मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २७ बिहीबार ११:११:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

मध्यपूर्वका सरकार प्रमुखसँग प्रधानमन्त्री ओलीको टेलिफोन संवाद : नेपाली कामदारको सुरक्षा र स्वास्थ्यमा चासो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २७ बिहीबार ११:११:००

प्रधानमन्त्री केपी ओलीले मध्यपूर्वी देशमा रहेका नेपाली कामदारको सुरक्षा र स्वास्थ्यबारे चासो राखेका छन् । प्रधानमन्त्री ओलीले युएईका राजकुमार तथा ओमानका सुल्तान, बहराइन र कुवेतका समकक्षीहरूलाई टेलिफोन गरी कोरोना महामारीका कारण ती देशमा नेपालीलाई आइपर्ने समस्या समाधानका लागि आग्रह गरेका हुन् । उनका समकक्षीहरूले नेपालीलाई सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् । 

प्रधानमन्त्रीले बुधबार ओमानका सुल्तान सैयद फहाद बिन महमुद अल सइदसँग टेलिफोनमा नेपाली कामदारको सुरक्षा र स्वास्थ्यबारे चासो राखेका थिए । सुल्तान सइदले नेपालीलाई सुरक्षा र सहयोग निरन्तर रहने भन्दै नेपाली कामदारको योगदानको पनि प्रशंसा गरेका छन् । उनले आफूलाई नेपालीहरूको सुरक्षाबारे निश्चिन्त पारेको प्रधानमन्त्री ओलीले ट्विटरमा उल्लेख गरेका छन् । 

प्रधानमन्त्रीले मंगलबार कुवेतका प्रधानमन्त्री सेख सबाह खालिद अलहमाद अल सबाहसँग टेलिफोन गरेका थिए । यसअघि प्रधानमन्त्रीले युएईका राजकुमार सेख मोहम्मद विन जायेद अलना ह्यान तथा बहराइनका प्रधानमन्त्री खालिफा बिन सलमान अलखालिफासँग कुराकानी गरेका थिए ।

कुवेतका समकक्षी सबाहले नेपालीहरूलाई खुला दिलले सहयोग गर्ने आश्वासन प्रधानमन्त्री ओलीलाई दिएका छन् । प्रधानमन्त्री ओलीले टेलिफोन संवादबारे ट्विटरमा उल्लेख गरेका छन् भने कुवेतस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । नेपाली दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘कुवेतका प्रधानमन्त्रीले नेपालीहरूलाई कुनै पनि किसिमको अप्ठ्यारो पर्न नदिने र उनीहरूलाई खुला दिलले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।’ 

प्रधानमन्त्री ओलीले सोमबार युएईका राजकुमारसँग टेलिफोनवार्ता गरेका थिए । राजकुमार सेख मोहम्मदले युएईमा रहेका नेपालीहरूलाई आफ्नै देशको नागरिकसरह व्यवहार गर्ने आश्वासन दिएका थिए । बहराइनका प्रधानमन्त्रीले पनि नेपालीहरूको सुरक्षा र स्वास्थ्यका लागि सहयोग गर्ने आश्वासन प्रधानमन्त्री ओलीलाई दिएका छन् । 

परराष्ट्रमन्त्रीद्वारा अस्ट्रेलियाका नेपाली विद्यार्थीबारे चासो

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अस्ट्रेलियाका समकक्षी माराइज प्यानलाई टेलिफोन गरी नेपाली विद्यार्थीको समस्याबारे चासो व्यक्त गरेका छन् । कोरोना महामारीका कारण अस्ट्रेलियामा एक वर्षभन्दा कम समयदेखि रहेका विद्यार्थीहरूले रोजगारी गुमाएका कारण परेको मर्काप्रति सहयोग गर्न ज्ञवालीले आग्रह गरेका छन् ।

अस्ट्रेलियाका विदेशमन्त्री प्यानले नेपालको चासोलाई गम्भीरतापूर्वक लिएको र सकेको सहयोग गर्ने आश्वासन दिएका छन् । करिब आठ हजार नेपाली विद्यार्थीलाई पर्न सक्ने समस्याबारे नेपाली दूतावास र परराष्ट्र मन्त्रालयबीच छलफल भइरहेको छ । अस्ट्रेलियाले एक वर्षभन्दा कम समयदेखि त्यहाँ रहेका विदेशी विद्यार्थीको खानपानका लागि सहयोग गर्न नसक्ने जनाएको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार नेपालबाट अस्ट्रेलियन पर्यटकलाई नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत अस्ट्रेलिया जान सहयोग गरेकोमा अस्ट्रेलियाका विदेशमन्त्रीले नेपालको प्रशंसा गरेका छन् ।

तस्बिर : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाे फेसबुकबाट