१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख ४ बिहीबार ०८:३६:००
Read Time : > 1 मिनेट
सम्पादकीय

आप्रवासी कामदार फर्काउने तयारी थाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख ४ बिहीबार ०८:३६:००

सम्पादकीय

यसपटकको महामारी केबल एकमहिने लकडाउन अथवा सरकारले दिएको आश्वासनमा सकिने सामान्य घटना होइन । वर्षायामको बाढी या पहिरो एकपटक एक ठाउँमा आउँछ, जान्छ । त्यसको व्यवस्थापनमा सामान्यतया राज्यको स्रोत र शक्तिले धान्छ । केहीले लामो समय दुःख पाउँछन्, कतिपय राज्यको बेवास्ताको सिकार हुन्छन् । हिउँपहिरो या चिसोका कारण ज्यान जानेहरू पनि निश्चित र थोरै संख्यामा हुन्छन् । उद्धार हुन्छ । परिवारमा असर त पर्छ, तर समाज र अर्थतन्त्र चलायमान रहन्छन् । नेपालको अनुभव हेर्दा लामो समयको गृहयुद्धको स्थिति पनि वस्तु उत्पादन र वितरण प्रणालीमा ठूलो प्रभाव नपारी सकिएको थियो । भुइँचालो गएर घर भत्केका या आफन्त गुमाएकाहरूसमेत दुई–चार दिनमा खेतबारीमा मकै खन्न र खेती गर्न सक्रिय भएका थिए । दुनियाँभरिका देश नेपाललाई सहयोग र राहत लिएर आएका थिए । तर, यसपालि कोरोनाको महामारीले भने छिटै मान्छेलाई छाड्ने जस्तो देखिन्न । यसले घर–घर, बस्ती–बस्ती र देश सबैलाई प्रभावित गरेको छ ।

सरकारले विदेशमा अलपत्र परेका र फर्किन चाहने नेपाली कामदार र विद्यार्थीलाई फिर्ता ल्याउन आवश्यक पहल गर्न ढिलो गर्नुहुँदैन

अर्थतन्त्रका मुख्य शाखा कृषि, उद्योग, सेवासमेतका क्षेत्र उत्पादन ठप्प पारेर बसेका छन् । लाखौँको रोजगारी गुमिसकेको छ । करोडौँको गुम्ने आकलन गरिएको छ । कतिपय साना उद्योगी र व्यापारी त फेरि आफ्नो व्यवसाय पुनस्र्थापना गर्न नसक्ने गरी लड्खडाएका छन् । मानिसको आयस्ता घट्दै छ । आयस्ता घटेपछि मानिसले जग्गा–जमिन किन्न, घर बनाउन, नयाँ उद्योग खोल्न, व्यवसाय विस्तार गर्न सक्दैनन् । यस्तोमा औद्योगिक वस्तुदेखि उपभोग्य वस्तुसम्मको माग घट्छ । यसरी माग घट्दा त्यसको एउटा दुश्चक्र पैदा हुन्छ र अर्थतन्त्र धर्मराउँछ । नेपालका हकमा यी सबै प्रभावसँगै अर्को प्रभाव पनि थपिनेछ । आप्रवासी मजदुर आफ्नो गन्तव्य देशमा बढ्ने बेरोजगारीको सिकार भएर घर फर्कनेछन् । फर्केकालाई यता रोजगारी दिन नसक्ने, उता तिनले पठाउने विप्रेषणको मुहान सुक्दै जाने समस्या नेपाली अर्थतन्त्रले सामना गर्नुपर्नेछ ।

अहिले नै नेपाल सरकार कमजोर नभएको भए कतार, सउदी अरेबिया, युएई, कुवेत, मलेसिया र दक्षिण कोरियाबाट घर फर्कन तयार श्रमिकलाई फर्काइहाल्नुपर्ने अवस्था छ । निर्माण क्षेत्रमा काम रोकिँदा नेपाली मजदुर बेरोजगार भएका छन् । कम्पनीले बिदा दिएर निकालिदिएको छ । गाँस, वासको ठेगान छैन । युएई र कुवेतले नेपाललाई आफ्ना मान्छे फिर्ता लाने व्यवस्था गर्न सूचित गरिसकेका छन् । नेपाली श्रमिक आफ्नो देश नभएजस्तो गरी बेवारिसे बन्ने सम्भावना बढ्न थालेको छ । भारतीय सहरमा पुग्ने नेपालीका कथा त प्रायः सञ्चार–माध्यममा आई नै रहेका छन् । यी सबै घटनाको संकेत के हो भने अब नेपालले विदेशमा कमाइ गर्न जानेहरू फर्केर आउँदाको लर्कोको स्वागत गर्न तयार हुनुपर्नेछ । तिनलाई रोजगारी खोज्न सहयोग गर्ने, उत्पादनको काममा लाग्न आवश्यक सहयोग गरी व्यवस्थापन गर्ने काममा राज्य र समाज दुवै सक्रिय भइहाल्नुपर्ने छ । तर, अहिलेको मुख्य काम भने सरकारले विदेशमा अलपत्र परेका र फर्किन चाहने नेपाली कामदार र विद्यार्थीलाई फिर्ता ल्याउन आवश्यक पहल गर्नु नै हो । विदेश गएर कमाउने दिन फेरि आउला, तर अहिले भने उनीहरूलाई नेपाल आउन सहयोग गर्ने र दीर्घकालीन रूपमा नेपालमै रोजगारी पाउने अवस्था सिर्जना गर्न योजना बनाउनु आवश्यक छ ।