१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७६ चैत २५ मंगलबार १९:२६:००
Read Time : < 1 मिनेट
समाचार

कोरोनाको उपचारमा खट्दा मृत्यु भएमा ५० लाख दिने प्रदेश १ सरकारको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका विराटनगर
२०७६ चैत २५ मंगलबार १९:२६:००

प्रदेश १ सरकारले अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्य क्षेत्रका जनशक्तिको मृत्यु भएमा एकमुष्ट ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । 

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमण रोकथाममा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्सचालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको मृत्यु भएमा ५० लाख दिने निर्णय गरेको हो ।

यो सुविधा पाउने स्वास्थ्यकर्मी, कर्मचारी, चालक वा पदाधिकारीहरू प्रदेश सरकारले खटाएको ठाउँमा कार्यरत हुनुपर्नेछ । निजी क्षेत्रका र कोरोना उपचार संक्रमण रोकथाममा नखटिएकाहरूले यो सुविधा पाउने छैनन् । 

संक्रमण रोकथाममा सरकारले खटाएको अवस्थामा कोरोना रोगका कारणबाट मृत्यु भएमा निजको परिवारलाई उसले गरेको सेवाको कदरस्वरूप प्रदेश सरकारको तर्फबाट ५० लाख प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताए । 

यसैगरी प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिहरूलाई नेपाल सरकारले निर्धारण गरेबमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय पनि गरेको छ ।