मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ बैशाख ३ बुधबार ११:५६:००
Read Time : < 1 मिनेट
अर्थ

फौजीकीराको प्रकोप बढेपछि उदयपुरका किसान चिन्तित

Read Time : < 1 मिनेट
२०७७ बैशाख ३ बुधबार ११:५६:००

आफूले लगाएको बालीमा फौजीकीराको संक्रमण देखिएपछि उदयपुरका किसान चिन्तित बनेका छन् । 

किसानले लगाएको मकै तथा तरकारीजस्ता हिउँदे बालीमा फौजीकीराले आक्रमण गरेर क्षति पुऱ्याउन थालेपछि किसालाई चिन्ताले सताउन थालेको छ । 

कीराको आक्रमणबाट किसानले लगाएको मकै र तरकारीमा नोक्सानी हुन थालेको छ । 

डालेघाँसहरूमा समेत कीराले आक्रमण गरेपछि पशुपालन गर्ने किसानलाई समेत असर गर्न थालेको छ । 

मकैको बिरुवा नै फौजीकीराको आक्रमणले सखाप हुने अवस्था रहेको कटारी नगरपालिका– ४ का किसान ज्ञानेन्द्र कोइरालाले बताए ।

‘फौजीकीराको आक्रमणले लगाएको सबै मकैबाली नष्ट हुने अवस्था पुगेको छ,’ कोइरालाले भने । 

तीन साता अघिदेखि सुरु भएको फौजीकीराको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । नियन्त्रणमा आउनुको सट्टा झन् फैलिँदै गएको कटारी नगरपालिका– १४ का वडाध्यक्ष तेजबहादुर आलेमगरले बताए ।

उदयपुर जिल्लाको पहाडी क्षेत्रमा लगाइएको सयौँ हेक्टर मकैको बिरुवा बोटमै मर्ने गरी कीराले सखाप पारेको किसानहरूले बताएका छन् । 

यस कीराले मकैको गुबोभित्र पसेर कलिला पात खाने गरेका छ ।  

कीराको प्रकोप नियन्त्रण गर्न कृषि ज्ञान केन्द्रको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेर फौजीकीरा हो भन्ने यकिन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख नरनाथ रेग्मीले बताए ।

‘केही मात्रामा विषादीसमेत उपलब्ध गराएको भए पनि त्यतिले मात्र नपुग्ने भएकाले स्थानीय तहहरूलाई समेत औषधि खरिद गर्नका लागि अनुरोध गरेका छौँ,’ रेग्मीले भने ।  

लकडाउनका कारण कीरा नियन्त्रणका लागि विषादीसहितको प्राविधिक टोली गाउँमा खटाउन समस्या भएको रेग्मीले बताए ।

फौजीकीराले घाँस तथा मकैको गुबाे तथा पातसमेत खाने गरेको उनले बताए । किसानहरूले भने कीरा नियन्त्रणका लागि पहल गरिदिन आग्रह गरेका छन् ।