१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
वडाध्यक्ष रवीन्द्र शाही चढेको गाडीबाट सशस्त्र प्रहरीले बरामद गरेका हतियार
मोहन विष्ट कञ्चनपुर
२०७६ चैत २६ बुधबार १९:४२:००
Read Time : > 1 मिनेट
समाचार

कैलालीको गोदावरी– १० का वडाध्यक्ष शाही चढेको गाडीबाट हतियार बरामद

Read Time : > 1 मिनेट
मोहन विष्ट कञ्चनपुर
२०७६ चैत २६ बुधबार १९:४२:००

कैलालीको गोदावरी नगरपालिका– १० का वडाध्यक्ष रवीन्द्र शाही चढेको भारतीय नम्बर प्लेटको सवारीसाधनबाट सशस्त्र प्रहरीले हतियार बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति वीरसिंह साहुले मंगलबार साँझ वडाध्यक्ष शाही चढेको गाडीबाट प्वाइन्ट टु–टु एसएलआर एक थान, त्यसमा लाग्ने गोली १४ थान, एयरगन एक थान तथा त्यसको छर्रा एक सय ९६ थान बरामद भएको बताए । गाडीबाट वडाध्यक्ष शाहीको नाममा रहेका विभिन्न बैंकका कार्ड र नेपाली कांग्रेसको सदस्यता कार्डसमेत बरामद भएको उनले जानकारी दिए ।

डिएल ३ सिसिआर ३९९७ नम्बर प्लेट रहेको उक्त टोयोटा फर्च्युन गाडी वडाध्यक्ष शाहीले नै हाँकेको खुलेको पनि सशस्त्र प्रहरी उपरीक्षक साहुले बताए । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ गुलरिया आएका वडाध्यक्ष शाही चढेको उक्त गाडीलाई त्यहाँ खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । गाडी रोकेपछि शाही गाडी त्यहीँ छाडेर भागेको बताइएको छ ।

वडाध्यक्ष शाहीका केही समर्थकले दुईमध्ये एउटा हतियारको लाइसेन्स सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै उनको बचाउ गरेका छन् । तर, हतियारको लाइसेन्स छ भन्दैमा लकडाउनको समयमा वडाध्यक्षजस्तो जिम्मेवार व्यक्ति भारतीय नम्बर प्लेटको गाडीमा हतियार बोकेर अर्को जिल्ला पुग्नु कति उचित भनेर व्यापक आलोचना पनि भएको छ ।

सशस्त्र प्रहरीले भने गाडी चेकजाँच गर्दा हतियारका कागजात फेला नपरेको स्पष्ट पारेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरिप्रसाद खतिवडाले लाइसेन्स लिएकै भए पनि लकडाउनको वेला हतियार बोक्न नमिल्ने बताए । यसलाई गम्भीर रूपमा लिएर अनुसन्धान अगाडि बढाइएको उनको भनाइ छ ।

गाडी वडाध्यक्ष शाहीले नै चलाएको प्रमाण भेटिएकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता रवीन्द्र पौडेलले बताए । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शाही गत माघ दोस्रो साता पनि धनगढीमा जुवाको खालबाट पक्राउ परेका थिए । उनीसहित १६ जना जुवाखालबाट पक्राउ परेकोमा नौ लाख धरौटी बुझाएर रिहा भएका थिए ।