१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ चैत २५ मंगलबार १७:२१:००
Read Time : < 1 मिनेट
समाचार

राहत दिएको फोटो सामाजिक सञ्जालमा नहाल्ने वडाकाे निर्णय

Read Time : < 1 मिनेट
२०७६ चैत २५ मंगलबार १७:२१:००

इलामको रोङ गाउँपालिका– ६ ले राहत बाँडेको फोटो सामाजिक सञ्जालमा नहाल्ने निर्णय गरेको छ । 

वडा कार्यालयले बाँडेको राहतको पनि फोटो नहाल्ने र वडाभित्र राहत बाँड्ने कसैलाई पनि फोटो नहाल्न आग्रह गर्ने निर्णय गरेको हो । 

वडाध्यक्ष मणिकुमार स्याङ्बोले राहत दिएर सामाजिक सञ्जालमा फोटो हाल्ने प्रवृत्ति बढेकाले यो निर्णय गर्नुपरेको बताए । सामाजिक सञ्जालमा यसरी फोटो हाल्दा विपन्नको भावनामा ठेस पुग्ने भएकाले यस्तो निर्णय गरिएको उनले जानकारी दिए । 

‘अति विपन्न परिवारलाई खाद्य संकट परेको वेला राहत दिएको फोटो सामाजिक सञ्जालमा हाल्दा विपन्नको भावनामा ठेस पुग्न सक्छ,’ उनले भने, ‘हामी पनि त्यही तहबाट हुर्किएकाले त्यो पीडा कस्तो हुन्छ भन्ने थाहा छ ।’ 

कसैले राहत दिँदा फोटो खिचे प्रतिकार गर्न आग्रह गरेका छन् । ‘कसैले फोटो खिचे प्रतिकार गर्नुहोस्’, उनले भने, ‘फोटो सामाजिक सञ्जालमा हालेको पायौँ भने हामी फोन गरेर हटाउन पनि भन्छौँ ।’  उनले राहत दिएर प्रचार गर्ने शैलीले अर्काको भावनामा ठेस पुऱ्याउनु ठूलो गल्ती भएको बताए । 

वडाध्यक्ष स्याङ्बोले वडामा राहत वितरणको शैली पनि फरक भएको बताए । ‘वडाले कुपन बनाएको छ । त्यहाँ राहत पाउने, राहत सामग्रीको विवरण र पाउने स्थानको ठाउँ तोकिएको छ,’ उनले भने, ‘त्यो कुपन विपन्नको घरमै पुऱ्याउँछौँ । त्यो कुपन प्राप्त गरेको तीन दिनभित्रमा जानुपर्छ ।’

राहत वितरण गर्न वडाध्यक्ष वा अन्य जनप्रतिनिधि पनि नहुने व्यवस्था उनले मिलाएका छन् । उनले दुःखमा परेकालाई सहयोग गरेर राजनीतिक लाभ लिनु पनि गलत हुने उल्लेख गरे ।

‘समस्या पर्दा एक–अर्कालाई सहयोग नितान्त सेवा भावले मात्र हुनुपर्छ,’ उनले भने, 'यो प्रचारका लागि हुनुहुँदैन ।’