१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख ५ शुक्रबार ०९:५६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

काठमाडौंका सबै वडामा र्‍यापिड टेस्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख ५ शुक्रबार ०९:५६:००

काठमाडौं महानगरपालिकाले विदेशबाट फर्किएर महानगरमा बसोवास गर्दै आएका र उनीहरूको सम्पर्कमा रहेका सबैको र्‍यापिड टेस्ट गर्ने भएको छ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुईजनामा कोरोना पुष्टि भएपछि महानगरले बुधबारदेखि र्‍यापिड टेस्ट थालेको हो । विदेशबाट फर्किएका सबैको र्‍यापिड टेस्ट गर्ने गरी परीक्षण सुरु गरिएको मेयर विद्यासुन्दर शाक्यले बताए ।

बिहीबार वडा नम्बर ४ का ५१ जनाको कोरोना परीक्षण भएको छ । र्‍यापिड टेस्टमा सबैको रिपोर्ट नेगेटिभ आएको वडा नम्बर ४ का अध्यक्ष मोहन विष्टले बताए । बुधबार भएको परीक्षणमा वडा नम्बर ५ का ३९ को रिपोर्ट पनि नेगेटिभ थियो । महानगरले १८ फागुनपछि विदेशबाट फर्केर आएकाको तथ्यांक संकलन गरी उनीहरू र उनीहरूको सम्पर्कमा आएका सबैको र्‍यापिड टेस्ट गर्न थालेको महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले जानकारी दिए । उनका अनुसार विदेशबाट फर्किएर आएका मात्रै एक सय ३७ जना छन् ।

तीमध्ये सबैभन्दा धेरै दुबईबाट फर्किएका छन् । यस्तै, कतार, फ्रान्स, अस्ट्रेलिया, बेल्जियम, अमेरिका, कुवेत, जोर्डन, मलेसिया, थाइल्यान्ड, जापान, जर्मन र भारतलगायत देशबाट आउनेको संख्या ठूलो छ । वडा नंं. ११ मा मात्रै २६ जना विदेशबाट फर्किएका नागरिक छन् । यस्तै, वडा ३० र ३१ मा ११–११ जना रहेका छन् भने ३२ मा ६ जना रहेका छन् । त्यस्तै, वडा २२ मा ७ र वडा २१ र ७ मा ६–६ जना रहेका छन् । वडा १४ मा पाँच र वडा १९ मा चारजना रहेका छन् । अन्य वडामा त्योभन्दा कम संख्यामा रहेका छन् ।