Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७६ चैत २८ शुक्रबार १०:४६:००
Read Time : > 2 मिनेट
नयाँCity

बैंकरको लकडाउन : ‘वर्क फ्रम होम’

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७६ चैत २८ शुक्रबार १०:४६:००

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले घरबाटै अनलाइनमार्फत बैंकको बोर्ड बैठक गरे । शाखा प्रबन्धकहरूसँग पनि भिडियोबाटै बैठक गर्छन् । नबिल बैंकको काम गर्न माइक्रोफ्ट टिम्स र जुम प्रविधि प्रयोग भइरहेको छ । ‘अहिले बैंकको काममा प्रविधिको भरपूर उपयोग भइरहेको छ,’ उनी भन्छन् । नबिलका केही शाखा मात्र खुला छन्, अहिले । शाहले ग्राहकलाई पनि अनलाइन कारोबारमा प्रोत्साहित गरिरहेका छन् । नगद चाहिए एटिएमहरू खुलै छन् ।

सानिमा बैंकका सिइओ भुवन दाहाल लकडाउनमा झन् व्यस्त भएका छन् । नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका उनी नियमित अफिस गइरहेका छन् । बिहान ११ देखि साँझ ५ बजेसम्म अफिसमै हुन्छन् । लकडाउनमा धेरै बैंकिङ मुद्दा आइरहेका हुन्छन् । कतिले नेपाल राष्ट्र बैंकको सर्कुलर प्रस्ट भएन भन्दै कल गर्छन् । राष्ट्र बैंक र बैंकहरूसँग समन्वय गर्छन्, दाहालले । स्वास्थ्य मापदण्ड पूरा गरेर सानिमा बैंकका केही शाखा खुला छन् । ती शाखाका समस्या बुझ्ने दायित्व पनि दाहालकै हो । ‘अफिसका मिटिङहरू भिडियो, इमेल र फोनमार्फत गरिरहेका छौँ,’ उनी भन्छन्, ‘अत्यावश्यक परे मात्र कर्मचारीलाई अफिसमा बोलाउँछौँ ।’

लकडाउन घोषणा भएयता बैंकहरूबाट ठूलो परिमाणमा रकम झिकेका छन्, ग्राहकले । र, डिजिटल कारोबार पनि ह्वात्तै बढेको छ ।

ग्लोबल आइएमई बैंकका सिइओ परशुराम कुँवरलाई फोन सम्पर्क गर्दा उनी बैंकका कर्मचारीसँग भिडियो कन्फरेन्समा व्यस्त थिए । ‘भर्खर एउटा भिडियो कन्फरेन्स सकेर बैंकका विभागीय प्रमुखहरूसँग कुराकानी भइरहेको छ,’ उनले भने । सरकारले देशव्यापी लकडाउन घोषणा गरेयता उनले घरबाटै काम गरिरहेका छन् । अत्यावश्यक काम गर्दा अफिस पनि पुग्छन् । स्थानीय प्रशासनसँग समन्वय गरेर बैंकका केही शाखा खोलिएको छ । उनी आफूसमेत अफिस कम जान्छन्, ग्राहकलाई पनि सकेसम्म डिजिटल च्यानल प्रयोग गर्न आग्रह गरिरहेका छन् । भन्छन्, ‘घरमै हुँदा पनि दिनभर अफिसकै काम भइरहन्छ ।’

लकडाउन घोषणा भएयता बैंकहरूबाट ठूलो परिमाणमा रकम झिकेका छन्, ग्राहकले । र, डिजिटल कारोबार पनि ह्वात्तै बढेको छ । बैंकहरूले एटिएममा पर्याप्त रकम राखेका छन् । ‘लकडाउनलगत्तै बैंकहरू पनि बन्द भएको भए जनजीवनमा त्यसको ठूलो असर पर्ने थियो,’ नबिल बैंकका सिइओ शाह भन्छन् ।

लक्ष्मी बैंकका सिइओ अजयविक्रम शाह पनि घरबाटै काम गरिरहेका छन् । उक्त बैंकले केही शाखा खोल्ने गरेको छ । खुलेका शाखाका कर्मचारी अफिस जान्छन् । ‘बाँकी काम घरबाटै काम भइरहेको छ,’ शाह भन्छन् । 

‘चैत मसान्त आउँदै छ, त्यसको तयारी गर्नुछ, अब घरबाट मात्र काम गरेर नपुग्ला ।’

‘वर्क फ्रम होम’का लागि बैंकले स्ल्याक प्रविधि प्रयोग गर्छ । कुन शाखाबाट कति कारोबार भयो भन्ने सोही प्रविधिबाट जानकारी प्राप्त हुन्छ । भिडियोमार्फत गर्न नसकिने बैठक मात्र उनी अफिसमै गर्छन् । ‘चैत मसान्त आउँदै छ, त्यसको तयारी गर्नुछ, अब घरबाट मात्र काम गरेर नपुग्ला,’ उनी भन्छन् ।

एनएमबि बैंकका सिइओ सुनील केसी पनि घरबाटै काम गरिरहेका छन् । अरू सिइओजस्तै उनी पनि भर्चुअल बैठकमा अभ्यस्त भइसकेका छन् । विश्वभर कोरोना कहर सुरु हुनासाथ केसीको टिमले नेपालमा पनि भित्रियो भने के गर्ने भनेर अग्रिम योजना तयार पारिसकेको थियो । ‘त्यसैले अहिले त्यति असहज भएको छैन,’ उनी भन्छन् । दैनिक ३० देखि ३५ वटा शाखा खोलेका छन् । ‘कर्मचारीको स्वास्थ्य र सुरक्षा प्राथमिकतामा छ,’ केसी भन्छन् ।

‘लकडाउनलगत्तै बैंकहरू पनि बन्द भएको भए जनजीवनमा त्यसको ठूलो असर पर्ने थियो ।’

प्रभु बैंकका सिइओ अशोक शेरचन अत्याश्यक पर्दा मात्र अफिस जान्छन् । घरबाटै अनलाइन बैठकमार्फत गरेर कुन दिन कुन ठाउँको शाखा खोल्ने भनेर छलफल गर्छन् । ग्राहक र कर्मचारीका समस्या अनलाइन, फोन र इमेलमार्फत सल्टाउँछन् । बैंकको कामसँगै सामाजिक गतिविधिमा पनि लागेका छन्, उनी । गृह जिल्ला बाग्लुङका विभिन्न स्वास्थ्यचौकीमा १५ हजार मास्क र सय थान पिपिई पठाए । साँझ–बिहान घरवरिपरि घुम्छन् । कोरोनाबारेका समाचारमा अपडेट हुन्छन् अनि म्यानेजमेन्ट र मोटिभेसनल पुस्तकहरू पढ्छन् ।

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेली पनि घरबाटै काम गरिरहेकी छिन् । भन्छिन्, ‘प्रविधिको विकासले धेरै सहज बनाइदिएको छ ।’ मेगा बैंकका पनि केही शाखा खुल्ने गरेका छन् । प्रविधिको विकासले घरबाटै काम गर्ने वातावरण मिलाउन र शाखाहरूसँग समन्वय गर्न सजिलो भइरहेको उनी बताउँछिन् ।