१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
लक्ष्मी काफ्ले 
२०७५ माघ ९ बुधबार १३:१७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

वाइडबडीमा मेरो संलग्नता छैनः मन्त्री अधिकारी

Read Time : > 1 मिनेट
लक्ष्मी काफ्ले 
२०७५ माघ ९ बुधबार १३:१७:००

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले वाइडबडी विमान खरिदको सम्पूर्ण प्रक्रिया अघिल्लो सरकारकै पालामा सकिएकाले यसमा आफ्नो संलग्नता नरहेको बताएका छन् । वाइडबडीको खरिद पक्रिया २०७१ सालबाटै सुरु भएको बताउँदै मन्त्री अधिकारीले सम्पूर्ण प्रक्रिया त्यसबेलै सकिएको बताए ।

‘टेन्डर आह्वान, बिजनेश प्लान, खरिद प्रक्रिया, बैना र पहिलो किस्तासमेत अघिल्लै सरकारका पालामा भएको थियो,’ बिर्तामोडमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हाम्रो पालामा अरु २ किस्ता पठायौँ र अहिले जहाज आएर सञ्चालनमा छ ।’ वाइडबडीबारे अनुसन्धानसमेत भइरहेकाले वास्तविकता चाँडै बाहिर आउनेमा उनले विश्वास व्यक्त गरे । 

वाइडबडी खरिद प्रक्रियाको अध्ययन गर्न जाँचबुझ आयोग बन्नुका साथै अख्तियारले पनि हेरिरहेका कारण सबै विषय चाँडै टुंगिने र गलत व्यक्ति कोही भेटिए कारबाहीको भागिदार हुने उनको भनाइ थियो । नेपाल एयरलाइन्सलाई अझै प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । नेपालबाट बाहिर आवतजावत गर्नेमा अहिले नेपाल एयरलाइन्स ‘फस्ट’ भएको उनले बताए । जहाज अझै नपुग्ने भन्दै उनले केही साना र ठूला जहाज खरिद गर्नुपर्ने बताए ।

‘कांग्रेसले नन् इश्युलाई इश्यु बनायो’
मन्त्री अधिकारीले डा. गोविन्द केसीको अनशनको विषयलाई लिएर कांग्रेसले संसद् अवरोध गरी ‘नन् इश्यु’लाई ‘इश्यु’ बनाएको टिप्पणी गरे । ‘संसद् अवरोध गर्नुपर्ने विषय नै होइन यो,’ उनले भने, ‘मान्छे बहकिएला, एउटा व्यक्तिका रुपमा रविन्द्र अधिकारी पनि बहकिएला तर, सरकार अवश्य बहकिँदैन, यो विषय संवादको क्रममा छ, चाँडै समाधान होला ।’ विरोधका लागि मात्र विरोध नगर्न उनले कांग्रेसलाई आग्रह गरे ।

डा. केसीका ९५ प्रतिशत माग समाधान भइसकेको बताएका मन्त्री अधिकारीले सरकारले मुलुकको व्यवस्था नै कमजोर पार्नेगरी काम नगर्ने स्पष्ट पारे । कांग्रेसले संसद् अवरुद्ध गरेर मुलुकको भविष्य अवरुद्ध पार्न खोजेको उनले आरोप लगाए ।