१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शशी शेखर
२०७६ चैत २६ बुधबार ०८:४७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

कोभिड–१९ विरुद्ध नागरिक पनि जिम्मेवार बन्नुपर्छ

Read Time : > 2 मिनेट
शशी शेखर
२०७६ चैत २६ बुधबार ०८:४७:००

लकडाउनले कोभिड–१९ को संक्रमणलाई नियन्त्रण गरेको भए पनि यसका लागि सर्वसाधारण पनि उत्तिकै जिम्मेवार बन्नुपर्छ

म बसेको नोयडाको एक क्षेत्रमा अहिले बिहान–बेलुकै कोइलीलगायत चराको चिर्बिर सुन्न सकिन्छ । केही साताअघिसम्म हामीले सुन्ने भनेको यातायातका साधानको कोलाहल मात्र थियो । तर, यो प्राकृतिक आवाज सुनेर मख्ख पर्नु अहिलेका लागि फगत एउटा आत्मरति मात्र हो, किनकि हामी कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासमा बाँचिरहेका छौँ । संक्रमित र मृतकको संख्या दिनानुदिन बढिरहेको छ ।

वैज्ञानिक भनिरहेका छन्– यसले विश्वलाई अझ धेरै अस्तव्यस्त बनाइदिनेछ । त्यसैले त विश्वका प्रायः सबै सरकारले मानिसको आवागमन पूर्णतः बन्द गरेका छन् । आधा विश्व लकडाउनबाट गुज्रिरहेको छ, एउटा साझा मानवीय संकट उत्पन्न भएको छ । दुई सातायता भारत पनि पूर्ण लकडाउनमा छ । धेरैजसो नागरिकले स्वस्फूर्त लकडाउनको पालना गरेका छन् । तर, केहीले भने अज्ञानताले हो या जिद्दीले, यो महामारीका लागि अलिकति पनि त्याग देखाउन चाहेका छैनन् । यो खतरनाक छ । किनकि तिनीहरू मात्र संक्रमणको जोखिममा छैनन्, तिनको सम्पर्कमा आउने सिंगो समुदायलाई तिनले संक्रमित बनाउने जोखिम पनि उत्तिकै छ ।

यो शुक्रबार कन्नौजको ताब्लिघीमा दर्जनौँ जमात प्रार्थना गर्न भेला भए । प्रहरी र प्रशासनले यो प्रार्थनामा यसरी भेला हुने सही समय र शैली होइन भन्दै तिनलाई सम्झाउने कोसिस गरे । बरेलीदेखि फिरंगी महलसम्मका थुप्रै मुस्लिम प्राज्ञ तथा अगुवाले पहिल्यै यो संकटको घडीमा घरमै नमाज पढ्नु उपयुक्त हुने सुझाब दिइसकेका थिए । तर, त्यो भिड सुझाब सुन्ने पक्षमा थिएन । परिस्थिति झन् जटिल बन्यो । प्रार्थनाका लागि भेला भएकाहरू प्रहरीमाथि जाइलागे । तिनले प्रहरी चौकीमा आगजनी गरे । थप सुरक्षा दस्ता झिकाएर भिड तितर–बितर पारेपछि स्थिति साम्य बन्यो । यो मात्र आक्रमणको एक्लो घटना होइन । स्वास्थ्यकर्मीको टिमलाई पनि पटक–पटक आक्रमण भइरहेको छ ।

ताब्लिघी जमातमा उपस्थित एक हजार चार सय ४५ भन्दा अधिकलाई कोभिड–१९ पोजेटिभ देखिएको छ । यो भनेको यतिवेलाको भारतका कुल संक्रमितको ३५ प्रतिशत हो । यस घटनाले लकडाउनको परिणामलाई नै नाकाम बनाइदिएको छ ।

यो विषम परिस्थितिमा महामारीविरुद्ध पहिलो मोर्चामा खटिइरहेका योद्धामाथि आक्रमण गर्ने यिनीहरू को हुन् ? यो स्वस्फूर्त आक्रमण हो कि कसैद्वारा प्रायोजित ? प्रायोजित हो भने यसको पछाडि कसको हात छ ? के तिनको यो मूर्खतापूर्ण हर्कतले तिनको मात्र होइन, मानवजगत्कै संकट निम्त्याउन सक्छ भन्ने ज्ञान तिनलाई नभएकै हो ? 

त्यस्तै जब इन्दोरमा चिकित्सकमाथि आक्रमण भयो, प्रसिद्ध कवि रहत इन्दोरीले भने– मलाई भन्नुस् कसको घरमा चिकित्सकमाथि दुव्र्यवहार गरियो, म तिनकोमा जानेछु, तिनको पाउ पक्रेर तिनी, तिनको समुदाय र राष्ट्रका खातिर अलिकति दयाको भिख माग्नेछु ।

ताब्लिघी जमातको घटनापछि यस्ता परिस्थिति खलबल्याउने घटना व्यापक बढेर गएका छन् । यस्ता घटनालाई सामुदायिकीकरण गरिनुहुन्न । तर, जमातले सार्वजनिक रूपमा भेला भएर गल्ती गरे । अझ क्वारेन्टाइनमा बसेका जमात पनि धार्मिक व्यक्तित्वले देखाउने भन्दा विपरीत त्यस्तै उच्छृङ्खल व्यवहार देखाउँदै छन् । गाजियाबादको सरकारी अस्पतालमा तिनले स्वास्थ्यकर्मी, विशेषतः महिलामाथि दुव्र्यवहार गर्ने गरेको जानकारी आएको छ । आगरामा पनि तिनका अनुयायीले दिइएको साधा खाना खान नमानेर दुःख दिइरहेका छन् । तिनका अनुसार तिनलाई आफ्नो धर्मविपरीतका खाना चखाइँदै छ । स्वास्थ्य क्षेत्रमा धार्मिक कारण देखाएर निहुँ खोजिएको यो पहिलोपटक हो । 

स्वास्थ्य मन्त्रालयका अनुसार ताब्लिघी जमातमा उपस्थित एक हजार चार सय ४५ भन्दा अधिकलाई कोभिड–१९ पोजेटिभ देखिएको छ । यो भनेको भारतका कुल संक्रमितको ३५ प्रतिशत हो । यस घटनाले लकडाउनको परिणामलाई नै नाकाम बनाइदिएको छ ।

यस्ता असभ्य र गैरजिम्मेवार हर्कतले अन्य धार्मिक अतिवादलाई मात्र फाइदा पुग्छ । सामाजिक सञ्जालका तर्क र बहसले पनि यसको पुष्टि गर्छन् । हामी शिक्षित र अग्रगामी बन्दै छौँ कि मध्यकालीन बर्बरतातिर जाँदै छौँ ? यसमा केही सन्देह छैन कि लकडाउनले कोभिड–१९ को संक्रमणलाई नियन्त्रण गरेको भए पनि यसका लागि सर्वसाधारण पनि जिम्मेवार बन्नुपर्छ । यसले गर्दा भाइरसलाई निश्चित क्षेत्रमा संकुचित गर्दै सरकारले स्वास्थ्य क्षेत्रमा पूर्वाधार बढाउने अवसर पाएको छ । लकडाउनले महामारीलाई तेस्रो चरणमा पुग्नबाट रोक्नेमा सुरुदेखि नै सबै आशावादी थिए ।

दुर्भाग्यवश, लकडाउनको फितलो तयारीका कारण लाखौँ कामदार सहरबाट बाहिरिए भने २० भन्दा बढी राज्यबाट भेला भएका जमातका कारण संक्रमण कुन स्तरमा फैलिएको छ भन्ने आशंका र त्रास पैदा भएको छ । के अप्रिल १४ सम्मको लकडाउन सरकारले लम्ब्याउला ? सरकारले सावधानीपूर्वक निर्णय लिनुपर्नेछ ।

(शेखर हिन्दुस्तान दैनिकका प्रधान सम्पादक हुन्)
हिन्दुस्तान टाइम्सबाट