मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख ५ शुक्रबार १२:१०:००
Read Time : > 1 मिनेट
साहित्य

लकडाउनमा साहित्य महोत्सव : सर्जक र दर्शक दुवै अनलाइनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख ५ शुक्रबार १२:१०:००

कोभिड–१९ फैलिन नदिन लागू गरिएको लकडाउनका कारण मान्छे घरबाहिर निस्कन सकेका छैनन् । नेपालसहित धेरै मुलुकका बासिन्दाको दैनिकी घरभित्रै सीमित छ । सहरका सडक खाली छन् भने क्याफे र चियापसल बन्द । यस्तोवेलामा सिर्जनशील व्यक्तिहरू पनि एकान्तवासमा छन् । पट्यारलाग्दो दैनिकीलाई लक्षित गर्दै लेखपढमा रुचि राख्नेहरूका लागि १ वैशाखदेखि किताब यात्रा र चौधरी फाउन्डेसनले ‘भर्चुअल लिटरेचर फेस्टिभल (किताब जात्रा– २०२०)’ सञ्चालन गरिरहेका छन् ।

फेस्टिभलमा वक्ता र दर्शक अनलाइनबाटै जोडिएका छन् । फेसबुक लाइभमा दुवै पक्ष अन्तक्र्रिया गर्छन् । फेस्टिभलको पहिलो दिन ‘आख्यानको अभिभारा’ शीर्षकमा आख्यानकारहरू युग पाठक, अमर न्यौपाने र मनीषा गौचनले एक घन्टा छलफल गरे । कार्यक्रमलाई निरूपा प्रसुनले सहजीकरण गरिन् । यस्तै, ‘भर्चुअल मिडियामा रंगमञ्च’ शीर्षकमा अनुप बराल, सरिता गिरी र केदार श्रेष्ठले छलफल गरे । कला अनुरागीले सहजीकरण गरेको यो कार्यक्रममा वर्तमान नेपाली रंगमञ्चबारे छलफल चल्यो ।

दोस्रो दिन ‘शब्दको सयर गर्ने सहयात्री’ सत्रमा कवि सरिता तिवारी, सीमा आभास र अनुपम रोशीले बोले । यस्तै, ‘गजल बहार’मा नृपेश उप्रेती, हुकुम धड्कन र विमला दाहालले गजल वाचन गरे । तेस्रो दिन ‘केटाज कथार्सिस’मा नवीन प्यासी, बिस्नु संन्यास र निर्भिकजंग रायमाझीले नयाँ पुस्ताका कविहरूको शक्ति र सीमाबारे छलफल गरे भने ‘कोरोना, बिजनेस एन्ड सिएसआर’ शीर्षकमा अमित ढकाल र विनोद चौधरीले कोभिड–१९ को महामारीपछिको अर्थतन्त्रमा केन्द्रित रहेर बहस गरे ।

अध्यक्ष ऋषिराम अधिकारी र किताब यात्राको टिमले भर्चुअल फेस्टिभलमा दर्शकको उल्लेखनीय उपस्थिति हुने सोचेकै थिएनन् । इन्टरनेटमार्फत फेस्टिभल चलिरहेकाले स्वदेश–विदेश दुवैतिर बसिरहेका नेपाली साहित्यानुरागी एकसाथ जोडिइरहेका छन् । 

‘दर्शकको उल्लेख्य उपस्थितिले हामीलाई उत्साहित बनाएको छ,’ अधिकारी भन्छन्, ‘त्यसैले फेस्टिभललाई थप एक साता सञ्चालन गर्दै छौँ ।’ किताब यात्रा टिम कार्यक्रम लिएर सातै प्रदेशमा जाने योजनामा थियो । तर, कोभिड–१९ का कारण त्यो योजना सफल भएन । त्यसैले भर्चुअल लिटरेचर फेस्टिभलको अवधारणा फुरेको अधिकारी बताउँछन् ।