मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मणिलाल विश्वकर्मा 
२०७५ माघ ९ बुधबार १४:१०:००
Read Time : > 1 मिनेट
समाचार

दाइजोको निहुँमा हत्या गरेको आरोप

विवाहको साढे दुई महिना नपुग्दै २० वर्षीया जस्मिन खातुन झुन्डिएको अवस्थामा भेटिइन्

Read Time : > 1 मिनेट
मणिलाल विश्वकर्मा 
२०७५ माघ ९ बुधबार १४:१०:००

सिरहा धनगढीमाई नगरपालिका–९ जिरोमाइलकी २० वर्षीया जस्मिन खातुनको दाइजोको निहुँमा हत्या भएको माइतीपक्षले आरोप लगाएको छ । गत २९ कात्तिकमा २३ वर्षीय सहंसा अन्सारीसँग विवाह गरेकी जस्मिन सोमबार घरको भुुइँतलाको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । 

जस्मिनका बाबु अब्दुल कुदुसले विवाहका वेला कबोल गरिएको पल्सर मोटरसाइकलबापतको बाँकी पैसा नदिएको भन्दै छोरीको हत्या गरिएको आरोप लगाएका छन् । ‘सोमबार बिहानैदेखि पल्सर मोटरसाइकल कहिले ल्याउँछेस् भन्दै कुटपिट गरेको कुरा छोरीले रुँदै मोबाइलबाट आमालाई सुनाएकी थिइन्,’ कुदुसले नयाँ पत्रिकासँग भने, ‘मेरो भाइले छोरीसँग कुरा गराउनुस् भनेर फोन गर्दा कसैले कुरा गर्न चाहेनन्, छोरी एकोहोरो चिच्याइरहेकी थिइन् । यसबाटै कुटपिट गरेर हत्या गरी झुन्ड्याएर आत्महत्या देखाउन खोजिएको स्पष्ट हुन्छ ।’ 

परिवारकै मिलेमतोको आरोप
कुदुसले छोरीको विवाहमा करिब १० लाख रुपैयाँ खर्च भएकाले कबोल गरेअनुसार पल्सर मोटरसाइकल दिन नसकेको, तर बाँकी रकम केही दिनभित्र दिने गरी त्यसैवेला एक लाख रुपैयाँ नगद दिएको बताए । ‘विवाहपछि बाँकी डेढ लाख रुपैयाँ माग्दै सम्धी, ज्वाइँ र घरका अन्य सदस्यले समेत पटक–पटक शारीरिक र मानसिक यातना दिएको थाहा पाएका थियौँ,’ कुदुसले अगाडि भने, ‘घटना भएको दिन पनि सम्धी र ज्वाइँले बिहान १० बजेतिर लहानमै आएर ‘मोटरसाइकलको बाँकी डेढ लाख रुपैयाँ कहिले दिने’ भन्दै मलाई फोनमा धम्क्याएका थिए । मैले तीन–चार दिनको समय मागेको थिएँ । त्यसै दिन छोरीलाई कुटपिट गरी झुन्ड्याएछन् ।’ 

हत्या आरोप लागेका अन्सारीले भने घटना हुँदा आफूहरू घरमा नभएको प्रतिक्रिया दिए । ‘विवाहको दिन सम्धी आफैँले मोटरसाइकलका लागि भनेर एक लाख रुपैयाँ दिएपछि लिएको हुँ । त्यसपछि बाँकी रकमको विषयमा कुनै ताकेता गरेको छैन । बुहारीमाथि दबाब दिएको वा कुटपिट गरेको छैन,’ अन्सारीले भने, ‘सोमबार बिहान खाना खाएर छोरासँगै म बैंकको कामका लागि लहान गएका थियौँ । घरमा बुहारीले झुन्डिएर आत्महत्या गरिछन् ।’

दाइजोले हत्याका घटना बढ्दै
मानवअधिकारको क्षेत्रमा कार्यरत इन्सेक र ओरेक नेपालले सन् २०१८ डिसेम्बरदेखि २०१९ डिसेम्बरसम्म संकलन गरेको तथ्यांकले दाइजोको निहुँमा ६ महिलाको हत्या भएको देखाएको छ । एक वर्षमा दाइजोका कारण नौ विवाहित महिला मानसिक तथा घरेलु हिंसाको सिकार बनेको तथा सात महिलाले आत्महत्याको प्रयास गरेको उल्लेख छ । महिला अधिकारकर्मी श्यामा साह भन्छिन्, ‘विवाहित महिलामाथि पतिसहित परिवारका सदस्यले गर्ने हिंसा कुनै न कुनै रूपले दाइजोसँगै जोडिएको पाइन्छ ।’ दाइजोका कारण महिलामाथि हुने हिंसा दण्डनीय भए पनि जनचेतनाको अभाव तथा कानुन कार्यान्वयन फितलो हुँदा जघन्य अपराध बढिरहेको साहले बताइन् ।

आरोपित पति प्रहरीको नियन्त्रणमा
माइती पक्षले जस्मिनको हत्या भएको आरोप लगाएपछि इलाका प्रहरी कार्यालय लहानले उनका पति सहंसालाई नियन्त्रणमा लिएको छ । सोमबार ससुरा र पतिलाई नियन्त्रणमा लिएको भए पनि सोधपुछपछि ससुरालाई सोमबार नै छाडिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुुख प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । प्रहरीले शवको पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ ।