मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी दोहा
२०७६ चैत २७ बिहीबार ०६:२६:००
Read Time : > 2 मिनेट
विश्व

कारोना महामारी : कतार विश्वकप संरचना निर्माणमा खटिएका नेपाली कामदार उच्च जोखिममा 

Read Time : > 2 मिनेट
एजेन्सी दोहा
२०७६ चैत २७ बिहीबार ०६:२६:००

कतारले दुई वर्षपछि आयोजनाको तयारी गरिरहेको फिफा विश्वकप फुटबलका लागि आवश्यक भौतिक संरचना निर्माणमा खटिएका नेपाली कामदार कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन् । जर्मनीको एक टेलिभिजन च्यानलले तयार पारेको रिपोर्टमा नेपालीसहित बंगलादेश र अफ्रिकाका विभिन्न देशबाट आएका कामदारलाई निकै जोखिमपूर्ण अवस्थामा राखिएको दाबी गरिएको छ ।

विश्वकप संरचना निर्माणमा कति नेपाली कामदार संलग्न छन् भन्ने यकिन तथ्यांक भने दिइएको छैन । जर्मनीको एआरडी च्यानलले तयार पारेको रिपोर्टमा विश्वकप संरचना निर्माणका लागि खटिएका कामदारलाई राजधानी दोहाभन्दा बाहिर रहेको क्वारेन्टाइन सेन्टरमा राखिएको छ । कोरोना भाइरस संक्रमित कमदारलाई समेत सोही क्वारेन्टाइनमा राखिएको छ । 
रिपोर्टमा भनिएको छ, ‘भाइरस रोक्ने प्रयासस्वरूप त्यहाँ निकै कडाइ गरिएको छ ।

कतार भन्छ- सबै कामदारलाई कोरोना भाइरसबाट सुरक्षित राख्न आवश्यक उपाय अपनाइएको छ।

त्यसमध्ये क्वारेन्टाइनमा राखिएका कामदारका लागि खानेकुराको समेत अभाव छ ।’ मोबाइलबाट लिइएको फुटेजमा वरिपरि र निकै टाढासम्म पसल र सुपरमार्केट बन्द देखिएका छन् । सरकारी अधिकारीले उपलब्ध गराएका राहत सामग्री लिन कामदारहरू दौडादौड गरिरहेको फुटेजमा देखिन्छ । सो रिपोर्ट तयार पार्न नेपाली कामदारसँग पनि कुरा गरिएको दाबी च्यानलले गरेको छ ।

रिपोर्ट प्रसारण भएपछि कतारले भने कामदारहरूलाई सुरक्षित राख्न सबै प्रयास गरिएको दाबी गरेको छ । ‘खानेकुरा र आवश्यक सामानले भरिएका एक सय ट्रक प्रत्येक दिन विश्वकपको आवश्यक संरचना निर्माणका लागि खटिएका कामदार राखिएको क्षेत्रमा पुग्ने गरेको छ,’ कतारले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘हामीले कामदारलाई खानेकुरा, पानी, मास्क, पन्जा र ह्यान्ड स्यानिटाइजर दिँदै आएका छौँ ।’

रिपोर्ट प्रसारण भएपछि कतारले विज्ञप्ति नै जारी गरी सबै कामदारका लागि निःशुल्क स्वास्थ्य चेकजाँचको व्यवस्था गरिएको जनाएको छ । यस्तै, कोरोना भाइरस संक्रमित कुनै पनि कामदारको निःशुल्क उपचार र बिरामी भएको अवधिका लागि समेत पूरै तलब दिने व्यवस्था गरिएको कतारको भनाइ छ । यस्तै, सबै कामदारलाई आवश्यकताअनुसार पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट दिइएको र उनीहरू बस्ने स्थानलाई समेत सबै किसिमले सुरक्षित राख्ने प्रयास गरिएको कतारले जनाएको छ ।

कोरोना भाइरसबाट कतारमा झन्डै १८ सयको हारामारीमा संक्रमित भेटिएको जनाइएको छ । जसमध्ये अहिलेसम्म चारजनाको मृत्यु भइसकेको छ भने एक सय ३० जना निको भएर घर फर्किएका छन् । विश्वभर महामारीका रूपमा कोरोना भाइरस फैलिइरहँदा कतारले भने सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलका लागि आवश्यक भौतिक संरचना निर्माणको कार्य जारी राखेको छ ।

सो कार्यमा नेपालबाट पनि कामदार गएका छन् । कतारमा वैदेशिक रोजगारीका लागि जानेमध्ये एसियाबाट नेपाल र बंगलादेशकै धेरै छन् । टेलिभिजन रिेपोर्टमा कामदारहरूले आफूहरूलाई सार्वजनिक रूपमा नबोल्न भनिएको उल्लेख गरेका छन् । उनीहरूमध्ये केहीले बिरामी भएका कारण लामो समयदेखि काममा जान नसकेको र त्यो अवधिको तलब नपाउने चिन्ता व्यक्त गरेको रिपोर्टमा दाबी गरिएको छ । 

गत साता मात्रै मानवअधिकारसम्बन्धी आधा दर्जन अन्तर्राष्ट्रिय संघसंस्थाले कतारका प्रधानमन्त्री खालिद बिन खालिफा अल थानीलाई कामदारलाई कोरोना भाइरस महामारीबाट बचाउन आवश्यक कदम चाल्न अनुरोध गरेका थिए । एम्नेस्टी इन्टरनेसनल, फेयर-स्क्वायर, ह्युमन राइट्स वाच र माइग्रान्ट–राइट्स अर्गनाइजेसनले प्रधानमन्त्री थानीलाई भेटी कतारमा रहेका विदेशी कामदारलाई यो महामारीबाट बचाउन अनुरोध गरेका थिए । 

ती संघसंस्थाको अनुरोधको जवाफमा समेत कतारले कामदारका लागि मात्रै भनेर छुट्टै स्वास्थ्य केन्द्र निर्माण गरिएको जनाएको छ । त्यसमा तीन छुट्टाछुट्टै चेक प्वाइन्ट राखिएको पनि जनाएको छ । ‘जोसँग कामका लागि आवश्यक प्रवेशाज्ञा छैन, तिनीहरूका लागि पनि हामीले निःशुल्क उपचार गरिरहेका छौँ ।

उनीहरूको भिसा सकिए पनि घर नफर्काउने वा कुनै आर्थिक जरिवानासमेत नलगाउने व्यवस्था गरेका छौँ,’ कतारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्वारेन्टाइनमा रहेका वा उपचार गराइरहेका सबैले समयमै तलब पाउनेछन् ।’ कतारले सोसियल डिस्ट्यान्ससमेत कायम हुने गरी कामदारको आवासमा एउटा कोठामा चारजनासम्म मात्रै बस्न मिल्ने गरी संख्या कायम गरिएको जनाएको छ ।