मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी बर्लिन
२०७६ चैत २६ बुधबार ०७:०१:००
Read Time : > 1 मिनेट
खेलकुद

जर्मन क्लबहरूले सुरु गरे नियमित अभ्यास 

Read Time : > 1 मिनेट
एजेन्सी बर्लिन
२०७६ चैत २६ बुधबार ०७:०१:००

कोरोना भाइरस संक्रमणको अवस्था केही सामान्य भएसँगै जर्मनीमा फुटबल क्लबहरूले नियमित अभ्यास सुरु गरेका छन् । जर्मन बुन्डेस लिगाका प्रायः क्लबहरूले सोमबारबाट नियमित अभ्यास सुरु गरेका हुन् । त्यसमध्ये जर्मन च्याम्पियन टोली वायर्न म्युनिखले पनि नियमित अभ्यास थालेको छ ।

वायर्न म्युनिखले आफ्ना खेलाडीलाई ५–५ जनाको समूहमा बाँडेर प्रशिक्षण गराएको छ । प्रशिक्षणका क्रममा खेलाडीलाई एक–आपसमा छुन नदिइएको क्लबले जनाएको छ । बुन्डेस लिगाका अन्य टोली बोरुसिया डोर्टमुन्ड र वल्फस्वबर्गले पनि त्यहीअनुसार प्रशिक्षण गरेको जनाएका छन् ।

लिगको पुछारतिर रहेको टोली पाडोर्बाेनले पनि आफ्ना खेलाडीलाई सानो–सानो समूहमा बाँडेर प्रशिक्षण गराएको प्रशिक्षक स्टेफेन बउमनार्डले बताएका छन् । प्रशिक्षक बउमनार्डले भनेका छन्, ‘मैदानमा बलसँग खेल्न पाउँदा खेलाडी खुसी देखिए । खेलाडीका लागि यो महŒवपूर्ण समय हो ।’

जर्मन बुन्डेस लिगा गत १३ मार्चदेखि स्थगित छ । जर्मन फुटबल संघले कम्तीमा आगामी ३० अप्रिलसम्म लिग सुरु हुन नसक्ने जनाएको छ । जर्मनीमा अन्य देशको तुलनामा कोरोना भाइरस संक्रमणको अवस्था सामान्य बन्दै गएको र लिग पुनः सुरु हुने सम्भावना देखिएपछि क्लबहरूले नियमित अभ्यास सुरु गरेका हुन् । 

वायर्न म्युनिखका कप्तान मान्युइल न्युअरले कोरोना भाइरसको त्रासबीच बितेको यो कठिन अवधिपछि पुनः अभ्यासमा सहभागी हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । ‘साँच्चिकै आज यसअघिको भन्दा फरक महसुस भयो,’ कप्तान न्युअरले भने, ‘साथीहरूलाई व्यक्तिगत रूपमा भेट्न र देख्न पाउँदा पनि खुसी 
लागेको छ ।’

खेलाडीले वार्मअपबाट ट्रेनिङ सुरु गरेका थिए । त्यसपछि रनिङ र सुटिङ अभ्यास गरेका थिए । केही समय आफ्नो प्राविधिक पक्षमा पनि खेलाडीले अभ्यास गरेका थिए । अभ्यासका क्रममा कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न आवश्यक दूरी भने कायम गरिएको उनीहरूले जनाएका छन् । उनीहरूले अभ्यासस्थलमा कुनै पनि दर्शकलाई प्रवेश नदिइएको जनाएका छन् । जर्मन बुन्डेस लिगामा वायर्न म्युनिख अंकतालिकाको शीर्ष स्थानमा छ । वायर्न म्युनिखभन्दा चार अंकले पछि रहेको डोर्टमुन्ड दोस्रो स्थानमा छ ।