मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २५ मंगलबार १७:२७:००
Read Time : < 1 मिनेट
समाचार

आफ्नो देश फर्कन नपाएका पर्यटकलाई ठमेलमा निःशुल्क खाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २५ मंगलबार १७:२७:००

नेपाल आउने पर्यटकको हब हो, ठमेल । लकडाउनका कारण ठमेल पनि बन्द छ । ठमेलका होटेल, रेस्टुरेन्ट, बार, क्लब, क्याफे सबै बन्द छन् । तर, ठमेल बन्द भए पनि आफ्नो देश फर्किन नपाएका पर्यटकहरू भने ठमेलमै छन् ।

लकडाउनका कारण देश फर्किन नपाएका पर्यटकलाई ठमेलमा निःशुल्क खाना वितरण थालिएको छ । ठमेलको होटेल नर्थ फिल्डले ठमेलमा अलपत्र परेका पर्यटकलाई निःशुल्क खाना वितरण गरिरहेको छ ।

रेस्टुरेन्ट एन्ट बार एसोसिएसन अफ नेपाल र पर्यटन बोर्डको सहयोगमा होटेलले पर्यटकलाई निःशुल्क खाना खुवाउने व्यवस्था गरेको हो । होटेलका व्यवस्थापक गगन ऐरका अनुसार अहिले होटेलले दैनिक ६० जनाभन्दा बढी पर्यटकलाई खाना खुवाइरहेको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर होटेलले पर्यटकलाई खाना प्याक गरेर दिने गरेको छ । ‘हामीले होटेलभित्र प्रवेश दिएका छैनौँ,’ व्यवस्थापक ऐरले भने, ‘खाना प्याक गरेर बाहिरै लगेर दिन्छौँ ।’

होटेलले लकडाउनको तेस्रो दिनदेखि नै पर्यटकहरूका लागि निःशुल्क खाना उपलब्ध गराउन सुरु गरेको हो । पर्यटकलाई खाना खुवाउनकै लागि  होटेलले ११ जना कर्मचारी तयारी अवस्थामा राखेको छ । लकडाउन अवधिभर होटेलले पर्यटकलाई निःशुल्क खाना उपलब्ध गराउने ऐरले बताए ।

फ्रान्स, अमेरिका, जर्मन र चीनले नेपालमा अलपत्र परेका आफ्ना नागरिकलाई जहाजमा फिर्ता लगिसकेको छ । तर, अझै कतिपय पर्यटक भने नेपालमै छन् ।