१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एनआरएनएका पूर्व अध्यक्षहरू । फाइल फाेटाे
नयाँ पत्रिका लन्डन
२०७७ बैशाख ५ शुक्रबार २०:४४:००
Read Time : > 1 मिनेट
प्रवास

कोरोनापीडितका लागि सम्पूर्ण संयन्त्र परिचालन गर्न एनआरएनएका पूर्वअध्यक्षहरूको जोड 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका लन्डन
२०७७ बैशाख ५ शुक्रबार २०:४४:००

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्षहरूले कोरोना संक्रमणबाट पीडित नेपालीको सहयोगका लागि संघका सम्पूर्ण संयन्त्र परिचालन गर्न संघका पदाधिकारीहरूसँग आग्रह गरेका छन् । अध्यक्ष कुमार पन्तलगायत पदाधिकारीहरूसँगको शुक्रबारको बैठकमा पूर्वअध्यक्षहरूले यस्तो आग्रह गरेका हुन् ।  

बैठकमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल फर्केर आउने नेपालीलाई देशमा समायोजन गर्न आर्थिक रूपमा पनि तयार हुनुपर्नेमा जोड दिए । कोरोना संक्रमणको महामारीबाट प्रभावितका लागि सहयोगार्थ आर्थिक संकलन गरेर दीर्घकालीन कोष स्थापना गर्नुपर्ने सुझाब उनको थियो ।

पूर्वअध्यक्ष देवमान हिराचनले लकडाउनका कारण नेपालमा हजारौँ नेपालीले दुःख पाएको बताए । उनले संघले नेपाल सरकारको ध्यानाकर्षण गराउनुपर्ने विचार व्यक्त गरेका थिए । ‘लकडाउनका कारण कृषि उत्पादनले बजार नपाउँदा कृषकले आर्थिक क्षति व्यहोर्नुपरेको छ,’ उनले भने, ‘यस सम्बन्धमा पनि सरकारको ध्यानाकर्षण गराउनुपर्छ ।’  

अर्का पूर्वअध्यक्ष जीवा लामिछानेले विदेशमा रहेका नेपालीका समस्या समाधानका लागि गैरआवासीय नेपाली संघले थप सक्रियता देखाउनुपर्नेमा जोड दिए । कोरोना संक्रमणको महामारीका कारण विश्वबजारमा आर्थिक मन्दी आउन सक्ने बताउँदै लामिछानेले लाखौँ नेपाली बेरोजगार हुन सक्नेतर्फ सचेत गराए । उनले संघलाई अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना तयार गर्नसमेत सुझाब दिएका थिए । 

निवर्तमान अध्यक्ष भवन भट्टले कोरोना भाइरसको संक्रमणमा परेका नेपालीको सहयोगमा आफ्नो र अर्को नभनी एकजुट भएर लाग्नुपर्ने बताए  ।

वैदेशिक रोजगारीमा रहेका गैरआवासीय नेपालीका समस्या र स्वास्थ्यसम्बन्धी सामग्री खरिदमा भएको प्रगति विवरणबारे संघका उपाध्यक्ष डा. बद्री केसीले विस्तृत जानकारी दिए  ।  

अर्का उपाध्यक्ष सोनाम लामाले गैरआवासीय नेपालहरूले पठाएका स्वास्थ्य सामग्री वितरणमा सरकारी प्रक्रिया ढिलो भएको बताए । त्यसैगरी उपाध्यक्ष मन केसीले कोरोना भाइरसका कारण अष्ट्रेलियमा रहेका नेपालीहरूले भोगेको समस्या अवगत गराए । 

संस्थापक नेता रामप्रताप थापाले संसारभर ९० प्रतिशत विद्यार्थीलाई खान–बस्नको समस्या रहेको बताउँदै विद्यार्थीको मुख्य समस्यामा केन्द्रित रहेर संघले राहतको प्याकेज ल्याउनुपर्नेमा जोड दिए । 

संघका प्रवक्ता डिबी क्षेत्रीले मध्यपूर्वमा रहेका गैरआवासीय नेपाली समुदायका गतिविधि र समस्याबारे, कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक पारदर्शिताबारे प्रकाश पारे । सबै राष्ट्रिय समितिलाई तीन–तीन महिनामा आर्थिक रिपोर्ट वेबसाइटमार्फत सार्वजनिक गर्ने व्यवस्था गरेको कोषाध्यक्ष श्रेष्ठले जानकारी गराएका थिए । 

महिला संयोजक भूमा लिम्बूले संघको सक्रियतामा नेपालमा पठाएको सामान सदुपयोग भएको छ कि छैन, त्यसबारे सजग हुनुपर्ने बताएकी थिइन् । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकको सञ्चालन गर्दै महासचिव डा. हेमराज शर्माले कोरोनापीडित नेपालीको तथ्यांक संकलन भइरहेको जानकारी दिए  ।