मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ बैशाख ४ बिहीबार ११:०६:००
Read Time : > 1 मिनेट
समाचार

विद्युत् वितरणको लापरबाहीले बस्ती जोखिममा

Read Time : > 1 मिनेट
२०७७ बैशाख ४ बिहीबार ११:०६:००

पाँचथरको सदरमुकाम फिदिम– २ स्थित पल्लोटार पुछारमा विद्युत् वितरणको तार लत्रिएपछि पूरा बस्ती जोखिममा परेको छ । विद्युत् विस्तार गर्दा नै पोल आवश्यकताभन्दा फरक तवरले गाडिएपछि दुई पोलबीचमा तारले भुइँ नै छुन लागेको छ ।  

पल्लोटार पुछारमा जोरशालमा राखिएको ट्रान्समिटरबाट वितरणका लागि ल्याइएको तार त्यसरी लत्रिएको हो । दैनिक सयौँ नागरिक ओहोरदोहोर हुने ठाउँमा तार लत्रिएपछि जोखिम बढेको हो । 'राति गाडी आउँदा तार भेट्ने अवस्थामा छ,' स्थानीय यज्ञप्रसाद ओझाले भने, 'स्थानीय सरकारलाई समस्या समाधानका लागि धेरैपटक अनुरोध गरियो, कसैले सुनेन ।' 

दैनिक सोही बाटो भएर सयौँ विद्यार्थी विद्यालय र घर गर्छन् । सबैभन्दा जोखिम केटाकेटीहरूलाई रहेको स्थानीयले बताए । पोल लगाउँदैदेखि सामान्य समस्या देखिएको भए पनि पछिल्लो समय भुइँभन्दा पाँच फिटभन्दा पनि कम दूरीमा तार झरिसकेका छन् ।

दुई सय ४० भोल्ट प्रसारणमा रहेको तार मान्छेले सहजै पुग्ने ठाउँमा लत्रिएपछि जोखिम उच्च भएको हो । त्यस क्षेत्रमा नजिकै रहेको इँटाभट्टामा काम गर्दै आएका मजदुरको बाक्लो बसोवास छ । अहिले लकडाउनका कारण काम नभएपछि कामदारको चाप कम भए पनि खुलेपछि जोखिम अझै बढ्ने स्थानीयले बताए । 

एक ठाउँमा मात्रै त्यस्तो समस्या छैन । मान्छेले सहज पुग्ने गरी दुई ठाउँमा गरेर करिब चार सय मिटर क्षेत्रमा त्यस्तो समस्या देखिएको छ । सोही वितरण लाइनको एक ठाउँमा इँटा उद्योगको काम गर्न असहज भएपछि बाँस लगाएर अस्थायी समाधान गरिएको छ । तर, बाँस कतिखेर भाँचिएर दुर्घटना हुने हो टुंगो छैन । 

फिदिममा विद्युत् वितरणको काम फिदिम विद्युत् सहकारी संस्थाले हेर्ने हो । वितरणतर्फको काम नेपाल विद्युत् प्राधिकरण नहेर्ने कारण सहकारीले तत्काल समस्या समाधान नगर्दा दुर्घटनाको सम्भावना बढेको छ । दैनिक घाँस–दाउराका लागि बारीमा जाँदासमेत तारको डर हुने गरेको स्थानीय मदन अधिकारीले बताए । तार लत्रिएपछि करिब १० परिवार पूर्ण मारमा छन् भने पूरा बस्ती प्रभावित भएको छ ।