Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
शुरोजंग पाण्डे
२०७५ पौष ३ मंगलबार ०७:३४:००
Read Time : > 4 मिनेट
मुख्य समाचार

ओलीसँग वामदेवको आक्रोश, ‘मलाई राजनीति नै छोडाउन खोज्दै हुनुहुन्थ्यो, सकेको अझै गर्नुस्’

Read Time : > 4 मिनेट
शुरोजंग पाण्डे
२०७५ पौष ३ मंगलबार ०७:३४:००

-बैठकमा वामदेव झन् आक्रामक

-बैठकमा बादललाई घन्टी बजाउने जिम्मा


काठमाडाैं । नेकपाको स्थायी समिति बैठकमा नेतृत्वले विधि, प्रक्रिया मिचेर पार्टी र सरकार सञ्चालन गरेको भन्दै नेताहरूले खुलेर आलोचना गरेका छन् । नेता वामदेव गौतम त अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीप्रति झनै आक्रामक बनेका छन् । 

सोमबारको बैठकमा बोलेका नेता वामदेव गौतमसहित अधिकांश नेताले नेतृत्व र सरकारको आलोचना गरे । सरकार पार्टीको नियन्त्रणबाहिर सञ्चालन भइरहेको र पार्टी सञ्चालनमा विधि, प्रक्रिया मिचिएको उनीहरूको टिप्पणी छ । 

मुकुन्द न्यौपाने र वनमन्त्री शक्ति बस्नेत मात्रै सरकारको सामान्य प्रतिरक्षामा उभिएका थिए । पूरक राजनीतिक दस्ताबेजमार्फत आफूले राखेको विचारलाई षड्यन्त्रको उपमा दिएर ‘मजाक’ उडाइएको भन्दै बैठकको सुरुमै नेता गौतमले अध्यक्ष केपी ओलीको विरोध गरे । ओलीले चरित्रहत्या गर्ने गरी आफ्नो विचार र प्रस्तुतिलाई मजाक गरेको उनको टिप्पणी थियो । 

ओलीले सरकार र अर्का अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन गर्नुपर्ने तथा एकको अनुपस्थितिमा पनि अर्कोले बैठक सञ्चालन गर्नुपर्ने विचारसहितको दस्ताबेज गौतमले स्थायी समितिमा पेस गरेका थिए । आइतबार प्रधानमन्त्री ओलीले गौतमलाई इंगित गर्दै दुई अध्यक्षलाई लडाएर एकता टुटाउने प्रयास भइरहेको टिप्पणी गरेका थिए । 

सोमबारको बैठकमा अग्नि सापकोटा, युवराज ज्ञवाली, घनश्याम भुसाल, हरिबोल गजुरेल र गणेश शाहले वामदेव गौतमको आलोचनात्मक दस्ताबेजका कतिपय विचार समेटेर अध्यक्षद्वयको राजनीतिक दस्ताबेजलाई पूर्णता दिनु उपयुक्त हुने सुझाब राखेका छन् ।

बैठकमा बादललाई घन्टी बजाउने जिम्मा
नेकपाको स्थायी समिति बैठकको सुरुवात अध्यक्ष केपी ओली र सञ्चालन महासचिव विष्णु पौडेलले गरेका छन् । बैठकमा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’लाई भने घन्टी बजाउने जिम्मेवारी दिइएको छ । व्यवस्थित बैठक सञ्चालनका क्रममा पौडेलले प्रतिवेदनमाथि सुझाब राख्ने नेताहरूको रोलक्रमअनुसार नाम बोलाउने र धारणा राख्ने नेताहरूको समय सकिएपछि बादलले घन्टी बजाउने जिम्मा पाएका हुन् । ‘प्रत्येक नेतालाई २० मिनेटसम्म बोल्ने समय दिइएकाले बादलजीले हरेकको पालामा १५ मिनेट सकिएपछि पहिलो जनाउ घन्टी र २० मिनेट सकिएपछि समापन घन्टी बजाउनुभयो,’ स्थायी समितिका एक सदस्यले भने ।

ओलीसँग वामदेवको आक्रोश, ‘मलाई राजनीति नै छोडाउन खोज्दै हुनुहुन्थ्यो, सकेको अझै गर्नुस्’
प्रधानमन्त्री र पार्टी अध्यक्षजस्तो व्यक्तिले मजाक गरेर मेरो चरित्र हत्या गर्न सुहाउँछ ? ‘दुईजना अध्यक्षलाई लडाउन खोज्दै छन्, मिल्ने भए दुवैजना प्रधानमन्त्री बन्थ्यौँ, तर संविधानले दिँदैन’ भन्दै मलाई मजाकमा उडाउने ? दुईतिहाइ छँदै छ, संविधान संशोधन गर्नूस्, दुवै प्रधानमन्त्री बन्नूस्, मेरो समर्थन छ । तपाईंहरूलाई लडाउन कोही लागेको छैन, तपाईंहरूको मायाप्रीति जुगजुगसम्म रहोेस् । तर, मेरो चरित्र हत्या किन गर्न खोज्नुहुन्छ ? बरु राजनीति नै छोडाउन खोज्दै हुनुहुन्थ्यो, सकेको अझै गर्नुस्, मैले जानेको राजनीति म गरौँला । तर, पार्टीमा स्वेच्छाचारी, व्यक्तिवादी शैली मनपरीतन्त्र अब चल्दैन, स्वीकार गरिँदैन ।

बैठकमा कसले के भने ? 


खकार र वीर्य टेस्ट गरेर गुट बनाउन थालियो : घनश्याम भुसाल
तपाईंहरूले थुक, खकार र वीर्य टेस्ट गरेर आफ्ना मान्छे बनाउन थाल्नुभयो, गुट बनाउन थाल्नुभयो । गुटबन्दीले नश्लीय रूप लिइसक्यो । तपाईंहरू आफ्ना खल्तीका मान्छेहरू राखेर कमिटी बनाउँदै हुनुहुन्छ । यो डेमोक्रेसी होइन, डेमोक्रेसीमा त इथिक्स, रुल अफ लको प्रयोग हुन्छ । तर, त्यसो नभएपछि त वैधता, तपाईंहरूको योग्यतामाथि प्रश्न उठ्छ । सकभर योग्यतामाथि प्रश्न उठाउनु नपरोस् ।

माक्र्सवाद लेनिनवादका शास्त्रीय ग्रन्थमा हाम्रा समस्याका समाधान छैनन् । हामी आफैँ सिर्जनशील भएर समस्या समाधान गर्नुपर्छ भन्ने लेखिएको छ । तपाईं (केपी ओली) सिस्टमेटिकल्ली ज्ञानका विरुद्ध, बौद्धिकताका विरुद्ध लाग्नुभएको छ । पहिला बुद्धले कहाँ पढेका थिए भन्ने, अहिले आएर बुद्धिजीवीलाई थला टेकाउँछु भन्दै हिँड्ने । यो शास्त्र (माक्र्सवाद, लेनिनवाद) विना तपाईं कहाँबाट, कसरी सिर्जनात्मक हुनुहुन्छ ? आफैँ सिर्जनात्मक हुने भनेको के ? यसरी माक्र्सवादलाई, शास्त्रलाई, सिद्धान्तलाई, बौद्धिकतालाई किनारा लगाउन खोज्दै हुनुहुन्छ । के तपाईंले माक्र्सवादलाई पनि किनारा लगाउन खोज्नुभएको हो ?

भुसाललाई ओलीको जवाफ 
म ज्ञान, परम्परा, सभ्यता, संस्कृतिविरोधी होइन । बुद्धका वेला कहाँ क्लास (औपचारिक शिक्षा) थियो भनेको हुँ । सबै बुद्धिजीवीलाई होइन, केही केही गणतन्त्रविरोधी बुद्धिजीवीहरूलाई मात्र मैले इंगित गरेको हुँ । 

वामदेवको पनि विचार समेटौँ : गणेश शाह 
बैठकमा एउटामा उपलब्धि र अर्कोमा कमजोरी भएको दुईखाले दस्ताबेज पेस भएको छ । वामदेव कमरेडको पनि मिलाएर साझा दस्ताबेज बनाऊँ । पार्टी एकता गरे पनि कार्यकर्तामा एकताको सन्देश पु-याउन सकिएको छैन । कम्युनिस्ट पार्टीको संठनात्मक सिद्धान्तअनुसार छिटो एकीकरण सकेर पार्टीपंक्तिलाई परिचालन गरौँ । सार्वजनिक स्थानमा हिँड्दा डुल्दा शक्तिशाली सरकारले मजदुर, श्रमजीवी जनताको हितमा जनपक्षीय काम गर्न नसकेकोमा आलोचना बढिरहेको छ । त्यसैले सरकारले पहिला ठूला सपना पूरा गर्नेभन्दा पनि जनताका आधारभूत आवश्यकता पूरा गर्नेतर्फ ध्यान देओस् ।

उत्तरतिरको पाइलाबाट कर्मचारी किन आतंकित ? : अग्नि सापकोटा 
कुख्यात संस्था युनिभर्सल पिस फेडेरेसनको कार्यक्रमले राष्ट्रको छवि धूमिल बनाएको छ । एउटा महिलाले प्रधानमन्त्री, वरिष्ठ नेतालाई कसरी सजिलै प्रभाव पार्न सक्दी रहिछिन् भन्ने विश्वभर गलत सन्देश फैलिएको छ । त्यो गल्ती स्वीकार्नुपर्छ र जनतासँग माफी माग्नुपर्छ ।

सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान, राष्ट्रिय गौरवका ठूला आयोजना, लगानी बोर्ड प्रधानमन्त्री कार्यालयमा केन्द्रित गर्ने कुरा बेठीक छ । प्रधानमन्त्री आफैँ बोर्डको अध्यक्ष भएपछि किन मातहत राख्नुप¥यो ? प्रधानमन्त्रीले कसरी यी सबै काम गर्न भ्याउनुहुन्छ ?

बैठक समयमै सम्पन्न नगरेर जनवादी केन्द्रीयतालाई आत्मसात् गरिएन । समयमै एकीकरण नहुँदा पार्टीलाई ठूलो नोक्सानी भएको छ । थप नोक्सानी हुन नदिन छिटोभन्दा छिटो एकीकरण गर्नुपर्छ । वामदेव कमरेडका सकारात्मक विचारलाई पनि समेटेर जाँदा प्रतिवेदन पूर्ण हुन्छ ।

चीनले तातोपानी नाका खुलाउने तयारी गरिसक्यो, नेपालका तर्फबाट अहिलेसम्म किन तयारी भइरहेको छैन ? तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको चीन भ्रमणमा अरनिको राजमार्ग विस्तारका लागि १ अर्ब रुपैयाँ सहयोग गर्ने सम्झौता भएको थियो । तर, त्यो फाइल अर्थ मन्त्रालयमा किन गायब पारियो ? उत्तरतिर पाइला अघि बढाउँदा हाम्रा कर्मचारी किन आतंकित हुनुपर्ने ? बुझ्न सकिएन । 

पार्टी कसरी सरकारप्रति उत्तरदायी बन्छ ? : बेदुराम भुसाल 
सचिवालय आफैँले आफैँलाई अनुकूल हुनेगरी विधान बनाउने, अनि समयमै बैठक नबोलाएर त्यो पनि कार्यान्वयन नगर्ने ? प्रदेश कमिटीजस्तो कार्यकारी कमिटीमा मापदण्डबाहिर गएर किन सदस्य मनोनीत गरियो ? 

सरकारले बनाउने नीति र निर्णयमा पार्टीलाई संलग्न नगराउने अनि पार्टीलाई उत्तरदायी बनाउन खोज्ने विरोधाभासपूर्ण स्थिति किन बनाइयो ? नीति र निर्णयमा संलग्न नभएपछि पार्टीले कसरी दायित्व वहन गर्न सक्छ ? 

नेतृत्वले सामन्ती संस्कार त्यागोस् : अष्टलक्ष्मी शाक्य
स्थायी समितिलाई राजनीतिक निर्णय गर्ने, घनीभूत छलफल गर्ने थलो बनाइनुपर्छ । स्थायी समिति बैठकमा ढिलाइ हुँदा पार्टीको संगठनात्मक संरचना कमजोर भएको छ । एकीकरणको ढिलाइले देशभरका कार्यकर्ता निराश भएका छन् । पार्टीभित्र छलफल र निर्णयका आधारमा सरकारले काम गर्नुपर्छ । नेतृत्वले सामन्ती संस्कार त्यागेर फराकिलो सोचका साथ सबैका आलोचना, सुझाब सुन्नुपर्छ । 

एक व्यक्ति एक पद कडाइका साथ लागू गरियोस् : युवराज ज्ञवाली 
कम्तीमा दुई महिनामा एकपटक बैठक बस्ने गरी स्थायी समितिलाई राजनीतिक निर्णयको थलो बनाउनुपर्छ । वरिष्ठताका आधारमा चयन गर्ने मापदण्ड बनाएर केन्द्रीय सदस्यहरूको कार्यविभाजनअघि पोलिटब्युरो गठन हुनुपर्छ । 

केन्द्रमा दुई अध्यक्ष भए पनि त्यसभन्दा तल सबैको हकमा एक व्यक्ति : एक पदको नीतिलाई कडाइका साथ लागू गर्नुपर्छ । जिल्ला कमिटी एकीकरण गर्दा दुई कमिटीबीचको एकीकरण मोडलअनुसार पदाधिकारीमध्ये वरिष्ठलाई अध्यक्ष र सचिव चयन गर्ने मापदण्ड बनाउनुपर्छ । 

मन्त्री हटाइन्छ भनेपछि कसरी काम गर्ने ? : शक्ति बस्नेत 
बैठकमा धेरै प्रश्न उठेकाले पार्टी र सरकारबीचको सम्बन्ध त्यति सौहार्दपूर्ण छ भन्ने देखिएन । यसलाई कसरी व्यवस्थित गर्ने भन्ने निष्कर्षमा पुग्न जरुरी छ । जिम्मेवार व्यक्तिहरूले नै काम नगर्ने मन्त्रीहरू हटाइन्छ भन्दै बोलेपछि कसरी मन्त्रीहरूले काम गर्न सक्छन् ? काम नगरेकै हो भने बाहिर प्रचार गरेर मन्त्री हटाउने हो कि पहिला प्रचारै नगरी हटाउने ? यसरी प्रचार गरिएपछि मन्त्रीहरूलाई सचिव र कर्मचारीहरूले कसरी टेर्छन् ? कसरी काम गर्न सकिन्छ ? 

प्रधानमन्त्री र अध्यक्षको कमजोरीको फेहरिस्त बन्छ : हरिबोल गजुरेल 
नयाँ संविधानपछि बनेको नयाँ सरकार र नयाँ पार्टीले निरन्तरतामा क्रमभंग नगरी जनताका अपेक्षा र चाहनाअनुसार काम पूरा गर्न सम्भव छैन । नेतृत्वले यो विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डका कमीकमजोरीहरू खोतल्दै जाने हो भने लामो फेहरिस्त तयार हुन सक्छ । मुख्य कुरा राजनीतिलाई सही दिशातिर नेतृत्वले लान सक्यो कि सकेन भन्ने हो । गुट कायम राख्ने, परिचालन गरिराख्ने अनि निर्णयमा ढिलाइ किन भयो पनि भनिरहने कुरा युक्तिसंगत हुँदैन । अहिले माथिदेखि तलसम्म एकातिर पूर्वसमूहभित्रका गुटहरू चलिरहेका छन् भने अर्कोतिर नयाँ गुटहरू बनाउने कोसिस पनि चलिरहेको देखिन्छ । गुटको खेती फस्टाउँदै जाँदा के हुन्छ ? इतिहासबाट शिक्षा लिने हो भने स्वार्थ समूहहरू निर्माण गरेर आन्दोलनको हित कतै भएको देखिँदैन ।