मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फाइल फाेटाे
अजित अधिकारी काठमाडौं
२०७६ चैत ३० आइतबार ०८:१८:००
Read Time : > 1 मिनेट
अर्थ

लकडाउनमा दिनहुँ कालोबजारी समातिँदै

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७६ चैत ३० आइतबार ०८:१८:००

थर्मल गन कालोबजारी गरेको अभियोगमा व्यावसायिक घराना शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल पक्राउ परेको घटनाले व्यावसायिक क्षेत्र त्रसित छ । लकडाउनको समयमा कालोबजारी आरोपमा ठूला व्यवसायी प्रहरीको हिरासत हुँदा साना व्यवसायीहरू पनि निरन्तर कारबाहीमा परिरहेका छन् ।

साना व्यवसायीलाई अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक जरिवाना गर्दै आएको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उपभोक्तको गुनासो र बजार अनुगमन गर्ने टोलीले भेटेका कैफियतका आधारमा व्यवसायीलाई उपभोक्ता संरक्षण ऐन, ०७५ ले तोकेको सजाय गर्दै आएको बताउँछन् । ‘बढी मूल्य असुल्ने, गुणस्तरहीन सामान बिक्री गर्ने, लेबलविनाका सामान बजार पठाउनेलगायतका कैफियत भेटिएका छन् र हामीले आर्थिक जरिवाना गर्दै आएका छौँ,’ उनले भने ।

लकडाउनका वेला स्वास्थ्य र सुरक्षा क्षेत्रका कर्मचारीबाहेक अरू घरमै बसेका छन्, तर विभागका कर्मचारी पालो मिलाएर दिनहुँ अनुगमनमा निस्किएको महानिर्देशक सुवेदीले बताए । दैनिक अनुगमनमा निस्किएको टोलीले कुनै न कुनै कैफियतका आधारमा कारबाही पनि गर्दै आएको छ । विभागको अनुगमन शाखाका अधिकृत दीपक पोखरेलले अहिले खाद्यान्न, माछामासुलगायत दैनिक उपभोग्य वस्तुको अनुगमनलाई तीव्रता दिएको बताए ।


लकडाउनमा भएका कारबाही

 नागार्जुन नगरपालिका–४ मा वितरण गरेको राहत सामग्रीमा खाने तेलको मिति गुज्रिएको अवस्थामा पाएपछि विभागले अनुगमन गरी आपूर्तिकर्ता बाफलस्थित न्यू बिके स्टोरलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । सो स्टोरबाट २ सय लिटर उपभोगहीन खानेतेल वितरण भएको भेटिएपछि प्रहरीको रोहबरमा नष्ट गरिएको थियो ।

 २८ चैतमा विभागको अनुगमन टोली सीतापाइलास्थित चितवन खाद्य सप्लायर्स पुगेको थियो । त्यहाँ खाद्यान्न लेबलविना राखेको र बिक्रीका लागि पठाउन लागेको र ग्याससमेत बढी मूल्यमा बिक्री गरेको भेटिएपछि विभागको अनुगमन टोलीले २ लाख रुपैयाँ जरिवाना तिराएको थियो ।

 नयाँ बानेश्वरस्थित प्रसिद्ध आइकालु मिट सेन्टरले खसीको मासु प्रतिकिलो १८ सय रुपैयाँमा बिक्री गरेको गुनासोका आधारमा विभागको अनुगमन टोली पुग्दा सोही मूल्यमा खरिद–बिक्री भइरहेको भेटिएको थियो । सो पसलले ८ सय रुपैयाँ प्रतिकिलो मासु किनेर बेचेको अनुगमन टोलीले फेला परेको थियो । त्यसपछि बढी नाफा राखेर मासु बेचेको दोष लगाई २ लाख रुपैयाँ जरिवाना तिराइयो ।

 २६ चैतमा बत्तीसपुतलीस्थित मुस्कान मासु पसलले कुखुराको मासु प्रतिकिलो ३ सय १० रुपैयाँमा बिक्री गरेको भेटिएको थियो । सो दिन कुखुराको मासु खरिद–बिक्री सेवा संघले प्रतिकिलो २ सय ७० रुपैयाँ मूल्य तोकेको थियो । तोकिएभन्दा बढी मूल्य लिएको पाएपछि सो पसललाई २ लाख रुपैयाँ जरिवाना तिराइएको थियो ।

 डल्लुस्थित ओम सरस्वती स्टोरले आधा परिमाण भरिएको ग्यास ८ सय रुपैयाँमा बिक्री गरेको भेटिएपछि विभागको अनुगमन टोलीले २० चैतमा २ लाख रुपैयाँ जरिवाना तिराएको थियो । आयल निगमले आधा परिमाण ग्यासको ६ सय ८७ रुपैयाँ मूल्य निर्धारण गरेको थियो ।

 सेलवेज क्यास एन्ड क्यारी महाराजगन्जले खरिद–बिक्री बिल देखाउन नसकेपछि विभागको २९ चैतको अनुगमन टोलीले २० हजार रुपैयाँ जरिवाना गरेको । यो डिपार्टमेन्ट स्टोरले बारम्बार खरिद–बिक्री बिल देखाउन नसक्दा आर्थिक जरिवाना तिर्दै आएको छ ।