मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७६ चैत २६ बुधबार १४:२६:००
Read Time : < 1 मिनेट
विश्व

राष्ट्र संघद्वारा शान्तिसेना परिचालन स्थगित

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ चैत २६ बुधबार १४:२६:००

कोरोना भाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्र संघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्र संघका अनुसार विश्वका विभिन्न भागमा तैनाथ शान्ति सैनिक, सैन्य अधिकृत तथा प्रहरी अधिकारीहरूको परिचालन पनि स्थगित भएको छ । 

संघीय महासचिवका प्रवक्ता स्टेफन डुजारिकले भने, ‘हाम्रो अहिलेको सर्वोच्च प्राथमिकता नै विश्वका सबै संकटपूर्ण ठाउँमा खटाइने बर्दीधारी सैनिकहरूमा कोभिड– १९ नभएको सुनिश्चित गर्नु रहेको हुन्छ । ’ उनले केही विशिष्ट अवस्थामा यस व्यवस्थामा सामान्य फेरबदल हुन सक्ने स्पष्ट गरे ।

राष्ट्र संघको उक्त निर्णयबारे शान्ति सैनिक र प्रहरी पठाइरहेका सबै मुलुकलाई जानकारी गराइएको पनि उनले बताए । तर, राष्ट्र संघका अन्य निकायहरू जस्तै राष्ट्रसंघीय बालकोष युनिसेफ, विश्व खाद्य कार्यक्रम र शरणार्थीसम्बन्धी उच्चस्तरीय आयोग युएनएचसिआरका कार्यक्रमहरू द्वन्द्वग्रस्त मुलुकहरूमा यथावत् रहेको राष्ट्र संघले जनाएको छ । 

प्रवक्ता डुजारिकले युनिसेफ र विश्व खाद्य कार्यक्रमले जोर्डन सरकारसँग मिलेर शरणार्थीहरूलाई मद्दत गरिरहेको, खाद्य सहयोग तथा अरू कार्यक्रमलाई निरन्तरता दिएको बताए । 

डुजारिकका अनुसार युएनएचसिआरले पूर्वी अफ्रिकामा रहेका शरणार्थीको ठूलो हिस्सामा कोभिड– १९ को संक्रमण रोक्न, उपचार गर्न र प्रसारलाई नियन्त्रणमा राख्न काम गरिरहेको छ ।