मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
वीरेन्द्र ओली
२०७५ माघ १० बिहीबार ०६:२८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

उपत्यकासहित तराई र पहाडमा वर्षा, हिमाली क्षेत्रमा भारी हिमपात

Read Time : > 2 मिनेट
वीरेन्द्र ओली
२०७५ माघ १० बिहीबार ०६:२८:००

पश्चिमी वायुको प्रभावका कारण उपत्यकासहित तराई र पहाडी क्षेत्रमा बुधबार वर्षा भएको छ भने हिमाली क्षेत्रमा उच्च हिमपात भएको छ । काठमाडौंको चन्द्रागिरीमा समेत हिमपात भएको छ । सोमबारदेखि सक्रिय पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रमा आंशिक बदली भएको मौसमविद् मञ्जु वासीले बताइन् । ‘

सोमबारदेखि सक्रिय भएको पश्चिम वायुको प्रभाव बिहीबार बिहान निष्क्रिय हुन्छ ।’ उनले भनिन् ‘सोमबारको वायुको प्रभाव सकिन नपाउँदै बिहीबार बेलुकादेखि पुनः पश्चिमी वायुको प्रभाव बढ्ने देखिन्छ ।’ शनिबार बेलुकादेखि भने मौसम सफा हुन सक्ने वासीले बताइन् ।

जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार बुधबार सबैभन्दा धेरै वर्षा कास्कीको लुम्लेमा (१६ मिलिमिटर) भएको छ । यस्तै, काठमाडौंमा १४. ३ मिलिमिटर, सुर्खेतमा १३ मिलिमिटर, डढेल्धुरामा ८.६ मिलिमिटर वर्षा भएको छ ।

पैदलमार्ग र विमानस्थल बन्द
रामचन्द्र न्यौपाने/डोल्पा

दुई दिनदेखिको हिमपातले डोल्पाको जनजीवन प्रभावित भएको छ । हिमपातले पैदलमार्गसँगै विमानस्थल पनि बन्द भएको छ । मंगलबार बिहानैदेखि डोल्पामा हिउँ पर्न थालेको हो । लगातारको हिमपातले घरका छत र आँगन पनि भरिएका छन् । घरबाट बाहिर–भित्र गर्न पनि समस्या भएको छ । 

त्यस्तै, जुम्लाबाट डोल्पा जोड्ने पैदलमार्ग पनि अवरुद्ध भएका छन् । डोल्पा र जुम्लाको सीमा क्षेत्र मौरेलेकमा अत्यधिक हिउँ परेको छ । मौरेलेकबाट आवतजावत नै बन्द भएको स्थानीयले बताए । हिमपातले गर्दा पशुचौपायालाई चरिचरन गराउन समस्या भएको छ । गोठबाट निकाल्नै नसकिएको स्थानीयले बताए । 

हिउँले ढाकेपछि जुफाल विमानस्थल पनि बन्द भएको छ । मंगलबारदेखि हवाई सेवा बन्द भएको हो । विमानस्थलमा बाक्लो हिउँ परेकाले नेपालगन्ज र सुर्खेतबाट उडान हुन सकेको छैन । घाम लागेर हिउँ नपग्लिएसम्म उडान हुने सम्भावना नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण, जुफालका प्रमुख बालकुमार सिंहले बताए । विमानस्थल बन्द भएपछि यात्रु अलपत्र परेका छन् । यात्रुले यहाँका होटेल भरिएका छन् ।

 तीन फुटसम्म हिउँ
केशव भट्टराई/ताप्लेजुङ

ताप्लेजुङका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातसँगै पानी परेपछि जनजीवन कष्टकर बनेको छ । जिल्लाको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला हिममय बनेको छ । वडा नम्बर–६ को लेलेप क्षेत्रको घुन्सा  पनि हिउँले पुरिएको छ ।

जिल्लाको मिक्वाखोला गाउँपालिकाको पापुङ, साँबाको उच्च क्षेत्र, मैवाखोला–५को साम्तुङ क्षेत्रमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । त्यस्तै, पाथीभराको माथिल्लो फेदीमा तीन फुट हिउँ जमेको छ । पाथीभराको तल्लो फेदी काफ्लेपाटीलगायत क्षेत्रमा भारी हिमपात भएको काफ्लेपाटीका होटेल व्यवसायी ज्ञानप्रसाद पोखरेलले जानकारी दिए । हिमपातपछि विद्यालयमा पठन–पाठन प्रभावित भएको छ । 

 संखुवासभामा भारी हिमपात
नवीन गुरुङ/संखुवासभा

जिल्लाका विभिन्न स्थानमा भारी हिमपात भएको छ । सदरमुकाम खाँदबारी र आसपासका क्षेत्रमा समेत बुधबार बिहानैदेखि हल्का पानी पर्नुका साथै बाक्लो हुस्सु लागेको छ । जिल्लाको उच्च हिमाली भागको दक्षिणतर्फ गुफापोखरी, सुकेटार, चौकीमंगलबारे, टुटेदेउराली र मुडेमा हिउँ परेको गुफापोखरी आधारभूत विद्यालयकी प्रधानाध्यापक तथा स्थानीय हिमा खनालले बताइन् ।

‘पुस महिनामा नै दुईपटक हिउँ परेको थियो,’ उनले भनिन्, ‘माघ लागेपछि भने पहिलोपटक हिउँ परेको हो । धाराको पानी जमेर पाइपबाट झर्दैन । राखेको पानी जम्छ । घरबाट बाहिर निस्कनु नै मुस्किल छ ।’ गुफा, सुकेटार र चौकीमा अत्यधिक चिसो बढेपछि स्थानीय विद्यालय एक महिनाका लागि बन्द गरिएको उनले बताइन् । त्यस्तै, किमाथांका नाका, हटिया, चेपुवा र हुङहुङलगायतका ठाउँहरूमा हिउँ परेको हिमालय आधारभूत विद्यालयका शिक्षक फिन्जो भोटेले बताए ।

 यातायात र सञ्चार अवरुद्ध

दुई दिनदेखि लगातार परेको हिमपात र वर्षाले जिल्लाको यातायात र सञ्चार सेवा अवरुद्ध भएको छ । दार्चुलाको व्यास र अपी हिमाल गाउँपालिकाका अधिकांश क्षेत्रमा हिमपात भएको छ । सडक हिलाम्य भएपछि मार्मा, दुहुँ र नौगाड गाउँपालिकाको यातायात पूर्ण रूपमा बन्द भएको छ ।