मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ बैशाख २ मंगलबार १७:१४:००
Read Time : > 1 मिनेट
अर्थ

तातोपानी नाकाबाट स्वास्थ्य र खाद्य सामग्री आयात सहज रूपमा हुने

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ बैशाख २ मंगलबार १७:१४:००

नेपाल–चीन सीमानाका तातोपानीबाट स्वास्थ्य र खाद्य सामग्रीको आयात नियमित हुने भएको छ ।

सीमा क्षेत्रमा नेपाल र चीनका सरकारी अधिकारीबीच भएको नियमित बैठकमा स्वास्थ्य सामग्री र अत्यावश्यक खाद्यान्न आयात–निर्यात गर्न नाका सहज रूपमा सञ्चालन गर्ने निर्णय भएको हो । कोरोना संक्रमण फैलन नदिन बैठक लिपिङस्थित मितेरी पुलको सीमारेखामा सामाजिक दूरी कायम गरेर बसेको थियो ।

बैठकको निर्णयअनुसार अब नेपाली पक्ष सामान ढुवानी गर्न पहिले जसरी खासा भने पुग्नुपर्दैन । चिनियाँ पक्षले मितेरी पुलसँगै जोडिएको भन्सार यार्डमा सामान ल्याएर नेपाली पक्षलाई दिनेछन् । मितेरी पुलपारि भन्सार यार्डमा सामान आएपछि लार्चास्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई चिनियाँ भन्सारले जानकारी गराउनेछ । पूर्वजानकारीअनुसार सामान डेलिभरी गर्ने व्यवस्था भन्सार कार्यालयले गर्नेछ ।

बैठकले मितेरी पुलपारि चिनियाँ क्षेत्रमा सामान ढुवानी गर्न जाने नेपालीको हेल्थ सर्टिफिकेट अनिवार्य गरेको छ । सामान ढुवानी गर्न जाने कन्टेनरका चालक, सहचालक र मजदुरले जाङ्मुपोर्टको भन्सार यार्ड प्रवेश गर्नुपूर्व हेल्थ सर्टिफिकेट देखाउनुपर्नेछ । ‘चिनियाँ पक्षले न्यालमबाट ल्याएका सामान मितेरी पुलपारि भन्सार यार्डमा अनलोड गर्ने र नेपाली कन्टेनरमा लोड गरेर लार्चास्थित सुक्खा बन्दरगाहमा ल्याएर जाँचपास गर्ने निर्णय भएको छ,’ बैठकमा अध्यक्षता गरेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भने ।

दुवै देशका नागरिकले मितेरी पुल पार गर्दा हेल्थ सर्टिफिकेट देखाउनुपर्नेछ । सीमामा नेपाल–चीन दुवैपट्टि हेल्थ डेस्क स्थापना गरिएका छन् । चीनका तर्फबाट स्वशासित क्षेत्र तिब्बतको न्यालम जिल्लाका सिडियो मिस्टर फेङ लि वीलगायत सातजना सहभागी थिए । नेपालतर्फ ढकालसहित सुरक्षा निकाय, अध्यागमन, भन्सार, जिल्ला जनस्वास्थ्य र क्वारेन्टाइनका प्रमुख गरी नौ सदस्य सहभागी थिए ।

कोरोना भाइरसको महामारीसँग जुध्न सिन्धुपाल्चोक जिल्लालाई स्वास्थ्य उपकरणसहित विभिन्न सहयोग गर्ने न्यालम जिल्लाका सिडिओ फेङले वचन दिएको ढकालले बताए । सीमामा हुने नराम्रा गतिविधिलाई दुवै पक्षले मिलेर नियन्त्रण गर्ने सहमति पनि बैठकले गरेको छ । सामग्री ढुवानीसँग सम्बन्धित व्यक्तिबाहेकलाई तत्काल जाङ्मुपोर्ट प्रवेश गर्न नदिने चिनियाँ पक्षको मागलाई नेपाली पक्षले स्वीकार गरेको छ ।
 
बैठकमा नबोलाएपछि रिसाए जनप्रतिनिधि
खासासँग सिमाना जोडिएको भोटेकोसीका जनप्रतिनिधिलाई बैठकमा नडाकेपछि गाउँपालिका अध्यक्ष राजकुमार पौडेल र वडा नं. २ का अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले आक्रोश पोखेका छन् । ‘नाकाबाट अत्यावश्यक सामग्री ल्याउने निर्णय स्वागतयोग्य छ । तर, जनप्रतिनिधिलाई वास्ता गरिएन,’ पौडेलले भने ।

नेपाल–चीनका अधिकारीको यो नियमित सीमा बैठक हो । स्थानीय तह गठनपछि पनि जनप्रतिनिधिलाई सीमा बैठकमा सहभागी नगराउनु राम्रो नभएको उनको भनाइ छ ।