१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २६ बुधबार ०८:२०:००
Read Time : > 1 मिनेट
अर्थ

राष्ट्रिय महत्वका पूर्वाधार निर्माण ३ वैशाखपछि मात्र 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २६ बुधबार ०८:२०:००

सरकारले ठूला र राष्ट्रिय महत्वका पूर्वाधार आयोजना निर्माण सुचारु गर्ने तयारी गरेको छ । मेलम्ची खानेपानी, माथिल्लो तामाकोसीलगायत केही आयोजनामा सीमित कामदारमार्फत काम पनि भइरहेको छ । तर, देशभरका अधिकांश आयोजना ठप्प छन् । ती आयोजना निर्माण कार्य ३ वैशाखपछि सुरु गर्ने गरी आवश्यक तयारी गर्न सरकारले व्यवसायीलाई सतर्क गराएको छ । 

तर, सरकारले निर्णय गरे पनि व्यावहारिक रूपमा देशभर लकडाउन तोकिएको अवधिसम्म काम गर्न नसकिने निष्कर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेको छ । मन्त्री वसन्तकुमार नेम्बाङले व्यवसायीलाई पछिल्लोपटक तोकिएको लकडाउनको अवधिसम्म धैर्य गर्न आग्रह गरेका छन् । त्यसपछि केही खुकुलो बनाएर आयोजना निर्माणलाई गति दिनुपर्ने उनको भनाइ छ । 

‘अब निर्माण आयोजनाले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर निश्चित क्षेत्रमा मात्र गरिने कामलाई अघि बढाउन सकिन्छ’

निर्माण व्यवसायीले सडक, पुल र नदी नियन्त्रणसँग सम्बन्धित आयोजना वर्षाअघि नै सम्पन्न गर्न आवश्यक सहजीकरणका लागि सरकारसँग सोमबार मात्र आग्रह गरेका थिए । जवाफमा मन्त्री नेम्बाङले ३ वैशाखसम्म पर्खन भनेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । 

महासंघका अनुसार देशभर तत्काल २ सयजति पुल निर्माण सुचारु गरिहाल्नुपर्ने अवस्थामा छन् । ती पुलको निर्माण सम्पन्न गर्न आवश्यक फिनिसिङको काम मात्र बाँकी छ । कतिपय ठाउँमा ‘रिभर डाइभर्सन’समेत गरिसकेको महासंघका अध्यक्ष सिंहले जानकारी दिए । ‘यस्ता संवेदनशील आयोजनामा अहिले काम नगरेर वर्षामा कठिन हुने प्रस्ट छ,’ उनले भने । 

आयोजना निर्माण थाल्न निर्माण सामग्री ढुवानी, मेसिनलाई आयोजनास्थलसम्म लैजान प्रमुख जिल्ला अधिकारीले रोक्ने गरेका छन् । ‘केही जिल्लाका प्रमुख जिल्ला अधिकारीले हामी केही भन्दैनौँ भन्नुभएको छ । तर, केही भइहालेमा हामीलाई पनि समस्या पर्छ,’ महासंघका अध्यक्ष सिंहले भने ।

तर, सडक विभागका महानिर्देशक केशवकुमार शर्माले भने आयोजना सुचारु गर्न आवश्यक समन्वयका लागि जिल्ला प्रशासनसमक्ष छलफल भइसकेको जानकारी दिए । ‘अब निर्माण आयोजनाले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर निश्चित क्षेत्रमा मात्र गरिने कामलाई अघि बढाउन सकिन्छ,’ उनले भने । 

यसअघि सोमबार नेपाल निर्माण व्यवसायी महासंघले देशभरका पुल निर्माण र नदी नियन्त्रणका कामलाई निरन्तरता दिन आवश्यक समन्वयका लागि सरकारसँग आग्रह गरेको थियो । विशेषगरी, पुल र नदी नियन्त्रण कार्यका लागि सहज वातारण बनाइदिन विशेष आग्रह गरेको थियो । 

देशभर १२ चैतदेखिको लकडाउनले विकास निर्माणका कार्य ठप्प छन् । साथै, सरकारले ३ वैशाखसम्म लकडाउनको समयावधि वृद्धि गर्ने निर्णय गरिसकेको छ । पुल निर्माणका लागि आवश्यक टेन्डम तार तान्ने मेसिनलगायत उपकरण र निर्माण सामग्री तथा आवश्यक खाद्यवस्तुको ढुवानी गर्न, पुलका प्राविधिक र मजुदरको आवत–जावतका लागि अनुमति पासको व्यवस्था गरिदिन पनि महासंघले सरकारसँग आग्रह गरेको छ ।