मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ बैशाख ३ बुधबार २१:५६:००
Read Time : > 1 मिनेट
समाचार

धरहरा पुनर्निर्माण जारी, तर मजदुरलाई न राहत, न मास्क न साबुनपानी 

Read Time : > 1 मिनेट
२०७७ बैशाख ३ बुधबार २१:५६:००

सारा नेपाल ‘लकडाउन’मा छ । मानिस घरमै बसेर सरकारले जारी गरेको लकडाउन पालना गरिरहेका छन् । काम नभएपछि राजधानीमा रहेका मजदुरमा घर फर्कने हतारो छ । तर, राजधानीमा केही मजदुर अझै पनि काममा व्यस्त छन् । 

कोरोना भाइरसको संक्रमणबाट बच्न जे–जति सुरक्षाका साधन प्रयोग गर्नुपर्ने हो, त्यो उनीहरूले पाएका छैनन् न त उनीहरूले राहत नै पाएका छन् । धरहरा पुनर्निर्माणमा खटिएका मजदुरले सुरक्षाका साधन नपाएका हुन् । 

‘लकडाउन’को अवधिमा पनि धरहरा पुनर्निर्माणको काम नरोक्ने भनिएपछि पाइलिङ (वरिपरि जग खनेर बलियो वाल लगाई बलियो पार्ने काम)को जिम्मेवारी पाएका २० मजदुर (भारतीय) दैनिक काममा खटिएका छन् । तर, उनीहरूले न मास्क लगाउन पाएका छन्, न त साबुनपानीले हात धुन नै । जब कि कोरोना संक्रमणबाट बच्न यिनको प्रयोग अनिवार्य मानिएको छ । सामाजिक दूरी कायम राख्नु त उनीहरूका लागि परको कुरा भएको छ । 

यीमध्येका एक महद जमालका भनाइअनुसार उनीहरूका लागि भारतीय राजदूतावासले १५ दिन थोरै दाल, चामल र बिस्कुट दिएको थियो, जुन आज सकिँदै छ । २० जना मजदुर बाँकी रहे पनि ठेकेदार सम्पर्कमा नहुँदा र निर्माण सामग्री नहुँदा पाँचजनाले मात्र काम पाएका छन् । ‘दाल–चामल सकिएपछि भोलिदेखि के खाने भन्ने चिन्ता छ,’ जमालले भने, ‘हामी बिचल्लीमा पर्ने भयौँ ।’

११ चैतदेखि लकडाउन सुरु भएसँगै सम्पूर्ण निर्माणकार्य बन्द हुन पुगेका छन् । त्यसअघि धरहराको पुनर्निर्माणमा दैनिक दुई सयजना मजदुरले काम गर्ने गरेका थिए । तर, कोरोना भाइरसको संक्रमणको त्रास र लकडाउनको घोषणासँग अधिकांश नेपाली मजदुुर घर फर्के । तर, यी भारतीय मजदुरचाहिँ फर्कन पाएनन् । लकडाउनसँगै पाइलिङको जिम्मेवारी पाएका ठेकेदार सम्पर्कविहीन भए । 

सामाजिक दूरी कायम राख्ने भनिए पनि मजदुर भएका कारण त्यो उनीहरूका लागि सम्भव छैन । बस्ने दुईवटा कोठा छन् । दुई कोठामा २० जना मजदुर कोचिएर सुत्नुपर्छ । ठेकेदार सम्पर्कमा नभएकाले दाल–चामल किन्ने पैसा छैन । ‘सबैभन्दा ठूलो समस्या भनेको पेटको हो, पेट भर्न चाहिने सामान किन्ने त पैसा छैन,’ अर्का मजदुरले भने, ‘यस्तोमा मास्क कहाँबाट किन्नु, घन्टैपिच्छे हात धुन साबुन कहाँ पाउनु ? 

कोलकाता र पटना घर बताउने उनीहरू कोरोना सन्त्रासको वेला परिवारबाट छुट्टिनुपर्दा निकै निराशासमेत बढेको बताउँछन् । झन् एकपछि अर्काे गर्दै बढेको लकडाउनको अवधिले आफूहरूमा त्रास र निराशा बढेको उनीहरूको भनाइ छ । ‘यहाँ आफ्नै हातमुख जोर्न समस्या पर्ने भइसक्यो, यस्तोमा घरमा पैसा पठाउनु त परको कुरा भयो,’ उनीहरूले भने, ‘हिँडेरै भए पनि सीमानाकासम्म जाने कि भनेर सल्लाह गरेका थियौँ, तर सीमानाका पुगियो भने पनि उता (भारत) तिर छिर्न दिँदैन भन्ने सुनेपछि रोकिएका छौँ ।’ 

धरहरा पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई छ । ‘लकडाउनको अवधिमा समेत काम गरिरहेका मजदुरलाई राहत र संक्रमण हुन नदिन सुरक्षाका सामग्री दिनुपर्ने होइन र ?’ भन्ने प्रश्नमा प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने, ‘उनीहरूको व्यवस्थापन र आवश्यक सुरक्षाको जिम्मेवारी सम्बन्धित कन्स्ट्रक्सनको हो । उनीहरूले कस्तो व्यवस्था गरेका छन् भनेर हामीले केही दिनअघिसम्म फलो गरिरहेका थियौँ ।’ 

यदि उनीहरू समस्यामै परेका छन् भने उनीहरूको व्यवस्थापनका लागि पुनर्निर्माण प्राधिकरणले कदम चाल्ने ज्ञवालीले बताए । उनले भने, ‘समस्या के रहेछ, सम्बन्धित ठेकेदारसँग बुझेर तत्काल समाधान गर्न निर्देशन दिनेछु । काम गरिरहेका मजदुर भोकै बस्नुपर्ने अवस्था आउन दिइनेछैन ।’