मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत २५ मंगलबार १९:३५:००
Read Time : < 1 मिनेट
समाचार

बिरामी भन्दै यात्रु बोक्ने एम्बुलेन्स प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
२०७६ चैत २५ मंगलबार १९:३५:००

बिरामी ल्याउने भन्दै यात्रु बोकेर नेपालगन्जतर्फ जाँदै गरेको भैरवी गाउँपालिकाको एम्बुलेन्स जिल्ला प्रहरी कार्यालय रानीमत्ता चेकपोस्टले नियन्त्रणमा लिएको छ ।

भैरवी गाउँपालिका– ३ की वडाध्यक्ष देवी भण्डारीले दिएको सिफारिसलाई आधार मान्दै यात्रु चढाएर नेपालगन्ज जाँदै गरेको भे.१झ२८९ नम्बरको एम्बुलेन्स दैलेख र सुर्खेतको सीमास्थित रानीमत्ता प्रहरी चौकीले जाँच गर्दा यात्रु बोकेको थाहा पाएपछि नियन्त्रणमा लिएको दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।

आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय दैलेखलाई यसबारे जानकारी गराएको र प्रक्रिया थालनी गरेको ओलीको भनाइ छ । ‘एम्बुलेन्समा रहेका पाँचमध्ये एकजना बिरामीजस्ता युवा थिए,’ रानीमत्ताका असइ चन्द्रलाल गिरीले भने, ‘हामीले ती युवाको स्वास्थ्य जाँच गऱ्यौँ, सामान्य देखिएपछि चालकबाहेक सबैलाई फिर्ता गरेका छौँ ।’ चालक र एम्बुलेन्स भने नियन्त्रणमा रहेको गिरीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले वडाध्यक्षले बिरामी नेपालगन्ज लैजानुपर्ने भयो भनेर फोनमा सल्लाह मागेपछि वडाको सिफारिस दिन भनेको, तर बिरामी भए–नभएकोबारे जानकारी नभएको बताए । वडाध्यक्ष नै यसबारेमा गम्भीर हुनुपर्ने गाउँपालिका अध्यक्ष बुढाको भनाइ छ ।

वडाध्यक्ष भण्डारीले बिरामी भएको भन्दै आएपछि सिफारिस दिएको प्रतिक्रिया दिइन् । बिरामी नभएकालाई बिरामीको सिफारिस दिएको केही सथानीयले आरोप लगाएका छन् ।

‘नेपालगन्जबाट औषधि गाउँपालिकामा ल्याउनुपर्ने थियो, तर यताबाट बिरामी पनि लिनुपर्ने भएको भन्ने सुन्नमा आएको थियो,’ प्रमुख प्रशासकीय अधिकृत हिरासिंह थापाले भने, ‘बिरामी हुन् वा अन्य हुन् यसबारे मलाई जानकारी थिएन ।’ आफूले एम्बुलेन्सचालकलाई बिरामी भए पनि उनका दुईजना आफन्तभन्दा बढीलाई नबोक्नु भनेर सम्झाएको थापाको भनाइ छ ।