम कटौती गरेका छन् । जसमा नेपाली कामदार पनि परेका छन् । तर, श्रम सम्झौताअनुसार कुनै पनि मुलुकले यस्तो परिस्थितिमा बेतलबी बिदा दिन मिल्दैन । त्यस्तै, साउदी अरबलगायतका मुलुकले सम्झौताविपरीत आप्रवासी कामदार र स्वदेशी कामदारमा विभेद गरेका छन् । त्यसैले, नेपाली कामदारको सुरक्षाका लागि सरकारले कूटनीतिक पहल बढाउनुपर्छ ।