मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ २१ बुधबार
  • Wednesday, 03 June, 2020
२०७६ चैत २६ बुधबार ०८:२८:००
कोरोना अपडेट

त्रिविका चार केन्द्रीय विभागले  कोरोना भाइरसबारे अनुसन्धान गर्ने

२०७६ चैत २६ बुधबार ०८:२८:००

त्रिभुवन विश्वविद्यालयका चार केन्द्रीय विभागले नेपालमा देखिएको कोरोना भाइरस (कोभिड–१९)को अनुसन्धान गर्ने भएका छन् । त्रिविको माइक्रोबायोलोजी, बायोटक, बायोमेटरियल र फिजिक्स केन्द्रीय विभागले कोरोना भाइरसको अनुसन्धान गर्न लागेका हुन् ।

त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले नेपालमा देखिएको कोरोना भाइरसको अध्ययन गर्न चार केन्द्रीय विभागलाई निर्देशन दिइसकेको बताए । नेपालमा देखिएको कोरोना कतिको शक्तिशाली छ, यसका कमजोरी के हो, यसलाई कसरी परास्त गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न निर्देशन दिएको उनले बताए । 

केन्द्रीय विभागहरूलाई अनुसन्धानका लागि प्रस्तावना मागेको बाँस्कोटाले बताए । उनले भने, ‘अनुसन्धानका लागि स्रोत हामी (केन्द्र) दिन्छौँ, अहिले तीनवटा प्रदेशमा देखिएको छ, भोलि सबैतिर फैलिएमा सातै प्रदेशमा अनुसन्धान गर्ने गरी प्रस्तावना मागेको छु ।’ अहिलेसम्म तीनवटा प्रदेशमा कोरोना भाइरसका नौजनामा संक्रमण देखिएको छ । त्रिविले अहिले सबै केसलाई अनुसन्धान गर्ने र संक्रमण फैलिएमा सबै प्रदेशलाई समेट्ने गरी नमुना छनोट गरी अनुसन्धान गर्न निर्देशन दिएको बाँस्कोटाले बताए । उनले कोरोनाको नालीबेली पत्ता लगाउने गरी अनुसन्धान हुने बताए । नेपालको कोरोना र अन्य देशको कोरोना भाइरसबीच तुलनात्मक अध्ययन हुने उनले बताए । नेपालका छिमेकी भारत, चीन तथा पश्चिमा देशमा देखिएका कोरोना भाइरससँग तुलना गरी अध्ययन गर्ने त्रिविको योजना छ । अहिले सानो नमुना छनोट गरी पछि विस्तार गर्ने त्रिविका पदाधिकारीको भनाइ छ । आवश्यक सामग्री जुटाएर तत्काल अनुसन्धान सुरु गर्ने उनले बताए । अनुसन्धानका लागि कति जनशक्ति खटिने, कहिलेसम्म अनुसन्धान गर्नेलगायत तयारी केन्द्रीय विभागहरूले गरिरहेका छन् । 

कोरोना परीक्षण गर्न त्रिविका आफ्नै उपकरण र जनशक्ति

कोरोना भाइरस परीक्षण गर्न त्रिविसँग आफ्नै जनशक्ति र उपकरण छन् । त्रिविसँग कोरोना परीक्षण गर्ने तीन ल्याब र आवश्यक जनशक्ति रहेको उपकुलपति बाँस्कोटाले बताए । यसका लागि त्रिविमा माइक्रोबायोलोजी, बायो टेक्नोलोजी केन्द्रीय विभाग र बायो मटरियल युनिट तयारी अवस्थामा राखिएका छन् । कोरोना भाइरस परीक्षण गर्न सक्ने त्रिविसँग तीनवटा ल्याब छन् । कोरोना भाइरस परीक्षण गर्न सकिने उपकरण (रियल टाइम पिसिआर मेसिन) हुन् । कोरोनाको परीक्षण भइरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाजत्तिकै सुविधायुक्त ल्याब त्रिविसँग छ । विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि प्रयोग भएका तीन ल्याबबाट कोरोना भाइरस परीक्षण गर्न सकिन्छ ।

लिट्रेचर रिभ्यु गर्दै छौँ : बन्जरा

त्रिविको माइक्रोबायोलोजी केन्द्रीय विभाग प्रमुख एसोसिएट्स प्रोफेसर मेघराज बन्जराले कोरोना भाइरसका विषयमा अहिले लिट्रेचर रिभ्यु सुरु गरेको बताए ।कोरोना भाइरस, जेनेटिक्स, रेसिस्टेन्टलगायत रिसर्चका धेरै एरिया रहेको बताए । उनले भने, ‘रिसर्चको काम सुरु गरिसकेका छौँ, तर केस थोरै भएकाले हाइफोथेसिस बनाइहाल्ने वेला भएको छैन ।’ त्रिविसँग सीप र उपकरण भएकाले बाहिरका विश्वविद्यालयसरह अनुसन्धान गर्न सक्ने उनको दाबी छ ।

स्वास्थ्य मन्त्रालयले दिएन जवाफ

त्रिविले आवश्यक परेको खण्डमा आफ्ना तीन विभागका ल्याब र जनशक्ति काम गर्न तयारी अवस्थामा राखेको उपकुलपति बाँस्कोटाले बताए । विश्वविद्यालयले आफूसँग भएका ल्याब र जनशक्तिको विषयमा स्वास्थ्य मन्त्रालयलाई पत्रमार्फत जानकारी पनि गराइसकेको छ । पत्र पठाएपछि पनि तीन विभागका प्रमुख र स्वास्थ्यसचिवबीच त्रिविले गर्न सक्ने कामका विषयमा छलफल भएको थियो । स्वास्थ्य मन्त्रालयले छलफलमा आवश्यक परेमा सहयोग लिने भने पनि हालसम्म सहयोग मागेको छैन । 

त्रिवि छात्रावासका विद्यार्थीलाई खान समस्या

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा रहेको होस्टेल र बाहिर भाडामा बस्दै आएका विद्यार्थी समस्यामा परेका छन् । लकडाउनका कारण घरबाट रकम नआएपछि उनीहरू समस्यामा परेका हुन् । केही विद्यार्थी घर गए पनि छात्र ७० र छात्रा १९ जना होस्टेलमा बस्दै आएका छन् । 

कीर्तिपुरस्थित होस्टेलमा बस्दै आएका त्रिवि स्नातकोत्तर तह शिक्षाशास्त्र संकाय चौथो सेमेस्टर अध्ययनरत हेमराज थापाले लकडाउनका कारण घरबाट पैसा नआएकाले समस्यामा परेको बताए । सामान किन्ने पैसा अभाव भएपछि विद्यार्थीलाई विश्वविद्यालय क्याम्पस प्रिन्सिपल कार्यालयले केही दिनअघि पाँच–पाँच किलो चामल र केही संस्थाले एक–दुई दिनलाई पुग्ने चामल–दाल दिएका थिए ।

‘घरबाट पैसा नआएपछि खाद्यान्न अभाव भएको छ,’ उनले भने, ‘अरूले दिएको चामल र दालले केही दिन राहत भयो, अब फेरि समस्या हुन थालेको छ ।’ होस्टेलबाहिर कीर्तिपुर क्षेत्रमै भाडामा बस्ने त्रिवि केन्द्रीय विभागमा अध्ययन गर्ने विद्यार्थीसमेत समस्यामा छन् । छात्रावासबाहिर भाडामा बस्दै आएका त्रिविका विद्यार्थी रामप्रसाद शर्माले बाहिर निकै कठिन भएको बताए । लकडाउनका कारण घरबाट रकम नआउँदा खाद्यान्न र ग्यासको समेत अभाव भएको उनले बताए । कीर्तिपुर नगरपालिकाका मेयरलाई ध्यानाकर्षण गराउँदासमेत कोठाभाडामा बस्नेलाई राहत नदिने र स्थानीय बासिन्दालाई मात्र दिने बताएको गुनासो गरे ।