मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ बैशाख ४ बिहीबार १६:४६:००
Read Time : > 1 मिनेट
समाचार

कोरोनाका कारण जनकपुर–जयनगर रेल चलाउने सरकारको तयारी अन्योलमा 

Read Time : > 1 मिनेट
२०७७ बैशाख ४ बिहीबार १६:४६:००

चालू आर्थिक वर्षभित्रै सञ्चालनमा आउने भनिएको जनकपुर–जयनगर रेल सञ्चालन पछिल्लो समयमा आएर छायामा परेको छ । नपरोस् पनि किन ? विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल र भारत दुवैै मुलुक झन्डै एक महिनादेखि लकडाउनको अवस्थाबाट गुज्रिरहेका छन् । सो रेलमार्गमा यसअघि भारतीय रेल सञ्चालन हुँदै आएको थियो । 

कोरोना भाइरस फैलने स्थिति अझै देखिँदै छ । र, सोही कारण नेपालले आफ्नै लगानीमा सञ्चालन गर्ने भनिएको जनकपुर–जयनगर रेलसेवा सञ्चालन प्रक्रिया पनि लम्बिने रेल विभागका अधिकारीहरूले बताएका छन् । 

रेल सञ्चालनका लागि नेपालले भारतको कोंकोण कम्पनीबाट रेलको इन्जिन, बग्गीलगायत खरिद गरिसकेको छ । ‘रेल कुद्नका लागि रेलमार्ग पनि निर्माण भइसकेको छ,’ रेल विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘तर, कोरोना भाइरसका कारण तत्काल नेपालले खरिद गरेको रेल ल्याउन सकिने स्थिति छैन ।’

चालू आर्थिक वर्षभित्रै रेल सञ्चालन गर्ने तयारीस्वरूप विभागले तत्काल कर्मचारी भर्ना छनोटदेखि अन्य आवश्यक व्यवस्था मिलाउँदै थियो । तर, कोरोना भाइरसको संक्रमण विस्तारका कारण नयाँ संकट सिर्जना भयो । 

कर्मचारी छनोट, उनीहरूको तालिम प्रक्रिया सञ्चालनको जिम्मालगायतका काम धेरै बाँकी थिए, अहिलेसम्म गरेको काम शून्यप्राय भएको मिश्रले बताए । ‘अब हामीले फेरि हाम्रो तयारी शून्यबाट सुरु गर्नुपर्नेछ, रेल ल्याउन समय लाग्छ, कोरोना भाइरसको असर कति पर्छ, त्यसमा निर्भर रहन्छ,’ मिश्रले भने ।

कोरोना भाइरसको संक्रमणले विश्वव्यापी रूप लिँदै गर्दा रेलमार्ग निरीक्षणका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ १ चैत (२०७६) मा जनकपुर पुगेका थिए । त्यसक्रममा उनले दुई–तीन महिनाभित्र रेलसेवा सञ्चालन हुने बताएका थिए । 

रेलसेवा सञ्चालनका लागि सरकारले सरकारी स्वामित्वमा रहेको नेपाल रेल्वे कम्पनीलाई जिम्मेवारी दिएको छ । सोहीअनुसार रेल सञ्चालनका लागि रेल्वे कम्पनीले चालू आर्थिक वर्षभित्रै रेल सञ्चालन गर्ने गरी तयारी गरेको थियो । रेल सञ्चालनकै निम्ति भनेर कम्पनीले करिब एक सय ५० भन्दा बढी कर्मचारी भर्ना गर्ने तयारी गर्दै थियो । 

यसअघि विभागले पहिलो चरणमा २६ कर्मचारी माग गरेको थियो । पहिलो चरणमा नेपाली नागरिकलाई भर्नाका लागि आवेदन दिन भनिएको थियो । तर, कुनै पनि नेपालीको आवेदन परेन । नेपाली नागरिकबाट कर्मचारी पाउन नसकेको खण्डमा श्रम ऐन, २०७४ को दफा २२ बमोजिम कर्मचारी परिपूर्ति गर्ने योजनामा रेल विभाग रहेको थियो । 

तर, यसैबीच कोरोना भाइरसको जोखिम बढ्न थाल्यो । सोही कारण आवश्यक कर्मचारी छनोट प्रक्रिया पनि रोकियो । र, रेल सञ्चालनको प्रक्रिया अनिश्चित बन्न पुग्यो । 

यसैकारण होला, मन्त्री नेम्वाङले गरेको जयनगर–जनकपुर रेलमार्गको निरीक्षणको क्रममा लिइएका तस्बिर बिहीबार फेसबुकमा पोस्ट गर्दै महानिर्देशक मिश्रले लेखेका छन्, ‘कोरोनाका कारण लकडाउन हुनुभन्दा केही दिनअगाडि माननीय मन्त्रीज्यूबाट जयनगर–जनकपुर रेल लाइन तथा स्टेसनहरूको निरीक्षण भएको थियो । छिटो रेलसेवा सञ्चालन हुने सम्भावनासमेत रहेकोमा कोरोनाको कारणले सो काम एकदम पर धकेलिएको अवस्था ।’