१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७६ चैत ३० आइतबार १०:४८:००
Read Time : > 2 मिनेट
साहित्य

क्वारेन्टाइनमा  अनुवाद साहित्य

Read Time : > 2 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७६ चैत ३० आइतबार १०:४८:००

नेपाली भाषामा राम्रा विदेशी किताबहरू अनुवाद भएका छन् । लकडाउन र सेल्फ क्वारेन्टाइनको यो समयमा राम्रा अनुवाद पढेर पनि समय सदुपयोग गर्न सकिन्छ । नेपालीमा अनुवाद भएका र नेपालमा धेरै पढिएका केही किताब यी हुन् :

खबुज

पछिल्ला दुई दशकमा नेपालबाट खाडी मुलुक जानेहरू लाखौँ छन् । खाडी मुलुकको अत्यधिक गर्मी खपेर तिनै युवाले पठाएको रेमिट्यान्सबाट मुलुकको अर्थतन्त्र पनि चलिरहेको छ । खाडी मुलुक पुग्ने युवाको एक मात्र सपना हो, पैसा कमाउने । त्यस संघर्षमा उनीहरूले भोग्ने दुःख, यातना र पीडाको कथा कम दर्दनाक छैन । ‘खबुज’ त्यस्तै भारतीय युवाको संघर्षको कथा हो ।

नजिब नामक युवक दिल्ली हुँदै दलाललाई पैसा बुझाएर खाडी मुलुक पुग्छन् । आफूले गर्नुपर्ने काम र तलबबारे बेखबर उनी मरूभूमिबीचको भेडीगोठमा पुग्छन् । त्यहीँबाट दुःखको अनन्त शृंखला सुरु हुन्छ । मरुभूमिको तातो गर्मी, बाख्राहरू र मानिसको नाममा आफू मात्र । त्यस्तो परिवेशमा नजिबले आफूलाई जीवित राख्न गरेका प्रयासले पाठकको मन बेस्सरी बिझाउँछ । दुःखको विदीर्ण संसारबाट मुक्ति पाउन एक दिन नजिब भेडीगोठबाट भाग्छन् । त्यसपछि उनले पाउने दुःखहरूको कथा हो, खबुज । मलायलम भाषी उपन्यासकार बेन्यामिनले लेखेको यो उपन्यास पढ्दै जाँदा मानवीय संवेदनाको अनन्त गहिराइ पाठकले महसुस गर्छन्, जसलाई दिनेश काफ्लेले नेपालीमा अनुवाद गरेका छन् ।

प्रथम गुरु

जुन गाउँमा शिक्षाको महत्व थाहा छैन । गाउँले परापूर्वकालदेखि गरिआएको खेती–किसानीमा रमाएका छन् । र, सन्तानलाई पनि त्यसमै लगाउँछन् । शिक्षा आफ्ना लागि होइन, हाकिमहरूका लागि भएको अर्थ लगाउँछन् । शताब्दीअघिको रुसी ग्रामीण समाजको यही चेतना समेटिएको छ, प्रथम गुरुमा । किर्गिस्तानी लेखक चिनगिज आतइमातोभको यस उपन्यासलाई नेपालीमा अनुवाद गरेका छन्, लेखक खगेन्द्र संग्रौलाले । दूरदराजको गाउँमा पुगेर शिक्षाको जागरण ल्याउन डुइसेन नामक युवकले गरेको संघर्ष कथा छ, यस उपन्यासमा ।

खाडी मुलुकको अत्यधिक गर्मी खपेर पैसा कमाउने सपना पूरा गर्न लागिपरेका युवापुस्ताको संघर्ष कथा थाहा पाउन भारतीय उपन्यासकार बेन्यामिनको ‘खबुज’को नेपाली अनुवाद गरेका छन्, दिनेश काफ्लेले ।

आमा र म्याक्सिम गोर्कीका संस्मरणहरू

‘आमा’ शब्दमाथि कति कथा, कविता, गीत लेखिएका होलान्, यकिन छैन । अंग्रेजी भाषामा ‘मदर’लाई सबैभन्दा सुन्दर शब्दको रूपमा लिइन्छ । म्याक्सिम गोर्कीले लेखेको यो उपन्यास मजदुरहरूको संघर्षशील जीवनको जीवित कथा हो । सन् १९०५ को असफल रुसी क्रान्तिपछि भित्रभित्रै चलेको आन्दोलनको कथा भन्ने यो उपन्यासले आमाको मातृत्व, स्नेह र प्रेमलाई झंकृत गरिदिन्छ ।

यो उपन्यासको नेपाली अनुवाद राजेन्द्र मास्केले गरेका थिए । अरू पनि थुप्रै अनुवाद बजारमा भेटिन्छन् । यसका साथै म्याक्सिम गोर्कीका आत्म संस्मरणात्मक उपन्यासहरू ‘मेरो बाल्यकाल’, ‘मान्छेहरूको माझमा’ र ‘मेरो विश्वविद्यालय’ पनि संघर्षशील जीवनका दस्ताबेज हुन् । आशाका किरणहरू पछ्याइरहन यी उपन्यासले गतिलो वैशाखीको काम गर्छन् । यी आत्मसंस्मरणका अनुवादक भने कृष्णप्रसाद श्रेष्ठ हुन् ।

आन्तोन चेखबका कथाहरू

मानिसको अन्तःस्करणसम्म पुगेर उसको ढाकिएको अनुहार चिहाउन सफल कथाकार हुन्, आन्तोन चेखब । यी रुसी कथाकारका कथाले मानिसले विभिन्न आवरणले ढाकिरहेको वास्तविक प्रवृत्ति उजिल्याइदिन्छन् । मानिस कति हदसम्म अभिनय गरिरहन्छन् भन्ने उनका कथाले बताउँछन् ।

यो कथासंग्रहमा पनि त्यस्तै कथाहरू समेटिएका छन्, जसले समाजका विभिन्न पक्ष र मानवीय प्रवृत्तिहरूलाई उजागर गरिदिन्छन् । मानवीय चरित्र, स्वभाव र प्रवृत्तिलाई मिहिन ढंगले तर कठोर भएर पर्दाफास गर्नु चेखबको विशेषता नै हो । ‘वार्ड नं. १६’, ‘पुतली’, ‘खोलभित्रको मान्छे’, ‘छेपारो’जस्ता उनका प्रसिद्ध कथा समेटिएको पुस्तकको नेपाली अनुवाद राजेन्द्र मास्केले गरेका हुन् ।

युवाहरूको गीत

चिनियाँ उपन्यासकार ‘याङ मो’को यो उपन्यासले आजको होइन, वर्तमान चीन बन्दै गरेको समयको कथा बताउँछ । सन् १९३० र ४० को दशकमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ नागरिकले जापानी हस्तक्षेप र स्थानीय निरंकुश शासकविरुद्ध संघर्ष गरेका थिए । त्यो संघर्षलाई एक सामान्य युवतीले कसरी लिन्छिन् र सहभागी हुन्छिन् भन्ने उपन्यासमा अभिव्यक्त गरिएको छ । अहिलेको चीन कस्तो अवस्थाबाट गुज्रेर आएको थियो भन्ने बुझ्न पनि यो उपन्यासको अध्ययन आवश्यक छ । खगेन्द्र संग्रौलाले अनुवाद गरेको यो उपन्यासको भाषा शिल्प पनि उस्तै आकर्षक छ ।