१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी
२०७६ चैत २५ मंगलबार १३:४६:००
Read Time : > 1 मिनेट
विश्व

महामारीकै बीच अमेरिकाकाे विस्कन्सन राज्यमा डेमोक्रेटिक पार्टीको चुनाव

Read Time : > 1 मिनेट
एजेन्सी
२०७६ चैत २५ मंगलबार १३:४६:००

अमेरिकाको विस्कन्सन राज्यमा कोरोना भाइरसको महामारीकै बीच मंगलबार डेमोक्रेटिक पार्टीको प्रारम्भिक चुनाव हुने भएको छ । 

आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न विस्कन्सन राज्यमा चुनाव हुन लागेको हो । पार्टीले राज्यमा घरभित्रै बस्ने गरी नागरिकलाई जारी गरेको आदेशलाई बेवास्ता गरी मतदानमा भाग लिन पार्टीका सदस्यहरूलाई आग्रह गरेको छ । 

राज्यका चुनावी स्थलको सुरक्षा भने नेसनल गार्डले गर्नेछन् । चुनावमा खटिएका हजारौँ कार्यकर्ताले आफ्नो व्यक्तिगत सुरक्षामा खतरा भन्दै सहभागी हुन अस्वीकार गरिदिएका छन् । केही दर्जन मतदान स्थलहरू बन्द गरिएका छन्, तर खुला गरिएका केन्द्रहरूमा बिहान ७ बजेदेखि नै मतदान हुनेछ । 

चुनावी परिणाम भने मंगलबार घोषणा गरिनेछैन । पूर्वनिर्धारित मितिमै चुनाव गर्ने वा रोक्ने विषयमा अदालतमा मुद्दासमेत परेको थियो । अदालतले चुनाव पूर्वनिर्धारित मितिमै गर्ने, तर चुनावी नतिजा आगामी अप्रिल १३ यता घोषणा गर्न नपाइने आदेश दिएको थियो । जनस्वास्थ्यको कुरा उठाउँदै गभर्नरले राज्यमा चुनाव स्थगित गर्न आदेश दिए पनि सर्वोच्च अदालतले अन्तिम समयमा चुनाव रोक्न नपर्ने आदेश दिएको थियो । 

चुनावी मैदानमा सिनेटर बर्नी स्यान्डर्स र पूर्वउपराष्ट्रपति जो बाइडेन रहेका छन् । चुनावमा विजयी हुनेले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । 

जो बाइडेनले विस्कन्सन राज्यको चुनावमा आफू विजयी हुने र अन्तिम नतिजा पनि आफ्नै पक्षमा आउने बताएका छन् । उनले बर्नी स्यान्डर्सको विजय हुने सम्भावना टर्दै गएको पनि दाबी गरे । 

विस्कन्सन राज्यमा सोमबार रातिसम्ममा दुई हजार पाँच सयभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भइसकेको र ७७ जनाको मृत्यु भइसकेको छ । 

भाइरस संक्रमण रोक्न राज्यका गभर्नरले मानिसलाई घरबाहिर ननिस्कन र बाहिर निस्कनुपरे सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् ।