मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ४ बिहीबार २१:००:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

ड्राइभरकी छोरी, जसले पहिलोपटक कोरोना भाइरस पत्ता लगाइन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ४ बिहीबार २१:००:००

कोभिड– १९ नयाँ किसिमको संक्रमण हो । तर, यो संक्रमण सन् १९६४ मै पत्ता लागेको प्रजातिको कोरोना भाइरसका कारण हुने गर्छ ।

मानिसमा कोरोना भाइरस पहिलोपटक पत्ता लगाउने डा. जुन अल्मेडा बसचालककी छोरी हुन् । स्कटल्यान्डका एक बसचालककी छोरी डा. अल्मेडाले कोरोना भाइरसको पहिलो तस्बिर सार्वजनिक गरेकी थिइन् । 

अहिले महामारीको अवस्थामा सबैको ध्यान उनको यो खोजतर्फ आकर्षित भएको छ । लन्डनको सेन्ट थोमस अस्पतालमा डा. अल्मेडाले पहिलोपटक कोरोना भाइरस पत्ता लगाएकी थिइन् । अल्मेडाको जन्म सन् १९३० मा स्कटल्यान्डको ग्लासगोमा भएको थियो । आधारभूत शिक्षापछि उनले सानैमा स्कुल छोडेकी थिइन् ।

तर, स्कुल छोडेपछि भने उनले ग्लासगोस्थित एक राजकीय अस्पतालमा ल्याब टेक्निसियनका रूपमा काम पाइन् । ग्लासगो रोयल इन्फर्मरीमा उनले काम सुरु गरेकी हुन् । त्यसको लामो समयपछि सन् १९५४ उनी आफ्नो करिअरका लागि भनेर लन्डन पुगिन् । 

रुघाखोकीको अनुसन्धान
त्यसको केही समयपछि उनी क्यानडाको टोरोन्टो गइन् । बिबिसीमा उल्लेख गरिएअनुसार उनले क्यानडामा ओन्टारियो क्यान्सर संस्थानमा इलेक्ट्रोन माइक्रोस्कोप (अति–सूक्ष्मदर्शकयन्त्र) मा महत्वपूर्ण काम गरेकी हुन् ।

भाइरस निकै नै साना हुन्छन् । कुनै वस्तुलाई एक लाख गुणा ठूलो बनाएर हेर्न मिल्ने इलेक्ट्रोन माइक्रोस्कोपमा समेत भाइरसलाई नियाल्न गाह्रो पर्छ । क्यानडामै ओन्टारियोमा कार्यरत रहेका वेला अल्मेडाले भने एन्टिबडीको प्रयोग गरेर भाइरसलाई राम्रोसँग हेर्न सकिने विधिको  विकास गरिन् । उनको यो प्रतिभालाई बेलायतले मान्यता दिएको थियो, त्यससँगै उनी फेरि लन्डन फिर्ता भइन् ।

त्यसपछि उनी लन्डनको सेन्ट थोमस अस्पतालमा काम गर्न थालिन् । यो त्यही अस्पताल हो जहाँ कोरोना भाइरसबाट संक्रमित बहालवाला बेलायती प्रधानमन्त्री बोरिस जोनसनको उपचार भएको छ ।

यसक्रममा डा. अल्मेडाले रुघाखोकीमाथि अनुसन्धान गरिरहेका डा. डेभिड टायरलसँग सहकार्य थालिन् । त्यतिवेला डा. टायरलले अनुसन्धानका लागि रुघाखोकीसम्बन्धी केही भाइरसहरूमाथि अध्ययन गरिरहेका थिए ।

त्यसै क्रममा टायरलको टिमले ल्याबमै रुघाखोकीको भाइरसको नमुनाको विकास गरे । डा. टायरलले उक्त भाइरसलाई हेर्ने इच्छा राखे र उनले उक्त नमुना डा. अल्मेडालाई पठाए । उक्त नमुनाको भाइरसलाई अल्मेडाले एन्फ्लुएन्जाको भाइरसका रूपमा वर्णन गरिन् तर प्रस्ट भने पार्न सकिनन् । उनले पहिचान गरेको त्यही भाइरस नै मानिसमा पाइने कोरोना भाइरसका रूपमा चिनियो ।

मानिसमा लाग्ने रुघाखोकीको नमुना परीक्षणका क्रममा अल्मेडाले इलेक्ट्रोन माइक्रोस्कोपमा देखेकोजस्तै आकृति त्यसअघि मुसा र कुखुरामा भएको संक्रमणको नमुना परीक्षणका क्रममा पनि देखेको बताएकी थिइन् । तर, त्यतिवेला उनले देखाएको तस्बिरमा भाइरसका गलत आकृति रहेको भन्दै जर्नलमा प्रकाशित भने भएन । त्यसको दुई वर्षपछि मात्रै ब्रिटिस मेडिकल जर्नलमा उनले देखेको भाइरसको तस्बिरसहित खोज प्रकाशित भयो ।

त्यसपछि डा. टायरल, डा. अल्मेडा र थोमस अस्पतालका प्रमुख डा. टोनी वाटरसनले यो भाइरसलाई कोरोना भाइरस नाम दिए । भाइरसको बाहिरपट्टि रहेको मुकुटजस्तो आकृतिका कारण यस्लाई कोरोना नाम दिइएको हो ।

डा. अल्मेडाले त्यसपछि लन्डनकै पोस्टग्रेजुएट मेडिकल स्कुलमा काम गर्दै त्यहाँबाट डाक्टर उपाधि पाएकी हुन् । उनले आफ्नो अन्तिम कार्यक्षेत्र वेलकम इन्स्टिच्युटलाई बनाएकी थिइन् । त्यसपछि योगा टिचरसमेत बनेकी अल्मेडा फेरि भाइरोलोजीमै फर्किइन् र सन् १९८० मा एचआइभी भाइरसको तस्बिर पत्ता लगाउनमा समेत योगदान गरिन् ।

सन् २००७ मा ७७ वर्षको उमेरका अल्मेडाको निधन भएको थियो । उनको निधनको १३ वर्षपछि उनले पत्ता लगाएको भाइरसले विश्वलाई थप अनुसन्धानका लागि सहज बनाएको छ र यसले उनको स्मरण गराएको छ । (बिबिसीबाट)