१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
राज सरगम काठमाडाैं
२०७६ चैत २५ मंगलबार १०:३३:००
Read Time : > 2 मिनेट
नयाँCity

लकडाउनमा घरेलु हिंसाको जोखिम

Read Time : > 2 मिनेट
राज सरगम, काठमाडाैं
२०७६ चैत २५ मंगलबार १०:३३:००
  • गोपाल ढकाल, मनोविद्

व्यस्त जीवनशैलीका कारण चाहेर पनि व्यक्ति आफ्नो घरपरिवारलाई समय दिन सकिरहेका थिएनन् । कोरोना भाइरस (कोभिड–१९)को प्रकोपपछि लकडाउनले एकले अर्काको भावना बुझ्ने र सम्बन्धलाई मजबुत बनाउने अवसर दिएको छ । सम्बन्धलाई नवीकरण गर्ने मौका हो यो ।

मनमुटाव हुनु तथा सम्बन्ध बिग्रनुको कारण एकले अर्कोलाई बुझ्न नसक्नु नै हो । एकले अर्कोलाई बुझ्ने माध्यमसँगै रहनु अर्थात् धेरैभन्दा धेरै समय सँगै बिताउनु हो । तर, यति हुँदाहुँदै लकडाउनको अवस्थामा पारिवारिक कलह, मनमुटाब, घरेलु हिंसा, महिला हिंसा र डिभोर्सका घटना बढ्दै गएको तथ्यांक देखापरेको छ । यसो हुनुका पछाडिको मनोवैज्ञानिक पाटोलाई पनि केलाउनुपर्ने हुन्छ ।

यस्ता छन् मनोवैज्ञानिक कारण

घुलमिल हुन नसक्नु

कुनै परिस्थितिमा व्यक्तिले कस्तो व्यवहार देखाउँछ भन्ने स्वयं उसको ज्ञान, सीप, अनुभव आदि कुरामा भर पर्छ । विपत् आउँदा, समस्या पर्दा र अप्ठ्यारो परिस्थितिमा व्यक्तिले कि सकारात्मक व्यवहार देखाउँछ कि त नकारात्मक । नकारात्मक क्रियाकलाप र व्यवहारले समस्या निम्त्याउँछ । 

लकडाउनलाई व्यक्तिले कसरी उपयोग गरिरहेको छ, त्यो व्यक्तिअनुसार फरक पर्छ । कसैका लागि लकडाउन उपयोगी सावित भइरहेको छ भने कतिका लागि बोझिलो र संकटयुक्त । 

कोरोना फैलने डरले अहिले अधिकांश मानिस तनावमा छन् । तनाव भएका वेला सानासाना कुरामा पनि झनक्क रिस उठ्ने, छट्पटी बढ्ने र जाँडरक्सी तथा लागुपदार्थको सेवन गर्नेजस्ता लक्षण देखा पर्न सक्छन् । यस्तो भएमा परिवारिक कलह तथा हिंसाका घटना हुन सक्छन् । 

घरपरिवारका सबै सदस्य एकै ठाउँमा हुँदा एकले अर्कोको भावना बुझ्न सकेनन्, सहयोग आदनप्रदान भएन तथा आदर र सम्मान गर्न जानेनन् भने कलह उत्पन्न हुन जान्छ । भनिन्छ, ‘आपद्विपत्मा नै मान्छे चिनिन्छ ।’ अन्तरवैयक्तिक सम्बन्ध राम्रो बनाउने सीप सबैमा नहुन सक्छ । यस्तो सीपको अभावमा पनि पारिवारिक कलह बढ्न सक्छ । जुन परिवारिक हिंसाको कारण बन्न सक्छ ।

कोरोना फैलने डरले अहिले अधिकांश मानिस तनावमा छन् । तनाव भएका वेला सानासाना कुरामा पनि झनक्क रिस उठ्ने, आवेशमा आउने, जिद्दीपन, चिडचिडाहट र छट्पटी बढ्ने, शंका गर्ने, निर्णय लिन गाह्रो पर्ने, जाँडरक्सी तथा लागुपदार्थको सेवन गर्नेजस्ता लक्षण देखा पर्न सक्छन् । यस्तो भएमा पनि परिवारिक कलह तथा हिंसाको घटना हुन सक्छ । घरेलु हिंसा र महिला हिंसाका धेरैजसो घटना जाँडरक्सी तथा लागुपदार्थको सेवनका कारणले भएको देखिन्छ । 

कामको बोझ

विपत्तिले पुरुषभन्दा महिलालाई बढी मानसिक असर पु¥याउँछ । साथै, अहिलेको लकडाउनले महिलाहरूमा घरायसी कामको बोझ पनि बढेको छ । जसले महिलाहरूमा अझ बढी तनाव र निराशा पैदा गरेको छ । यस्तो अवस्थामा महिलाको समस्यालाई बुझ्न नसक्दा परिवारमा असमझदारी तथा झै–झगडा हुन पुग्छ ।

यौनमा ध्यान केन्द्रित

लकडाउनको समयमा बढी नै फुर्सद हुन्छ । यस्तोवेला सिर्जनात्मक काममा नलाग्दा हाम्रो सोच जतिवेला पनि यौनतिर जान सक्छ । यसका लागि समझदारी नहुँदा यौन हिंसासमेत हुन पुग्छ । तनाव, डर, चिन्ताको वेलामा यौनको रुचि कम भएर जान्छ भन्ने पार्टनरले नबुझेको अवस्था हुन सक्छ ।  

अत्यधिक तनाव

सानासाना कुरामा पनि कचकच गर्ने बानी छ भने पनि यसले लकडाउनको समयमा परिवारिक कलह निम्तिन आगोमा घिउको काम गर्न सक्छ । तनावको अवस्थामा अनावश्यक ठट्टा गर्नु पनि राम्रो होइन । तनाव र चिन्ताको अवस्थामा व्यक्तिले कुन सही र कुन ठट्टा हो भनेर छुट्याउन नसकेर अप्रिय घटना पनि घट्न सक्छन् । ‘ख्यालख्यालैमा जेल’ भन्ने भनाइ नै छ नि । 

समाधानका उपाय

  • लकडाउनको समयलाई बुद्धिमत्तापूर्ण ढंगले सदुपयोग गर्र्नुपर्छ । जसका लागि सिर्जनशील हुने, आफूले जानेको काम सामाजिक सञ्जालमा भए पनि देखाउने र उत्पादनमूलक काम गर्ने गर्नुपर्छ ।
  • सकारात्मक व्यवहार गर्ने, मिडिया र सामाजिक सञ्जालमार्फत आएका सकारात्मक समाचार आफूले पनि ग्रहण गर्ने र अरूलाई पनि सुनाउने ।
  • भविष्यका योजना बनाउने, बितेका दिनका अनुभव अरूलाई भन्ने, सन्देशमूलक भिडियो आपसमा बसेर हेर्ने । 
  • घरमा सबैसँग राम्रो व्यवहार गर्ने, महिलाको कामलाई परिवारले सम्मान गर्ने र पुरुषले पनि काम गर्ने ।
  • किताब पढ्ने र पढ्न अरूलाई पनि प्रेरित गर्ने । 
  • परिवारका सदस्यको आत्मबल बढाउन प्रेरित गर्ने ।
  • श्रीमतीको इच्छाविपरीतका कुनै काम नगर्ने ।