मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सुदीप शिवाकोटी हेटौँडा
२०७६ चैत २६ बुधबार २०:०७:००
Read Time : > 1 मिनेट
समाचार

सडक निर्माणमा लकडाउन प्रभाव : कतै रोकियो, कतै सुचारु

Read Time : > 1 मिनेट
सुदीप शिवाकोटी हेटौँडा
२०७६ चैत २६ बुधबार २०:०७:००

कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनको प्रभाव विकास निर्माण क्षेत्रमा पनि परेको छ ।

लकडाउनपछि विकासका ठूला आयोजना मात्र होइन, साना योजनाका कामसँगै सडक निर्माण पनि प्रभावित भएका छन् । मकवानपुरमा निरन्तर भइरहेका सडक निर्माण कतै रोकिएको छ भने कतै एक साताअघिबाट सुचारु भएका छन् ।

पूर्वको भित्री मधेसको विकास र वैकल्पिक मार्गको स्थापना गर्न जिल्लाको पूर्वी क्षेत्रमा निरन्तर काम भइरहेको धरान–चतरा–हेटौँडा सडक आयोजनाको निर्माण कार्य रोकिएको छ । लकडाउन घोषणापछि आयोजनाअन्तर्गतको सिन्धुली–हेटौँडा सडकखण्डको काम रोकिएको हो ।

सिन्धुली बजारको शान्तिनगर चोकदेखि हेटौँडा उपमहानगर–६ चौघडासम्मको एक सय १५ किलोमिटर सडक निर्माण ११ चैतदेखि रोकिएको सडक आयोजना हेटौँडा कार्यालयका सूचना अधिकारी गागल भण्डारीले जानकारी दिए । लकडाउनपछि निर्माणमा खटिने मजदुर, आवश्यक सामग्री खरिद र सवारीसाधन आवतजावतमा समस्यासँगै स्वास्थ्य सुरक्षा सामग्रीको अभाव भएपछि काम रोकिएको उनले बताए ।

‘ट्रयाक निर्माण सकिएका स्थानहरूमा कालोपत्रेको काम भइरहेको थियो,’ उनले भने, ‘कोरोनाको प्रभाव बढेपछि स्थानीयले निर्माण रोक्न आग्रह गरे र सरकारले पनि लकडाउन घोषणा गरेपछि अहिले काम ठप्प छ ।’ एक सय १५ किलोमिटर ट्रयाक तयार भइसकेको उक्त सडकखण्डमा कालिका कन्स्ट्रक्सनले ७० किलाेमिटर कालोपत्रे गरिसकेको छ । ०७७ फागुन मसान्तसम्म समयसीमा तोकिए पनि अहिले रोकिएको काम अवधि बराबर समय थप गरिदिने कार्यालयको तयारी छ ।

६ अर्ब ३० करोड लागतमा निर्माण थालिएको सडकखण्ड मुआब्जा विवादका कारण यसअघि पनि केही समय काम रोकिएको थियो । धरान–चतरा–हेटौँडा सडक आयोजनाले सुनसरी जिल्लाको धारणदेखि मकवानपुरको चौघडासम्म तीन सय १८ किमी सडक निर्माण गर्ने जनाएको छ ।

भीमफेदी–कुलेखानी सडक स्तरोन्नति सुचारु
कोरोना प्रभावका कारण सरकारले घोषणा गरेको लकडाउन अवधिमै भीमफेदी–कुलेखानी सडक स्तरोन्नतिको काम भने सुचारु गरिएको छ । १८ चैतदेखि सडक स्तरोन्नतिको काम सुचारु गरिएको हो । त्यसअघि लकडाउनलगत्तै काम रोकिएको थियो ।

अहिले पाँचवटा स्काभेटर प्रयोग गरेर सडक फराकिलो बनाउने काम भइरहेको छ । १८ चैतदेखि स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाएर सडक स्तरोन्नतिको काम सुचारु गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।

दैनिक हजार बढी सवारीसाधन आवतजावत गर्ने हेटौँडा–काठमाडौं छोटो मार्गअन्तर्गतको भीमफेदी–कुलेखानी सडकमा लकडाउन हुँदा काममा कुनै अवरोध नहुने भएपछि स्वास्थ्य सुरक्षा अपनाएर काम सुचारु गरिएको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले बताए ।

मोतीदान निर्माण कम्पनीले ठेक्का पाएको सडक स्तरोन्नतिलाई दुई भागमा विभाजन गरिएको छ । भीमफेदीदेखि देउरालीसम्म र देउरालीदेखि कुलेखानी ड्यामसम्मको १५ किलोमिटर सडक दुई भागमा विभाजन गरेर काम गरिएको मन्त्री फुँयालले जानकारी दिए । भीमफेदीदेखि देउरालीसम्मको आठ किलाेमिटरका लागि १७ करोड र देउरालीदेखि कुलेखानी ड्यामसम्म सात किलाेमिटरका लागि १५ करोड लागतमा ठेक्का सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।