मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
इ. ट्यामी किम
२०७६ चैत २६ बुधबार ०७:२४:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

दक्षिण कोरियाले मास्कको अभाव कसरी समाधान गर्‍यो ?

Read Time : > 4 मिनेट
इ. ट्यामी किम
२०७६ चैत २६ बुधबार ०७:२४:००

वर्षको पहिलो महिनाको अन्त्यतिर दक्षिण कोरियालाई कोरोना भाइरसको महामारीले छोप्यो । त्यो समय यु यु सुकले नयाँ फार्मेसी खोलेको ६ महिना मात्र भएको थियो । केहीअघि मात्र सुक सियोलबाट इन्चियोन सहर सरेकी थिइन् । सियोलमा झन्डै तीन दशकसम्म एउटै फार्मेसीमा बिताएपछि उनमा आफैँले फार्मेसी सञ्चालन गर्न सक्ने आत्मविश्वास विकास भएको थियो । त्यही भएर इन्चियोन सरेको केहीपछि उनले आफ्नै फार्मेसी सञ्चालन  गरेकी थिइन् । अन्तर्राष्ट्रिय विमानस्थलनजिक खोलिएको उनको फार्मेसीको नाम ह्याकियोल (झटपट) फार्मेसी राखिएको थियो । उनले आफ्नो फार्मेसी वरपरको राम्रो जानकारी पाएकीसमेत थिइनन्, तब ‘यो सबै सुरु भयो’ । त्यसपछि सम्पूर्ण व्यापार कोरोना भाइरसतर्फ केन्द्रित भयो । 

सुकले सञ्चालन गरेको फार्मेसीका अतिरिक्त इन्चियोनका ११ सय फार्मेसीले केएफ–९४ फेस मास्क बेच्न सुरु गरे । केएफ–९४ मास्क अमेरिकी एन–९५ को कोरियाली संस्करण हो । फार्मेसीका अतिरिक्त इ–मार्टजस्टा ठूला खुद्रा विक्रेताले पनि यो काम सुरु गरे । कोरियालीहरू नजिकैको चीनमा देखिएको कोभिड–१९ प्रकोपलाई नजिकबाट नियालिरहेका थिए । पछि आफ्नै देशमा फैलिएपछि मानिसहरू झन् त्रस्त भए । यसबीच बजारमा भाइरसविरुद्ध सबैभन्दा प्रभावकारी मानिएको मास्कको अभाव देखिन थाल्यो । मानिसहरू अनलाइनबाट महँगोमा मास्क किनिरहेका थिए । मास्कको अभावबाट उपभोक्ता क्रुद्ध भइरहेका थिए । इचियोनस्थित एउटा फार्मेसीले त यही अवस्थालाई मध्यनजर गरी आफ्नो ढोकामा एउटा चेतावनी सन्देश लेखेर झुन्ड्याएको थियो, जसमा लेखिएको थियो, ‘मास्कसम्बन्धी सूचना : मास्कलाई लिएर हाम्रा कर्मचारीविरुद्ध कुनै प्रकारको धम्की, भौतिक आक्रमण र गालीगलोज नगर्नुहोला । उक्त कार्य कानुनी रूपमा दण्डनीय कार्य हो ।’

‘मास्क संकट’ बिकराल बन्दै गएपछि कोरियाको केन्द्रीय सरकारले मास्कको निर्माण र वितरणमा हस्तक्षेप गर्ने निर्णय ग¥यो । फेब्रुअरीको अन्त्यमा सरकारले देशभरका लगभग १३० मास्क निर्माताको ५० प्रतिशत केएफ–९४ मास्क आफूले खरिद गर्ने बतायो । त्यसपछि सरकारले ती मास्कलाई छुट रकममा २३ हजार फार्मेसीमा ढुवानी गर्‍यो । यो काममा कोरियन फर्मास्युटिकल्स एसोसिएसनले सरकारलाई सघाएको थियो । 

दक्षिण कोरियामा कोरोना भाइरसले प्रकोपको रूपमा लिँदा सुरुमा देखिएको मास्कको अभाव समाधान गर्न गाउँघरका फार्मेसिस्टको प्रयोग गरिएको थियो, तथापि तिनमा मास्क पुर्‍याउन सरकारी हस्तक्षेपले प्रमुख भूमिका खेलेको थियो

फार्मेसीलाई थोरै मार्जिन नाफा राखेर मास्क बेच्न भनिएको थियो । केहीले क्रेडिट कार्डमार्फत भएको भुक्तानीका कारण घाटा व्यहोरेको बताए पनि तिनले महामारीको समयमा आफ्नो भूमिकालाई जिम्मेवारीपूर्वक निभाए । कम फार्मेसी रहेका दक्षिण कोरियाका ग्रामीण क्षेत्रमा किसान सहकारी कार्यालय र पोस्टअफिसले मास्क बेचेका थिए । सुकले आफ्नो फार्मेसीबाट बिहान ९ बजेपछि मात्र केएफ–९४ मास्क बिक्री हुने सूचना लेखेकी थिइन् । मास्क किन्नेहरूको भिड लाग्दा अन्य औषधि बेचविखन लगभग असम्भव हुने हुँदा त्यस्तो कदम उठाइएको थियो । ‘सबै स्थानीय फार्मेसिस्टले यसरी नै मास्कको बिक्री–समय टाँसेका छौँ । साथमा हामीले छेउछाउका अन्य फार्मेसी रहेका स्थान देखाउने म्याप पनि दिने गरेका छौँ,’ सुकले बताइन् । कोरियामा लोकप्रिय रहेका काकाओ र नेयरजस्ता म्यापिङ एपले कुनै फार्मेसीमा कति मास्क उपलब्ध छ भन्ने जानकारी अपडेट गराइरहे । 

सुकको जिम्मामा दैनिक पचासवटा मास्क छुट्याइएको थियो, जुन उनले साताको ६ दिन बिक्री गरिरहेकी थिइन् । तर, उक्त परिणाम कम हुने अवस्था उत्पन्न भयो । दक्षिण कोरियामा संक्रमित हुने र मर्नेको संख्या बढेपछि मानिसमा मास्कप्रतिको व्यग्रता बढ्न थाल्यो । देशभरका फार्मेसीबाहिर मास्क किन्न चाहनेको लामो लाइन देखिन थाल्यो । मास्क नपाएकाहरू रिसले आगो हुँदै फार्मेसिस्टलाई गाली दिँदै फर्किरहेका दृश्य पनि आम हुन थालेको थियो । मार्च ५ सम्म आइपुग्दा सरकारले देशको कुल मास्क उत्पादनको असी प्रतिशत हिस्सा किन्न थाल्यो । त्यसको भोलिपल्ट सुकको मोबाइलमा देशका राष्ट्रपति मुन जे–इनको सम्बोधनवाला म्यासेज आयो । ‘कोरियाका फार्मेसिस्टहरूलाई सम्बोधन’ भनेर लेखिएको मोबाइल सन्देशमा भनिएको थियो, ‘आजबाट लागू हुने गरी सरकारी वितरण प्रणालीमा संकलन भएका सम्पूर्ण मास्कको ७० प्रतिशत मास्क फार्मेसीबाट बेचिनेछ । फार्मेसी हाम्रो सार्वजनिक स्वास्थ्य प्रणालीका प्राथमिक धरातलीय एकाइ हुन् ।’ यसपछि देशका सबै नागरिक र सूचीकृत गैरनागरिकले हप्ताको निश्चित दिन एक हप्ताका लागि दुईवटा मास्क लिन पाउने व्यवस्था बन्यो । यो प्रणाली ताइवानमा फेब्रुअरीको प्रारम्भबाट लागू भएको व्यवस्थासँग मिल्दोजुल्दो थियो । अतिरिक्त ढुवानी प्राप्त गर्नका लागि इन्चियोन फर्मास्युटिकल एसोसिएसनले उसका सदस्यलाई साताको सबै दिन फार्मेसी खुला राख्न प्रोत्साहित गर्‍यो । सुकले पनि उनको फार्मेसी सातै दिन खुला राखिन् । सुरुका दिनमा उनको फार्मेसीले दैनिक ५० वटा मास्क वितरण गरिरहेकोमा पछि यो संख्या चार सयसम्म पुगेको थियो । सप्ताहान्तमा यो संख्या थप बढी थियो । 

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले अप्रिलको पहिलो सातामा सबै नागरिकका लागि मास्क फाइदाजनक हुने सूचना सार्वजनिक गर्न थालेको छ । यसअघि उक्त स्वास्थ्य निकायले स्वास्थ्यकर्मी र कोरोना भाइरसबाट संक्रमितले मास्क लगाए पुग्ने, सर्वसाधारणलाई मास्क आवश्यक नभएको बताउँदै आएको थियो । सिडिसीको नयाँ निर्देशनअनुरूप अमेरिकीले पनि मास्क लगाउनुपर्ने हुन सक्छ । तर, पूर्वी एसियामा भने मास्क पहिलेदेखि आम प्रचलनमा रहँदै आएको छ । रोगको प्रकोपमा मात्र होइन, चिसो मौसम र वायु प्रदूषण उच्च हुँदा त्यहाँ मानिसहरू मुखमा मास्क लगाएर घरबाट बाहिर निस्कन्छन् । तर, सिडिसीको सम्भावित नयाँ निर्देशनले एन–९५ मास्कको अभाव झन् बढाउनेछ । मास्क निर्माण व्यापक नबनाई पूर्तिमा देखिएको अभाव पूरा गर्न सकिनेछैन । 

दक्षिण कोरिया र ताइवानले ठूलो स्तरमा बजारमाथि हस्तक्षेप गरेर मास्कको संकट समाधान गरे । अमेरिकाले पनि सोही मार्ग अवलम्बन गर्न आवश्यक छ । अमेरिकी सरकार, राज्य र नगर निगमले तत्कालै उचित मूल्यमा बेच्न सकिने खालका मास्क ठूलो स्तरमा निर्माण हुने सम्झौता गर्नुपर्छ । मास्क र अन्य (पिपिई) सामग्री पाउने पहिलो प्राथमिकतामा अस्पताल र स्वास्थ्य सेवा प्रदायक हुनुपर्छ भन्नेमा कुनै प्रश्न छैन । त्यसपछि सरससफाइ, यातायात, खाद्य सेवा, बाल स्याहार केन्द्र र कारागारमा रहेका मानिसका लागि मास्कको व्यवस्था गरिनुपर्छ । अनि मात्र आमसर्वसाधारणलाई ख्याल गरिनुपर्छ । वितरणका लागि फार्मेसी, हुलाक कार्यालयलाई उपयोग गर्न सकिन्छ । केही मास्कहरू बेघर वा गरिबीको रेखामुनि बाँचिरहेका मानिसका लागि निःशुल्क पाउन सक्ने व्यवस्था पनि गरिनुपर्छ । 

तर, एउटा कुरामा भने ख्याल राख्नुपर्छ । कोरियामा मास्क लगाउनेलाई रोगीको रूपमा हेरिँदैन । खासमा यो त अन्य व्यक्तिको स्वास्थ्यका लागि अपनाइएको सतर्कतामुखी व्यवहार हो । दक्षिण कोरियामा देखिएको कोभिड–१९ प्रकोपको केन्द्रबाट नजिक रहेको गिमचियोनस्थित फार्मेसिस्ट एसोसिएसनका अध्यक्ष कुक सियोङ–गोनले मास्कको प्रयोगबारे भने, ‘अमेरिका र युरोपमा अहिले कोरोनाले बिकराल रूप लिएको छ । यस्तोमा मानिसले मास्क पहिरिने संस्कृति विकास गर्नुपर्छ । मास्क बिरामी मानिसका लागि मात्र हो भन्ने धारणा बदल्नुपर्छ ।’ मार्च महिनाको अन्तिमसम्म दक्षिण कोरियाका फार्मेसीहरूमा देखिने मानिसको लाइन उलेख्य रूपमा घटिसकेको थियो । ‘मानिसहरू हप्तामा दुईवटा मास्क किन्न सक्षम रहेकाले ढुक्क छन् । हामी फार्मेसीमाथिको दबाब पनि कम भएको छ,’ सुकले भनिन्, ‘तीन सातासम्म कामको तनावले म त थाकेको छु । अब आराम गर्नुपर्ला ।’ तथापि सुक यो कठिन घडीमा फार्मेसीलाई हप्ताको सातै दिन खोल्नु आफ्नो सार्वजनिक जिम्मेवारी सम्झिन्छिन् । 

इ. ट्यामी किम न्युयोर्क टाइम्सकी स्तम्भकार हुन् । 
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य