मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत २९ शनिबार १४:१२:००
Read Time : > 1 मिनेट
समाचार

निर्वाचन क्षेत्र विकासको रकम वडाको कोरोना कोषलाई दिन प्रदेश सांसदको माग 

Read Time : > 1 मिनेट
२०७६ चैत २९ शनिबार १४:१२:००

प्रदेश १ प्रदेश सभा सदस्य सूयर्माराज राईले निर्वाचन क्षेत्र पूर्वाधार विकास र सांसद विकास कोषको रकम वडाको कोरोना कोषमा पठाइदिन सरकारसँग आग्रह गरेका छन् । 

मोरङ निर्वाचन क्षेत्र ३ (क) बाट निर्वाचित राईले आफ्नो भागमा परेको निर्वाचन पूर्वाधार विकासबापत्को दुई करोड ५० लाख र सांसद विकासको  ५० लाख रकम प्रत्येक वडालाई घटीमा पाँच लाख रुपैयाँ कोरोना कोषमा रकमान्तर गरेर पठाइदिन प्रदेश सरकारसँग माग गरेका हुन् । 

सांसद राईको निर्वाचन क्षेत्रमा पथरीशनिश्चरे नगरपालिकाको सबै वडा, बेलवारी नगरपलिकाका दुईवटा वडा र कानेपोखरी गाउँपालिकाको ४ गरी जम्मा १४ वडा छन् । ती सबै वडालाई कम्तीमा पाँच लाखका दरले कोरोना संक्रमण रोकथामका लागि रकम पठाइदिनुपर्ने सांसद राईको माग छ । 

वडामा आएको पूर्वाधार विकास र सांसद कोषको रकमले कोरोना भाइरस संक्रमणको समयमा भोकभोकै परेका गरिब, दैनिक मजदुरी गरी खानेहरूलाई राहत दिन र रोकथाम र उपचारका लागि खर्च गर्न सहज हुने सांसद राईले बताएका छन् । राईले निर्णय गरेर सबै सांसदहरूको विकास कोषको रकम रकमान्तर गरेर कोरोना संक्रमण र उपचारमा खर्च गर्नु उचित हुने सुझाब पनि सरकारलाई दिएका छन् ।  

प्रदेश १ सरकारले प्रत्येक प्रदेश सांसदलाई निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषका लागि चालू वर्ष दुई करोड ५० लाख र सांसद विकास कोषका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ । केही सांसदले योजना छनाेट गराएर निर्माणको काम सुरु गराए पनि धेरै सांसदको निर्वाचन क्षेत्रमा अझै काम सुरु भएको छैन । 

कोरोना संक्रमणले गर्दा खर्च हुन नसक्ने रकम फ्रिज गराउनु र हतारमा गुणस्तरहीन काम गराउनुभन्दा महामारीको वेला मतदाताहरूको जिउज्यानको सुरक्षामा खर्चनु उत्तम हुने सांसद राईको तर्क छ । उनले भने, ‘अरूको हकमा सरकारले के गर्छ म जान्दिनँ, तर मैले अर्थमन्त्रीलाई मेरो भागको बजेट वार्डको कोरोना कोषमा रकमान्तर गरिदिन भनिसकेको छु ।’

उनले कोरोना प्रभावले गर्दा किसानले उत्पादन गरेका कुखुरा, दूध, तरकारी, अन्डा आदि कृषिजन्य उत्पादनको  बिक्री हुन नसकेकाले त्यसको उचित वातावरण बनाइदिन पनि आग्रह गरेका छन् ।   यसैगरी चैतेधानमा हाल्ने युरिया र डिएपीलगायत मलको प्रबन्ध मिलाइदिनसमेत उनले सरकारसँग अनुरोध गरेका छन् । 

१ नम्बर प्रदेश सभामा मुख्य प्रतिपक्षी दल कांग्रेसका सचेतकसमेत रहेका सांसद राईले कोरोना कुनै एक  जाति, धर्म, सम्प्रदाय, भूगोल, सिमाना, देश, वर्ग, विचार वा पार्टीप्रति लक्षित संक्रमण नभएकाले लडाइँको जिम्मेवारी पनि कुनै एक विचार, दल, भूगोल, जाति, धर्म, भूगोल, सम्प्रदाय, सिमान, देश मात्रैको नभएको बताएका छन् ।  

उनले निजी स्वार्थ र उद्देश्यलाई परित्याग गरी दलगत स्वार्थ र द्वन्द्वलाई टाढा राखेर संयमता र आपसी सद्भाव कायम गदै कोरोना भाइरसको संक्रमण रोकथामा सबै लागिपर्नुपर्नेमा जोड दिएका छन् । उनले राहत वितरण लक्षित वर्गका लागि पारदर्शी ढंगले पुऱ्याउन र घरमै सुरक्षित बसेर लकडाउनको पूर्ण पालना गर्न पनि सबैसँग अनुरोध गरेका छन् ।