मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत ३० आइतबार ०७:४७:००
Read Time : < 1 मिनेट
अर्थ

पूर्वी नाकाबाट आयात ठप्प

Read Time : < 1 मिनेट
२०७६ चैत ३० आइतबार ०७:४७:००

भारतको पश्चिम बंगाल सरकारले सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाएसँगै पूर्वी नाका काँकडभिट्टाबाट अत्यावश्यक सामग्री आयात ठप्प भएको छ । सरकारले भारतसँग जोडिएको काँकडभिट्टा, वीरगन्जको रक्सौल, भौरहवाको सुनौली र धनगढीको वनबासा नाकाबाट अत्यावश्यक सामग्री आयात हुने जनाए पनि बुधबारबाट काँकडभिट्टा नाका ठप्प भएको हो । 

सामान आयात ठप्प भएको लिखित जानकारी नआए पनि मौखिक जानकारी आइसकेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । कोरोना भइरस संक्रमण फैलिन नदिन लकडाउन गर्ने भारत सरकारको निर्णयलाई प्रभावकारी बनाउन सडकमा कुनै सवारी सञ्चालन गर्न नदिने भएपछि आयात ठप्प भएको हो ।

अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्ने अधिकार प्रान्तीय सरकारलाई नभए पनि पश्चिम बंगालले मालबाहक सवारी चल्न नदिएपछि भारतको पानीट्यांकीस्थित रानीगन्ज नाका सुनसान बनेको छ । नेपालसँगै भुटान र बंगलादेशमा पनि सामान आयात–निर्यात रोकिएको छ । कही दिनदेखि भारतको रानीगन्ज नाकामा थन्किएका १ सय १४ वटा सवारीसाधन मंगलबार साँझ नेपाल पठाएको थियो । बुधबार बिहानबाटै अत्यावश्यक सामान बोकेका सवारी नआएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख ध्रुव विश्वकर्माले जानकारी दिए । 

‘नाका ठप्प भएको विषयमा मौखिक जानकारी आएको छ । मैले नेपाल सरकार, नेपालस्थित भारतीय राजदूतावास, भारतस्थित नेपाली राजदूतावासलाई जानकारी गराएँ । भारतीय राजदूतावासलाई जानकारी नै रहेनछ,’ उनले भने, ‘उहाँहरूले नाका बन्द गर्न केन्द्र सरकारकै निर्णय चाहिने भन्नुभएको छ । केही पहल होला कि !’ 

दुवै देशमा लकडाउन भए पनि मंगलबारसम्म पेट्रोलियम पदार्थ, एलपी ग्यास, फलफूल, तरकारीलगायत अत्यावश्यक सामग्री निरन्तर आयात भइरहेको थियो । यस्तै अवस्था भए पूर्वी नेपालमा समस्या आइपर्ने भन्सार प्रमुख विश्वकर्माले जानकारी दिए ।