मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २५ मंगलबार १२:३१:००
Read Time : > 8 मिनेट
समाचार

कोरोनाविरुद्धको लडाइँमा जितहार स्वास्थ्यकर्मीहरूको कर्तव्यनिष्ठतामा निर्भर : प्रधानमन्त्री (पूर्ण पाठ)

Read Time : > 8 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २५ मंगलबार १२:३१:००

आज सिंगाे मानवजाति कोभिड–१९ को महामारीविरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरूलाई सम्बाेधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरि ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा रहेका बिमारीसहित १३ लाखभन्दा बढीमा सङ्क्रमण फैलिएको छ ।

म यस महामारीमा ज्यान गुमाउने नेपाली दाजुभाइ, दिदीबहिनीलगायत सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सङ्क्रमितहरू निको भएर घर फर्किन सक्नुहोस् भन्ने कामना गर्दछु । हाम्रो पुस्ताले भोगेको सर्वाधिक गम्भीर चुनौतीमध्येको यस महामारीविरुद्ध कठिन लडाइँमा रहेका सबै राष्ट्र र जनसमुदायप्रति नेपाली जनताको तर्फबाट ऐक्यबद्धता व्यक्त गर्दछु ।

नेपाल पनि कोरोनाविरुद्धको लडाइँमा होमिएको छ । देशमा सङ्क्रमणको पहिलो केस पहिचान भएदेखि यता तपाईं–हाम्रो साझा प्रयत्नले संक्रमितहरूको संख्या नाैजनामा मात्र सीमित गर्न सकिए तापनि हामी अझै पनि उच्च जोखिममा छौँ । 

दुई सातादेखि मुलुक लकडाउनमा छ । यसबाट तपाईंहरूमा पर्न गएको असुविधाप्रति म संवेदनशील छु । दैनन्दिन ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिकहरू सर्वाधिक मर्कामा हुनुहुन्छ । धेरै व्यवसायीहरूले आफ्नो व्यवसाय बन्द गर्नुपरेको छ । विद्यार्थीहरूको पढाइ छुटेको छ । जेलमा यन्त्रणापूर्ण वर्षहरू र लामो एकान्तवास बिताएको मैले लामो समय एकान्तवासमा बस्दाको कठिनाइलाई सहजै अनुभूत गर्न सक्छु । 

तर, नियन्त्रणका लागि हालसम्म कुनै खोप र उपचारका लागि कुनै औषधि पत्ता नलागेको यस महामारीविरुद्ध लकडाउन अपरिहार्य कदम हो भन्ने तपाईं–हामी सबैलाई थाहा छ । लकडाउनकै कारण महामारीलाई फैलिन नदिने हाम्रो प्रयासमा ठूलो सहयोग पुगेको छ । तर, समस्या अझै यथावत् छ र थप सावधानी अपनाइएन भने अझ भयावह बन्न सक्ने खतरा पनि छँदै छ । त्यसैले आजबाट थप आठ दिनको लागि लकडाउनको अवधि बढाउन हामी बाध्य भएका छौँ । सबै कठिनाइहरू झेलेर यस अभियानमा पूर्ण साथ दिनुहुने तपाईंहरू सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दै बाँकी अवधिका लागि पनि यस्तै धैर्यता र सहयोगका लागि अनुरोध गर्दछु । 

सीमित पूर्वाधार, स्वास्थ्यसामग्री तथा उपकरणका कमीको बाबजुद चिकित्सक, स्वास्थ्यकर्मी तथा अग्रीम मोर्चामा संलग्न सबै राष्ट्रसेवकहरूले देखाउनुभएको कर्तव्यपरायणता अत्यन्तै सराहनीय छ । हाम्रै स्वास्थ्य रक्षाका लागि सुरक्षाकर्मीहरू दिउँसोको चर्को घाम होस् या रातिको अँध्यारो, निरन्तर सेवामा खटिइरहनुभएको छ । मित्रराष्ट्रहरूबाट प्राप्त सद्भाव एवं कतिपय अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाहरूले नेपालले चालेका कदम कतिपय विकसित मुलकको तुलनामा समेत प्रभावकारी रहेको भनेर गरेको विश्लेषणले तपाईं–हामीलाई यस महामारीविरुद्ध लड्न थप हौसला मिलेको छ । 

यस्ता संकटका वेला प्रदेश सरकार र स्थानीय तह एवं जनप्रतिनिधिहरूको भूमिका कति प्रभावकारी हुँदो रहेछ भन्ने स्पष्ट देखिएको छ । म आ–आफ्नो तहमा सङ्क्रमण फैलिन नदिन र विपन्न परिवारहरूलाई राहत पुऱ्याउन अहोरात्र खटिरहनुभएका जनप्रतिनिधिहरूप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु । यस क्रममा स्थानीय समुदायहरू र सामाजिक संघसंस्थाहरूको क्रियाशीलता पनि उल्लेखनीय रहेको छ ।

बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा सरेको संक्रमण (लोकल लेभल स्प्रेड) एकजनामा देखिएसँगै हामी महामारीको दोस्रो चरणमा प्रवेश गरेका छौँ । यसले थप सजगता र सावधानीको माग गरेको छ । महामारीका विरुद्ध सरकारले रोकथाम, नियन्त्रण र उपचारको तीन सूत्रीय विधि अपनाएको छ । 

कोभिड–१९ अथवा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले समग्र कामको अगुवाइ गरिरहेको छ । यसका अतिरिक्त, आमजनसमुदाय, राजनीतिककर्मी, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीहरूको संयुक्त ‘कमाण्ड’को रूपमा  ‘कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)  स्थापना गरिएको छ । यसले युद्धस्तरमा कामको समन्वय, निर्देशन र सम्पादन गर्छ । पहिचान गर्ने, परीक्षण गर्ने र उपचार गर्ने सबै कामलाई समन्वयात्मक ढंगले सम्पादन गर्न यसका चार संरचना (अप्स) खडा गरिएको छ । बिरामी ओसारपसार (पिआरटी) को उपयुक्त व्यवस्था गरिएको छ । 

सिसिएमसी, हामी सबैको साझेदारीमा सञ्चालन हुने संरचना हो । मुख्यमन्त्रीको संयोजनमा प्रदेश तहमा र स्थानीय तहको वडास्तरसम्मै यस संरचनाको सञ्जाल निर्माण गरिएको छ । स्थानीय तहका वडास्तरसम्म वडा अध्यक्षको संयोजनमा हुने संयन्त्रले आफ्नो वडामा सरकारद्वारा घोषित राहत वितरण गर्नेछ । बिरामी छन् र छैनन्, औषधि–उपचार पाए–पाएनन्, बेरोजगार तथा विपन्नहरूले खान पाए –पाएनन् ? त्यसको अनुगमन तथा व्यवस्थापनसमेत गर्नेछ । 

मुलुकभर हाल ३० हजार पाँच सय ६६ जनालाई राख्न सकिने गरी क्वारेन्टाइन केन्द्रको व्यवस्था गरिएको छ । यतिवेला नाै हजार एक सय ६८ जना क्वारेन्टाइनमा हुनुहुन्छ । तीन हजार दुई सय ५९ जना राख्न सक्ने क्षमताको आइसोलेसन बेड तयार गरिएको छ, हाल त्यहाँ ९५ जना उपचारत हुनुहुन्छ । सरकार सकभर सङ्क्रमण फैलिन नदिन र फैलिहालेको अवस्थामा पनि त्यसलाई नियन्त्रण गर्न पूर्ण तयारीमा जुटेको छ । 

यस अवधिमा सातै प्रदेशबाट पोलिमरेज चेन रियाक्सन (पिसिआर) प्रविधिबाट परीक्षण सुरु गरिएको छ ।  हिजोसम्म एक हजार आठ सय ९०  जनाको परीक्षण गरिसकिएको छ । सातै प्रदेशका १० परीक्षण केन्द्रबाट परीक्षणलाई तीव्रता दिनुका साथै सङ्क्रमणको उच्च जोखिममा रहेका जिल्लाहरूमा द्रुत परीक्षण (ऱ्यापिड डिटेक्सन टेस्ट–आरडिटी) विधिमार्फत हजारौँको नमुना परीक्षणको तयारी अगाडि बढाइएको छ ।

सातै प्रदेशमा, उपचारमा आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) पूरा सेट– एक हजार ४८ थान, गाउन– ११ हजार आठ सय १९ थान, एन ९५ मास्क– चार हजार तीन सय ४५ थान, मास्क– पाँच लाख ६५ हजार दुई सय ६१ थानसहित आवश्यक विभिन्न स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको छ । भेन्टिलेटरसहित अपुग स्वास्थ्य सामग्री तथा उपकरणको थप प्रबन्ध गरिँदै छ ।

यसबीच हजारौँको संख्यामा नेपालीहरू घर फर्किनुभएको छ । उहाँहरूमध्ये कतिपयले क्वारेन्टाइनमा बस्न गरिएको आग्रह र प्रबन्धहरूलाई ध्यान नदिएकोले चिन्ता थपिएको छ । उहाँहरूलाई पुनः आग्रह छ– स्वघोषणा गरेर जनप्रतिनिधिहरू र स्वास्थ्यकर्मीहरूको सम्पर्कमा जानुहोस् । तपाईंहरूको लापरबाही स्वयं तपाईंको परिवार र सिंगाे समुदायका लागि निकै महँगाे पर्न सक्छ । 

नेपालमा लकडाउन सुरु भएपछि नेपाल–भारत सीमानजिक आउनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले  भोग्नुपरेको अप्ठ्यारो र उहाँहरूको भावनालाई हामीले बुझेका छौँ । तर, सङ्क्रमणको जोखिमलाई न्यून गर्न हामीले अन्तर्राष्ट्रिय सीमामा आवतजावत बन्द गर्नैपर्ने बाध्यता छ । भारत सरकारसँग समन्वय गरी सीमाको पारिपट्टि रहनुभएका दुई हजार एक सय ४७ नेपालीलाई उतै क्वारेन्टाइनमा राखिएको छ ।

सीमाको वारिपट्टि रहेका करिब सात सय  भारतीय नागरिकलाई हामीले क्वारेन्टाइनमा राखेका छौँ । लकडाउनलाई प्रभावकारी बनाउन र सम्भावित संक्रमणलाई सकेसम्म सानो घेरामा सीमित गर्न सरकारले यो उचित उपाय अपनाएको हो भन्ने सबै देशबासीले महसुस गर्नु नै भएको छ । निश्चित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेर उहाँहरूलाई देशभित्र भित्र्याइनेछ ।

विश्वव्यापी रूपमा सङ्क्रमण फैलिँदै जाँदा विदेशमा रहनुभएका कतिपय नेपालीहरूमा पनि सङ्क्रमण देखापरेको छ । केहीको दुःखद निधनसमेत भएको छ । लाखौँको सङ्ख्यामा विदेशमा रहेका नेपालीहरू आफ्नो स्वास्थ्य सुरक्षालाई लिएर, रोजगारी अथवा पढाइलाई लिएर र समग्र भविष्यलाई लिएर चिन्तित हुनुहुन्छ । संकटको यस घडीमा हाम्रो सहानुभूति, साथ र सद्भाव उहाँहरूप्रति छ । हाम्रा दूतावास र मिसनहरू प्रवासी र गैरआवासीय नेपालीहरूका समस्या समाधानमा क्रियाशील छन् ।

गैरआवासीय नेपाली संघलगायत सामुदायिक संस्थाहरूले पनि सक्दो सहयोग गरिरहेका छन् । विदेशमा रहेका नेपालीहरूको स्थितिका बारेमा सम्माननीय राष्ट्रपतिज्यू स्वयंले नेपाली दूतावासहरूमार्फत जानकारी लिइरहनुभएको छ । नेपाली श्रमिक बहुल रहेका विभिन्न मुलुकका प्रधानमन्त्रीहरूसँग मैले टेलिफोन संवाद सुरु गरेको छु । परराष्ट्र मन्त्रालयले निरन्तर आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ । मेरो आग्रह छ– संकटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ । संकटका काला बादल अवश्य हटेर जानेछन् । 

विश्वव्यापी महामारीविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य र समन्वयको खाँचो छ । विश्वव्यापी  संकटको घडीमा आफ्नो सरहदभित्र रहेका स्वदेशी र विदेशी नागरिक सबैलाई सुरक्षा र संरक्षण गर्ने दायित्व सबै सरकारहरूको हो । नेपालले सीमित साधनस्रोतका बाबजुद नेपालमा रहेका विदेशी नागरिकहरूको सक्दो हेरचाह गरिरहेको छ । हाम्रो विश्वास छ– असहज घडीमा विदेशमा रहेका नेपाली समुदायले पनि सम्बन्धित सरकारहरूबाट माया र संरक्षण पाउनेछन् । 

आउने दुई साता सायद हाम्रा लागि थप चुनौतीपूर्ण हुन सक्छन् । यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो । त्यसैले महामारीको संक्रमण फैलिन नदिन हाम्रा सारा प्रयास केन्द्रित गरिनेछ । यसै हप्ताबाट प्रयोगमा ल्याइएको ऱ्यापिड डिटेक्सन टेस्ट किटले समुदायमा संक्रमणको स्थिति पहिचान गर्न सघाउने विश्वास गरेका छौँ ।

यस परीक्षणमार्फत सम्भावित संक्रमितको स्क्रिनिङ गर्ने र दोहोरो परीक्षणबाट संक्रमित भए नभएको सुनिश्चित गरिनेछ । समुदायस्तरको परीक्षणका लागि उच्चस्तरीय निर्देशक समिति र सिसिएमसीले सम्भावित जोखिम रहेका जिल्ला र क्षेत्र तय गरी जनशक्ति परिचालन गरिसकेको छ । थप सुनिश्चितताको लागि क्वारेन्टाइनमा तोकिएको अवधि पूरा गरेकाहरूको समेत परीक्षण गरिनेछ । यसका लागि यहाँहरूको पूर्ण सहयोगको अपेक्षा गरेका छौँ ।महामारीको वेला रोजगारी गुमाएर कोही पनि श्रमिक भोकै पर्नु नपरोस् भनेर सरकारले स्थानीय तहहरूको संयोजनमा राहत वितरण गरिरहेको छ । 

अर्थतन्त्रलाई गतिशील राख्न आवश्यक सुरक्षाविधि सुनिश्चित गरी कतिपय मेगा प्रोजेक्टहरूको निर्माण जारी राखिएको छ । सरकारले कृषि कार्यलाई निरन्तरता दिने उपयुक्त उपायको खोजी गरेको छ र अवलम्बन गरिरहेको छ । म विश्वास दिलाउन चाहन्छु– संकटको वेलामा पनि र संकटपछि पनि सरकार तपाईंहरूसँगै रहेर नेपालको आर्थिक विकासलाई गति दिन क्रियाशील हुनेछ ।

महामारीविरुद्धको यो युद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको नेतृत्वमा लडिने विशेष प्रकृतिको लडाइँ हो भन्ने हामीलाई थाहा छ । आजसम्मको तपाईंहरूको भूमिकाले महामारीलाई नियन्त्रण गर्न मुलुकलाई राम्रो सफलता मिलिरहेको छ । अबको लडाइँकाे जित, तपाईंहरुको हौसला, विशेषज्ञता र कर्तव्यनिष्ठतामा अडेको छ । तपाईंहरूको आँटको आधारमा नै सरकारले कुनै पनि कदम दृढताका साथ चाल्न सक्छ ।

यसैलाई ध्यानमा राखी उपाचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई ड्युटीमा रहेका सुरक्षाकर्मीसरह नै संरक्षण गर्ने निर्णय सरकारले यसअघि नै गरिसकेको छ । राहत तथा सुविधाको हकमा उपचारको पहिलो घेरामा रहनेहरूलाई शतप्रतिशत, दोस्रो र तेस्रो घेरामा रहनेलाई पचहत्तर र पचास प्रतिशत भत्ता यसअघि नै घोषणा गरिसकिएको छ । आवश्यक सुरक्षा उपकरणको व्यवस्थासहित २५ लाखबराबरको बिमाको व्यवस्था पनि सरकारले तपाईंहरूको समग्र सुरक्षाका लागि गरेको छ ।

चिकित्सक टिमसँगै अग्रभागमा रही काम गरिरहेका सबै सुरक्षा निकायका सम्बन्धित व्यक्तिहरू, राष्ट्रसेवक कर्मचारीहरू, ड्राइभर, हेल्पर, सफाइ कर्मचारीलगायत कोरोना भाइरसका विरुद्धको उपचारमा संलग्न सबै श्रमिकहरूको भूमिका चिकित्सकीय टिमका सदस्यसरह नै महत्वपूर्ण हुने हुँदा सोहीसरह भत्ता–बिमासहित सरकारले तपाईंहरूको समग्र सुरक्षाको बन्दोबस्त गर्छ । यस अभियानमा परिचालन हुने समुदायमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेवीहरूलाई र. एक हजार पाँच सय भत्ताको थप व्यवस्था गरिएको छ ।

गत चैत ७ गतेको सम्बोधनमा मैले यस महामारीसँग जुध्नका लागि हाम्रो आफ्नै व्यवहार र दैनिकीमा परिवर्तन गर्न आग्रह गरेको थिएँ । यतिखेर ‘जीवन कि वैयक्तिक स्वतन्त्रता ?’ जस्ता प्रश्नमा अलमलिनु हुँदैहुन्न भन्नेमा जोड दिन चाहन्छु । जीवनको रक्षा नै सबैभन्दा महत्वपूर्ण मानवअधिकार हो र विश्व मानव जाति र मानवीय सभ्यताको रक्षा आजको विश्वको प्राथमिक महत्वको काम हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छु । यो हामी सबैको साझा लडाइँ हो र समाजको हरेक सदस्य यस लडाइँमा आफैँ एउटा सिपाही हो भन्ने कुरा हामीले मनन गर्न सक्नुपर्दछ । यसो गरेर हामीले कोरोना भाइरसलाई परास्त गर्न सक्दछौँ ।

यस खालको महामारीसँग जुझ्न समग्र विश्वको तयारी पर्याप्त रहेनछ भन्ने कुरा आज प्रत्यक्ष देखिएको छ । मानव स्वास्थ्यमा उच्च लगानी गर्ने नयाँ विश्व प्रणालीको आवश्यकता टड्कारो बनेको छ  । विकसित, सम्पन्न र सुदृढ स्वास्थ्य प्रणाली भएका देशहरूलाई समेत आच्छुआच्छु पारिरहेको यस महामारीविरुद्ध जुझ्न हाम्रोजस्तो सीमित साधनस्रोत भएको मुलुकलाई हम्मेहम्मे पर्नु स्वाभाविकै हो ।  यतिबेला सबैभन्दा ठूलो चुनौती स्वास्थ्य उपकरणहरूको आपूर्तिमा परेको छ । मागको तुलनामा आपूर्ति कम हुँदा स्वास्थ्य सामग्री खोसाखोस भएको र विभिन्न मुलुकबीच आरोप–प्रत्यारोपसमेत चलिरहेको छ ।

नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण कुरा अरू हुन सक्दैन । सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरू यस्तो असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन् । त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको हो । अवस्था सामान्य होस् या असामान्य, सरकारका कामकारबाहीहरू विधिसम्मत् हुनुपर्छ र  सुशासनका मानकमा ती खरो उत्रिनैपर्छ । सरकारका काम कुनै पनि संवैधानिक अंगहरूको सम्परीक्षणभन्दा माथि हुँदैनन् । तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहन्छ । 

तर, कामै गर्न नसक्ने र  प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरूलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ भन्ने मात्र मेरो आग्रह छ । समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझाबप्रति मेरो पर्याप्त ध्यान गएको छ ।

मानवजातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नुपर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहित स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजाजस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन । भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिबद्धतालाई लगातारको निराधार कुप्रचारले कमजोर पार्न सक्नेछैन । कहीँ–कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारबाही गर्न वर्तमान सरकार किञ्चित पछि पर्नेछैन ।

सरकार र जनताबीचको, राजनीतिक दलहरूबीचको, राज्य र समाजका सबै अंगहरूबीचको बलियो राष्ट्रिय एकता नै महामारीमाथि विजयको पूर्वसर्त हो । संसद्को साझा संकल्प, सर्वदलीय सहमति, प्रमुख प्रतिपक्षी दलसहित विभिन्न राजनीतिक दल तथा तिनका नेताहरूको ‘महामारीका विरुद्धको युद्धमा सरकारको साथमा रहने’ भनाइलाई यस सन्दर्भमा मैले राष्ट्रिय शक्तिको रूपमा लिएको छु । आगामी दिनमा पनि यस्तो समझदारी र एकता निरन्तर रहने कुरामा म विश्वस्त छु ।

संकटको यस घडीमा हामी कहाँ उभिएका थियौँ, हाम्रो ध्यान केमा थियो र हामीले के भूमिका खेलेका थियौँ भन्ने मूल्यांकन इतिहासले अवश्य गर्ने नै छ । व्यक्तिको स्मृति छोटो र कमजोर हुन सक्छ, तर इतिहास भने यस मामलामा निर्मम हुन्छ । मेरो आग्रह छ– मानव जातिलाई नै चुनौती दिइरहेको यस संकटसँग जुझिरहेको वेला हाम्रो ध्यान यसै लडाइँमा एकाग्र गरौँ । अरू छलफल र कामहरू त स्थिति सामान्य बनेपछि गर्न सकिन्छ नै ।  

स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न र सरकारले गरेका निर्णयहरू जनसमक्ष पुर्‍याउन सञ्चारमाध्यमहरूले खेलेको भूमिका सराहनीय छ । मेरो आग्रह छ, संकटको वेलामा आशावादको, संकटमाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने सामूहिक आत्मविश्वासको र बलियो सामाजिक–राष्ट्रिय एकताको निर्माणका लागि सञ्चारमाध्यमहरूले अझ जिम्मेवार भूमिका खेल्नुहोस् ।

म एकपटक फेरि दोहाेर्‍याउन चाहन्छु– विभिन्न मुलुकहरूको अनुभवले भनिरहेको छ, यस महामारीविरुद्धको युद्धमा सामाजिक दूरी सबैभन्दा उपयुक्त हतियार हो । सामाजिक दूरीका लागि लकडाउन विकल्पहीन माध्यम हो । तसर्थ यस अवधिको लकडाउनलाई जतिसुकै कष्टकर भए पनि हरतरहले सफल पार्न हामी एक होऔँ । 

मानव जातिले इतिहासमा यस्ता धेरै महामारीमाथि विजय हासिल गर्दै आएको छ । नेपालले त समकालीन इतिहासमै धेरै अप्ठ्यारा चुनौतीहरूको सामना गरेको छ, विजय हासिल गरेको छ । पाँच वर्षअघिको विनाशकारी भूकम्प र पाँच वर्षमा भएको पुनर्निर्माणले नेपाली जनताको धैर्यता र साहसको नमुना प्रस्तुत गरेका छन् । पटक–पटक लड्नु, धुलो टक्टक्याउँदै उठ्नु र फेरि अगाडि बढ्नु मानव जातिको स्वभाव हो, उसको अदम्य विशेषता हो । यही विशेषताकै बलमा हामीले यस संकटमाथि विजय हासिल गर्नेछौँ । 

यस महामारीविरुद्ध हामीले समयमै चालेको कदमका कारण सयौँको जीवन जोगिएको छ । आउने केही हप्ता हामीले अलिकति साह्रो–गाह्रो सहँदा थप जीवन रक्षा गर्न सकिन्छ । आउनुहोस्, फेरि एकपल्ट पाँच वर्षअगाडिको विनाशकारी भूकम्पको समयमा जस्तै धैर्यता र साहस प्रदर्शित गरौँ ।

तपाईंहरूलाई सुविधा उपलब्ध गराउन, आपूर्ति व्यवस्थालाई सहज बनाउन, आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र कोरोना भाइरस फैलिन नदिन सरकार एकजुट भएर अघि बढ्न प्रतिबद्ध छ । म यहाँहरू सबैलाई एकताबद्ध हुन हार्दिक आग्रह गर्दछु ।

(प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको सम्बोधनको पूर्ण पाठ)