मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष
सुदीप शिवाकोटी हेटौँडा
२०७६ चैत २६ बुधबार १८:११:००
Read Time : < 1 मिनेट
अर्थ

लकडाउनका कारण कुखुरा व्यवसायीको पाँच अर्ब लगानी जोखिममा

Read Time : < 1 मिनेट
सुदीप शिवाकोटी हेटौँडा
२०७६ चैत २६ बुधबार १८:११:००

कोरोना प्रभावका कारण सरकारले देशभर लामो समय लकडाउन घोषणा गर्दा मकवानपुरका कुखुरा व्यवसायीको लगानी जोखिममा परेको छ ।

बुधबार मकवानपुर कुखुरा व्यवसायी संघले जिल्ला प्रशासन कार्यालयसमक्ष ज्ञापनपत्र बुझाउँदै जिल्लाका एक हजार पाँच सयजना कुखुरापालक किसानको करिब पाँच अर्बभन्दा बढी लगानी जोखिममा परेको जनाएको छ । संघले प्रशासनलाई बुझाएको ज्ञापनपत्रमा कुखुराको मासु र अण्डाको मूल्य अत्यधिक घट्दा लागत मूल्य पनि नपाएको उल्लेख छ ।

उत्पादित कुखुरा र अण्डा बजार लगेर बिक्री गर्ने अवस्था नभएको र लागत मूल्यसमेत नपाउने भएका कारण लगानी डुब्ने अवस्थामा रहेको संघका अध्यक्ष राजु अधिकारीको दाबी छ । उनले अहिलेको समयमा उपभोक्ताले उपभोग नगर्दा पनि थप समस्या भएको बताए । संघले किसानको समस्या मध्यनजर गरेर कुखुराको विवरण संकलन गरी तत्काल राहत प्याकेजको व्यवस्था गर्नसमेत प्रशासनसँग अनुरोध गरेको छ ।

१४ लाख कुखुरा नष्ट गरिदिन आग्रह
संघले जिल्लाभर बिक्रीका लागि ठिक्क भएका १४ लाख कुखुरा रहेको भन्दै नष्ट गरिदिन प्रशासनसमक्ष आग्रहसमेत गरेको छ । लकडाउनको समय लम्बिँदै जाँदा र वातावरण अनुकूल तथा सहज नभएपछि कुखुरा खोरमै मर्ने स्थिति बन्ने भएकाले प्रशासनलाई नष्ट गर्न आग्रह गरिएको संघले जनाएको छ ।

संघले सरकारी तवरबाट कुखुराको तथ्यांक राखेर नष्ट गरिदिन, किसानका लागि राहतको प्याकेज उपलब्ध गराउन तथा बैंकको ब्याज मिनाहाका लागि माथिल्लो निकायको ध्यानाकर्षण गराइदिन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए । ज्ञापनपत्र बुझ्दै प्रजिअ नेपालले किसानका समस्या समाधानका लागि सहजीकरण गर्न आफू तयार रहेको बताए ।