१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
टोपलाल अर्याल गुल्मी
२०७६ चैत २५ मंगलबार १८:३०:००
Read Time : > 1 मिनेट
समाचार

गुल्मीमा साढे चार हजार विपन्न परिवारलाई राहत वितरण

Read Time : > 1 मिनेट
टोपलाल अर्याल गुल्मी
२०७६ चैत २५ मंगलबार १८:३०:००

दुई नगरपालिका र दश गाउँपालिका रहेको गुल्मीमा मंगलबारसम्म चार हजार चार सय ३५ परिवारले राहत पाएका छन् । जिल्लाका सबै स्थानीय तहमा गरी राहत पाउने सूचीमा नौ हजार सात सय ८९ विपन्न परिवार रहेकोमा अब पाँच हजार दुई सय ५४ विपन्न परिवारले राहत पाउन बाँकी छ । अहिलेसम्म एक नगर र तीन गाउँपालिकाले राहत वितरण गरिसकेका छन् ।

रेसुंगा नगरपालिकाले तीन दिन लगाएर १४ वटा वडाका एक हजार चार सय ९१ जनालाई राहत वितरण गरिसकेको छ । रेसुंगाले परिवार संख्याको आधारमा चार भागमा वर्गीकरण गरेर राहत प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।

धुर्कोट, मालिका र गुल्मी दरबार गाउँपालिकाले पनि विपन्न परिवारलाई राहत वितरण सम्पन्न गरिसकेका छन् । तीनवटै गाउँपालिकाले राहत वितरणको आफ्नै मापदण्ड बनाएका थिए । धुर्कोटले सातवटै वडाका पाँच सय ८१ परिवारलाई प्रतिपरिवार २५ किलो चामल, पाँच किलो आलु, एक पोका तेल र एक पोका नुन वितरण गरेको गाउँपालिका प्रमुख भूपाल पोखरेलले बताए ।

मालिका गाउँपालिकाले आठ वडामा राहत वितरणको काम सम्पन्न गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए । उनले पहिलो चरणमा पाँच सय ७१ परिवारलाई प्रतिपरिवार ३० किलो चामल, तीन किलो दाल, एक पोका नुन र एक लिटर तेल वितरण गरिएको जानकारी दिए । गुल्मी दरबार गाउँपालिकाले ६ सय २६ विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

राहत वितरणको चटारो
जिल्लामा सबैभन्दा पहिले छत्रकोट गाउँपालिकाले राहत घोषणा गर्ने तयारी गरेको थियो । तर, तथ्यांक संकलन सकाएर छत्रकोटले बल्ल राहत वितरणको काम सुरु गरेको छ । गाउँपालिकाले सात सय ५० विपन्न परिवारलाई राहत वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिए ।

मुसिकोट नगरपालिकाले दुई हजार ९७ परिवारलाई राहत वितरण गर्ने योजना बनाएको मेयर सोमनाथ सापकोटाले जानकारी दिए । कालिगण्डकी गाउँपालिकाले अहिलेसम्म सर्वदलीय संयन्त्रले संकलन गरेको सूचीका आधारमा तीन सय विपन्न परिवारलाई राहत वितरण गरेको छ । 

राहत वितरणमा सुस्त स्थानीय तह 
जिल्लाका चार स्थानीय तह भने राहत वितरणमा निकै सुस्त देखिएका छन् । इस्मा, रुरु क्षेत्र, सत्यवती, मदाने र चन्द्रकोट गाउँपालिकाले अहिलेसम्म राहत वितरण नै सुरु गरेका छैनन् । इस्मा गाउँपालिकाले बुधबारबाट मात्र राहत वितरणको योजना बनाएको गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् ।

सत्यवतीले पनि खाद्यान्य ढुवानीको काम भर्खरै सम्पन्न भएकाले बुधबारबाट मात्र राहत वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । रुरु क्षेत्रले खाद्यान्य खरिद प्रक्रिया जारी रहेकाले केही दिनपछि मात्र वितरण गरिने जनाएको छ । यस्तै चन्द्रकोट गाउँपालिकाले पनि छिट्टै राहत वितरण गर्ने जनाएको छ ।

अहिलेसम्म पनि राहत वितरण गर्न नसकेको मदाने गाउँपालिकाले राष्ट्रिय मापदण्डअनुसारै राहत वितरणको योजना बनाएको गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोखरेलले बताए । राष्ट्रिय मापदण्डअनुसार बुधबारबाट प्रतिपरिवार ३० किलो चामल, तीन किलो दाल, दुई लिटर तेल, दुई किलो चिनी र चारवटा साबुन वितरण गरिने उनको भनाइ छ ।