१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ३० आइतबार १८:२४:००
Read Time : > 1 मिनेट
समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहले भने– कोरोना भाइरसको संकट टार्न एकता अनिवार्य, निषेध गरिए इतिहासकै महाभूल   

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ३० आइतबार १८:२४:००

कोरोना भाइरसबाट सिर्जित विद्यमान संकटबाट मुक्ति पाउन र भविष्यमा उत्पन्न हुने अस्वाभाविक चुनौतीहरूको सामना गर्न हामीबीचको एकता अपरिहार्य हुन पुगेको र यस्तो वेला कसैले कसैलाई निषेध गरेर जान नहुने पूर्वराजा ज्ञानेन्द्र शाहले बताएका छन् । 

अर्कोलाई निषेध गर्ने सोचको आयु समाप्त भएको बताउँदै पूर्वराजा शाहले राष्ट्रिय भाव र एकता प्रबलीकरणको मार्ग स्पष्ट गर्न अब पनि सकिएन भने इतिहासमा अर्को एउटा महाभूल हुने दाबी गरेका छन् ।    

‘मानव स्वास्थ्यलाई एकै शताब्दीमा सबैभन्दा ठूलो खतरा सामना गर्नुपरेको वेलामा नेपालीहरूले शान्त र सामूहिक रूपले राष्ट्रव्यापी रक्षाको पर्खाल कार्यान्वयन गरेका छन्,’ नयाँ वर्षको पूर्वसन्ध्यामा एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘तर, विद्यमान संकटबाट मुक्ति पाउन र भविष्यमा उत्पन्न हुने अस्वाभाविक चुनौतीहरूको सामना गर्न हामीबीचको एकता अपरिहार्य हुन पुगेको छ ।’

‘कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यथार्थलाई आत्मस्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रबलीकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौँ भने इतिहासमा अर्को एउटा महाभूल हुने हामीले ठानेका छौँ,’ उनले भनेका छन् । 

मानव सभ्यताको अनपेक्षित चुनौतीहरूको सामना गरिरहनुपरेको कष्टकर परिस्थितिका माझ, नयाँ वर्ष २०७७ को आगमन भएको बताउँदै उनले कोरोना भाइरसको विश्वव्यापी महामारीबाट देशका विभिन्न भूभागमा र विश्वका विभिन्न देशमा रहे–बसेका सबै नेपाली आक्रान्त, सन्त्रस्त र समस्याग्रस्त अवस्थमा रहेको उल्लेख गरेका छन् । 

‘यस्तो स्थितिमा देश र आफूलाई सुरक्षित राख्न र बचाउ गर्दै हामी सबैले सजगता अपनाउनुपर्दछ,’ उनी भन्छन्, ‘नेपाली जनता खुसी र सुखी रहून् एवम् देशको शिर सधैँ सगरमाथाझैँ उच्च रहोस् भन्ने नै हाम्रो अटल चाहना थियो, छ र रहनेछ ।’ 

आफूलाई गौण बनाएर देशको सर्वोच्चताको रक्षार्थ राष्ट्र र नेपाली जनताप्रति पर्न सक्ने विभिन्न समयका खतराहरू टार्न प्रयास गरेको उल्लेख गर्दै उनले मानव स्वास्थ्यलाई एकै शताब्दीमा सबैभन्दा ठूलो खतरा सामना गर्नुपरेको वेलामा नेपालीहरूले शान्त र सामूहिक रूपले राष्ट्रव्यापी रक्षाको पर्खाल कार्यान्वयन गरेको पनि बताएका छन् । 

कोरोना भाइरसको वर्तमान संक्रमणले हाम्रा पुर्खाले अनादिकालदेखि अवलम्बन गर्दै आएको वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवनपद्धति सर्वश्रेष्ठ र वैज्ञानिक भएको महसुस अहिले विश्व जगत्ले स्वीकार गरेका पनि पूर्वराजा शाहले उल्लेख गरेका छन् । 

‘हाम्रा मौलिक सनातनिक सभ्यताको पुनर्जागरण वर्तमानको अनिवार्य चाहना र आवश्यकता बनिरहेको छ,’ उनको वक्तव्यमा उल्लेख छ, ‘यही जगमा उभिई हाम्रो समाजको व्यवस्था, अर्थ–व्यवस्था र शिक्षाको जगाधार बलियो तुल्याउन राष्ट्रिय प्रतिबद्धता हामीले लिनुपर्ने भइसकेको छ ।’ 

उनको कामना छ, ‘नयाँ वर्षले मानवीय वा प्राकृतिक विपत्तिको अन्त्य गर्दै नूतन इतिहास रच्ने सफलता सबै नेपालीलाई प्राप्त होस् ।’