मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ बैशाख २ मंगलबार १४:४६:००
Read Time : < 1 मिनेट
समाचार

कञ्चनपुर कारागारका कैदीबन्दीले छाक कटाएर लकडाउनका वेला समस्यामा परेका मजदुरलाई गरे खाद्यान्न सहयोग

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ बैशाख २ मंगलबार १४:४६:००

विश्वमा कोरोना भाइरसको संक्रमणपछि त्यसबाट सिर्जित समस्यामा मानिसले विभिन्न तरिकाले सहयोगका हात अघि बढाइरहेका छन् ।

यस्तैमा कञ्चनपुर कारागारका कैदीबन्दीले उदाहरण पेस गरेका छन् । कैदीबन्दीले सरकारबाट पाउने रासनमध्ये केही जोगाएर गरिब, विपन्न एवं दैनिक ज्यालादारी गरी गुजारा चलाउने मजदुर वर्गका लागि खाद्यान्न सहयोग गरेका छन् । 

उनीहरूले लकडाउनका समयमा खाद्यान्न समस्या भएका विपन्न समुदायलाई वितरणका लागि खाद्यान्न सहयोग गरेका हुन् । मंगलबार कैदीबन्दीले प्रमुख जिल्ला अधिकारी नूरहरिप्रसाद खतिवडालाई खाद्यान्न हस्तान्तरण गरेका छन् । 

कञ्चनपुर कारागारमा बसिरहेका तीन सय १८ जना कैदीबन्दीले आफ्नो एक छाकको खाना कटाएर कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनबाट मारमा परेका परिवारलाई राहत दिन आठ क्विन्टल चामल र एक बोरा नुन सहयोग गरेका हुन् ।

जिल्ला कारागार कार्यालय महेन्द्रनगरका कैदीबन्दी नाइके टेकराज जोशीले महामारीको समयमा मानवीय हिसाबले मुलुकलाई संकटमा परेका वेला आफूहरूले एक छाक खाना नखाएर खाद्यान्न सहयोग गरेको बताए ।

उनीहरूले कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी भएकाे र काेराेना संक्रमणका बेलामा बस्न असहज भएकाे भन्दै प्रमुख जिल्ला अधिकारी खतिवडामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । 

जिल्ला कारागार कार्यालय कञ्चनपुरका प्रमुख पदमराज भट्टले कैदीबन्दी कारागारकाे क्षमताभन्दा बढी हुँदा दैनिक व्यवस्थापनमा समस्या भएको बताएका छन् ।