विश्वभरका स्वास्थ्यकर्मीहरू अहिले कोभिड– १९ विरुद्धको अग्रमोर्चामा छन् । भोक, प्यास नभनी अपर्याप्त स्रोत र साधनबीच उनीहरू २४सै घन्टा आफ्नो ड्युटीमा खटिएका छन् । कोभिड– १९ नियन्त्रण गर्न वैज्ञानिक, ल्याबका प्राविधिक, नर्स, चिकित्सकलगायतका स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीले आफ्नो जीवनको परवाह नै नगरी खटिएका छन् । प्रस्तुत छन्, कोरोनाविरुद्धको युद्धमा अग्रमोर्चामा उभिएका भारतका केही योद्धा :
घरमा नगएको हप्तौँ भयो :डा. मोहमद युनुस सेरिफ, कोभिड– १९ टिम, राजीव गान्धी इन्स्टिच्युट अफ चेस्ट डिजिज, बेंगालरु
लकडाउनका कारण अधिकांश मानिस घरभित्रै सीमित छन् । तर, ३१ वर्षीय डा. मोहमद सेरिफले आफ्ना दुई सन्तानलाई दुई सातादेखि देख्न पाएका छैनन् । जनवरीदेखि उनीहरूसँग एकपटक पनि रमाइलो गर्न पाएका छैनन् । डा. सेरिफ घरमा गए पनि टाढैबाट फर्किनुपर्छ । जनवरी २० मा कर्नाटकको केआइए अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोनाका शंकास्पद व्यक्ति उत्रिएपछि डा. सेरिफलगायतको समूह रक्षा कवच र कोरोना परीक्षण गर्ने किटसहित संक्रमण नियन्त्रणका लागि तयार भएका थिए ।
पहिलोपटक मार्च ८ मा भारतमा कोरोना देखिएको थियो । कोरोना देखिएपछि भारतका अधिकांश कार्यालय घरबाटै सञ्चालित छन्, तर डा. सेरिफलाई घरमा पर्याप्त समय बसेको याद छैन । उनी र उनका सहकर्मीले एक दिन पनि बिदा पाएका छैनन् । कोरोनाविरुद्धको युद्ध कहिले अन्त्य हुने हो र उनीहरू घर फर्किन पाउने हुन् भन्नेबारे उनी अनिश्चित छन् । उनले परिबारबाट पनि सहयोग पाएका छन् । ‘मेरी पत्नी प्याथोलोजिस्ट हुन्, उनले मलाई हौसला दिन्छिन् ।’ उनी भन्छन् । यो संकटका समयमा उनका परिवार पनि दुबईमा छन् । म ड्युटीमा हुँदा मेरो पूरा ध्यान बिरामीलाई निको पार्नमा हुन्छ ।
संक्रमितबाट बच्नु मुख्य चुनौती : रेस्मा भामदेवन, स्टाफ नर्स, कोभिड– १९ टिम केबिजिजी हस्पिटल, केरला
आइसोलेसन वार्डमा एउटा झोला र गह्रौँ मन लिएर जानुको पीडा सायद रेस्माबाहेक अरूले कमै महसुस गर्छन् । कोरोना परीक्षणपछि त्यसको नतिजा सार्वजनिक नहुन्जेल शंकास्पद संक्रमितलाई एउटा मात्र भ्mयाल भएको कोठामा आइसोलेसनमा राखिन्छ । रेस्माको अहिलेको मुख्य चुनौती भनेको शंकास्पद बिरामीलाई क्वारेन्टाइनको नियम पालना गर्न लगाउनु हो । साउदीबाट फर्किएकी एक कोरोना संक्रमित ६८ वर्षीया महिला क्वारेन्टाइनमा बस्न नमानेको घटनाले रेस्माको दिमाग अहिले पनि घोचिरहन्छ । रेस्मा आफैँ आफँैलाई सोध्छिन्, ‘त्यस्ती वृद्ध भएर पनि किन अबुझ भएकी होलिन् ?’
संक्रमितबाट आफूलाई जोगाउन अर्को ठूलो चुनौती भएको उनको भनाइ छ । ‘ती मास्क, ग्लोब्स, घुँडासम्म आउने लुगा एक घन्टाभन्दा बढी हामीले लगाउन सक्दैनौँ । सुरक्षा कवचले मलाई बचाइरहेको छ । तर, यसलाई लामो समय लगाइरहन त्यति सहज छैन । हामीले पानी पिउन पाउदैनौँ, न त रेस्टरुममा नै जान मिल्छ । दिउँसोको सिफट् नसकिने वेलासम्म खान पाइँदैन । निकै सावधानी अपनाएर सुरक्षा कवच झिक्नुपर्छ ।’
संक्रमणबाट जोगिन उनले बारम्बार स्यानिटाइजर दल्छिन्, तर उनी ढुक्क हुन सक्दिनन् । जति वेला पनि उनी संक्रमण हुन सक्छिन् । किनकि, उनका कतिपय साथी बिरामीको उपचारकै क्रममा संक्रमित बनेका छन् । ३६ वर्षीया यी नर्सले आफ्ना नानीबाबुलाई भेट्न नपाउनुको पीडा झनै गहिरो छ । ‘मेरो पहिलो कर्तव्य बिरामीको उपचार गर्नुपर्ने भएकाले उनीहरूलाई भेट्न नपाउँदा अपराधबोध गर्दिनँ ।’ उनी भन्छिन्, ‘निको भएर घर फर्किएका बिरामीले घरबाट फोन गर्दा उनलाई निकै खुसी लाग्छ ।’
एउटा परिवारले १ हजार संक्रमित बनाएछन् : डा. रेश्मी, कोभिड– १९ निगरानी समूहकी इन्चार्ज, केरला
फेब्रुअरीको अन्त्यमा इटालीबाट आएको एक परिवार केरलाको सवारीमाला मन्दिरमा प्रवेश गरेर धेरैलाई संक्रमित गरेको विवरण सार्वजनिक भएको थियो । उनीहरूको विमानस्थलमा ज्वरो परीक्षणसमेत भएको थिएन । डा. रेश्मी पान्थाननामथिट्टा जिल्लाको कोभिड– १९ निगरानी समूहको इन्जार्च हुन् । उनी नेतृत्वको समूहले संक्रमित मानिसको सम्पर्कमा आएका मानिसहरूको पहिचान गर्छ । समूहले शंकास्पद व्यक्तिलाई २८ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नेलगायतका अन्य सुझाब दिन्छ । उनको समूहमा सरकारी तथा निजी अस्पतालका चिकित्सक, विज्ञ, आइटी विज्ञलगायतका व्यक्ति छन् ।
डिसेम्बरको अन्त्यमा चीनमा कोरोना फैलिएसँगै सो समूहले केरलामा निगरानी बढाएको थियो । ‘मार्च ८ मा इटालीबाट फर्किएको परिवारमा पहिलोपटक कोरोना पोजेटिभ देखिएको थियो । उनीहरू जिल्लाभित्र र बाहिर गरी १७ स्थानको भ्रमण गरेका रहेछन् । ‘उनीहरूलाई तत्कालै आइसोलेसन वार्डमा राखेर काउन्सेलिङ दियौँ । उनीहरूले प्रत्यक्ष भेटेका मानिसहरूको खोजी ग¥यौँ । एउटा परिवारले एक हजारसँग सम्पर्क गरेको रहेछ ।’ उनी भन्छिन् । उनीहरूको सम्पर्कमा रहेका मानिसलाई सेल्फ क्वारेन्टाइनमा राख्न त्यति सहज थिएन । ‘हामी २४ सै घन्टा खटियौँ । मैले ९ महिने शिशुलाई हप्तौँसम्म भेटिनँ । सन्तानसँगको भेटभन्दा कोरोना नियन्त्रण पहिलो प्राथमिकता थियो ।
युद्धभूमिका सिपाही हौँ : डा. पवन कुमार, कोभिड– १९ टिम प्रमुख, डा. आरएमएल हस्पिटल, दिल्ली
श्वासप्रश्वासविज्ञ डा. पवन कुमारले दिल्लीको डा. आरएमएल हस्पिटलको नोडल सेन्टर फर कोरोना भाइरसको नेतृत्व गर्छन् । ‘कोरोनाको सबैभन्दा जटिल पक्ष भनेको अहिलेसम्म उपचार नहुनु हो ।’ उनी भन्छन् । उनी कोरोनाविरुद्धको अग्रमोर्चामा उभिएका स्वास्थ्यकर्मीलाई युद्धमा खटिएका सिपाहीसँग तुलना गर्छन् । ‘युद्धभूमिबाट सिपाही पछि हट्न नसकेजस्तै महामारीको समयमा चिकित्सक पनि पछि हट्न मिल्दैन ।’ उनी भन्छन् ।
डा. पवनका अनुसार आइसोलेसनमा मानिसहरू बस्न डराउनु स्वाभाविक हो । देश स्वास्थ्य संकटबाट गुज्रिरहेका वेला क्वारेन्टाइनमा दिइने सुविधा यथोचित नहुनु सामान्य विषय भएको उनको भनाइ छ । ‘यस्तो अवस्थामा मानिसहरूलाई आफ्नो व्यक्तिगत स्वार्थबाट माथि उठ्न अनुरोध गर्छु ।’ उनी भन्छन् । उनको पनि परिवारसँग भेट नभएको हप्तौँ भएको छ । उनी दिनरात बिरामीको उपचारमा खटिएका छन् ।