Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार ०८:००:००
Read Time : > 1 मिनेट
सम्पादकीय

देशको छवि बिगार्ने कर्म

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार ०८:००:००

काठमाडाैं । एउटा विरोधाभास हामी सबै क्षेत्रमा भेट्छौँ । उद्देश्य एउटा, काम अर्कै । देखिने एउटा, वास्तविकता अर्कै । उत्तरदायित्व एउटा, कार्यव्यापार अर्कै । सार्वजनिक छवि एउटा, भित्री चरित्र अर्कै । यस्ता पक्ष सबै क्षेत्रमा व्याप्त छन् भन्दा फरक नपर्ने भयो । कहिले सिन्डिकेटलाई गाली गर्‍यो, कहिले उपचार प्रणालीलाई । कहिले शैक्षिक माफिया भन्यो, कहिले राजनीतिक नेतृत्वको चरित्रलाई दोष दियो । कहिले व्यापारी मुछिएका छन्, कहिले कर्मचारी । बेइमानी सबै क्षेत्रमा, बेइमान पनि सबै क्षेत्रमा । नेपाल पर्यटकीय सम्भावनाका दृष्टिले विश्वमा उत्कृष्ट गन्तव्यमा पर्ने देश हो । चाहे भूबनोटले होस्, चाहे धार्मिक सांस्कृतिक विविधिताले नै किन नहोस्, चाहे वन्यजन्तु होऊन्, चाहे मानव निर्मित सभ्यताका चिह्न नै किन नहोऊन्, हेर्नलायक अनेक पक्ष हामीसँग छन् ।

सीमित सुविधा र व्यवस्थापनबीच पनि पर्यटकहरू आउने गरेकै छन् । यसै वर्ष १० लाखभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिए । आन्तरिक पर्यटन संस्कृति मजैसँग विस्तारित हुँदो छ । भर्खर व्यवस्थापकीय ज्ञान हासिल गर्दै गरेका अनेक व्यक्ति र परिवार पर्यटन क्षेत्रमा लगानी गर्न कस्सिएका छन् । सानोतिनो बचत र बैंकको ऋणसमेत गरी पर्यटकीय होटेल खोलेका छन्, ट्राभल्स एन्ड टुर्स कम्पनी चलाएका छन्, रेस्टुरेन्ट तथा पर्यटकलक्षित विभिन्न पेसामा लगानी गरेका छन् ।

व्यवसायीले खानेकुरामा अखाद्य वस्तु मिसाएर पर्यटकलाई बिरामी पारी उद्धारको नाटक रच्ने गरेकोबारे विश्वका सार्वजनिक सञ्चारमाध्यमले चर्चा थालेपछि नेपालको छवि बिग्रेको छ ।

सबैको योगदानले नै पर्यटन व्यवसायले राष्ट्रलाई योगदान गरेको छ । कुल गार्हस्थ उत्पादन र रोजगारी सिर्जनामा पर्यटन क्षेत्रको योगदान वृद्धि हुँदै गएको छ । सन् ०२० लाई पर्यटन वर्ष बनाउने धुमधामको तयारी चलेको छ । अन्तर्राष्ट्रिय उडानका लागि थप दुई विमानस्थल धमाधम निर्माण भइरहेका छन् । तर, यही क्षेत्रमा पनि बेइमानहरूको कमी छैन भन्ने एउटा लज्जास्पद घटना सार्वजनिक भएको छ, जसले इमानदारहरूको शिर निहुर्‍याएको छ, देशलाई विश्वसामु बदनाम गरेको छ । वेलैमा नसच्याउँदा यसले देशको पर्यटन उद्योग र खासगरी उच्च हिमाली क्षेत्रमा पदयात्राका लागि आउने तथा हिमाल आरोहीको संख्यामा उल्लेख्य रूपमा नकारात्मक असर पार्ने देखिन्छ ।

हालै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको अनुसन्धानअनुसार पर्यटकलाई जानी–जानी बिरामी बनाई उसलाई जीवन जोखिममा परेको भन्दै अत्याएर उद्धार गर्ने नाममा बिमा कम्पनीलाई ठग्दै पैसा असुल गर्ने गरिएको लाजमर्दो धन्दाको भण्डाफोर गरेको छ । केही वर्षदेखि नै पर्यटक पथप्रदर्शक, होटेल व्यवसायी, हेलिकोप्टरको सेवा दिनेहरू र अस्पतालको मिलेमतोमा यस्तो ठगीधन्दा हुने गरेको छ । आपसमा नाफा बाँड्ने यी सिन्डिकेटधारी व्यवसायीले खानेकुरामा अखाद्यवस्तु मिसाएर पर्यटकलाई बिरामी पार्ने र उसलाई अत्याएर उद्धारको नाटकसमेत रच्ने गरेकोबारे विश्वभरका सार्वजनिक सञ्चार माध्यमले चर्चा गर्न थालेपछि नेपालको छवि बिग्रेको छ । पछिल्लो समय सरकारले मन्त्रालयको सक्रियतामा यसमाथि हस्तक्षेपको प्रयास गरिरहेको भए पनि एकपटक गएको गलत सन्देशले वर्षौं नेपालको पर्यटन व्यवसायलाई असर पार्न सक्छ । यस्तो कर्म जसले गरे पनि देशविरुद्धको अपराध हो । उनीहरूलाई त्यही अर्थमा कारबाही गरिनुपर्छ । पर्यटन व्यवसायलाई अपराधीहरूबाट बचाऊ ।