मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
ब्रुनो डोब्रुसिन
ब्रुनो डोब्रुसिन
२०७५ माघ ९ बुधबार १०:२४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

प्रविधिको विकास र रोजगारी

Read Time : > 2 मिनेट
ब्रुनो डोब्रुसिन
२०७५ माघ ९ बुधबार १०:२४:००

‘कामको भविष्य’बारे थुप्रै कुराहरू लेखिएका छन् र अधिकांश लेखन त निराशावादी छन् । अध्ययनहरूले के देखाएका छन् भने स्वचालनले सम्पूर्ण उद्योगलाई समाप्त पार्दै लाखौँ मानिसलाई बेरोजगार बनाइदिन्छ । मेसिनले एक वा दुई दशकभित्र अमेरिकाको ४७ प्रतिशत रोजगारी विस्थापित गर्न सक्ने सन् २०१३ मा अक्सफोर्ड विश्वविद्यालयका दुईजना प्राध्यापकले तयार पारेको प्रतिवेदनले देखाएको थियो । 

यस्ता निष्कर्षहरूले भविष्य रोजगारविहीन रहने कुरा सुझाएको छ । यसलाई कर्पोरेट क्षेत्र र ‘गिग’ अर्थतन्त्रका नकारात्मक प्रवृत्तिले समर्थन गरेको छ । कर्मचारी र मजदुर संघको यसमा सानै भए पनि योगदान त पक्कै छ । यदि यस्तो परिवर्तन हुने हो भने कामको भविष्य एकदमै भिन्न देखिन सक्छ । 

रोजगारीमा स्वचालनले पार्ने सामान्य तीन प्रभावको यहाँ अनुमान गरिएको छ । प्रचलित कथानकहरूको घातक कथालाई परिवर्तन गर्न र कर्मचारीको अधिकारको संरक्षण गर्न यी हरेक प्रभावलाई सम्बोधन गर्न जरुरी छ । 

पहिलो अनुमान हो, निकट भविष्यमा पूर्ण स्वचालन रोजगारीले कामदारलाई विस्थापित गर्छ । यो विचार अनुमानभन्दा केही बढी हो र एउटै डाटाको प्रयोग गरेर पनि फरक–फरक निष्कर्ष निकाल्न सकिन्छ । उदाहरणका लागि सन् २०१३ मा अक्सफोर्ड अनुसन्धानमै प्रयोग भएका डाटासेटको अध्ययनबाट सन् २०१७ मा म्याकेन्सीले गरेको अध्ययनबाट के निष्कर्ष आएको थियो भने अमेरिकाका ५ प्रतिशत रोजगारी पूर्ण स्वचालित र ६० प्रतिशत रोजगारी भने आधा मात्रै स्वचालित बन्नेछन् । अर्को शब्दमा भन्ने हो भने स्वचालनको अर्थ मानिसको काम पूर्ण रूपमा लोप हुने भन्ने होइन, बरु त्यो थप उत्पादनशील बन्ने भन्नेचाहिँ हो । 

हालको प्रवृत्तिले व्यावसायिक प्रक्रियामा प्रविधिको निर्माण कसरी भइरहेको छ भन्ने कुरा किन महत्वपूर्ण छ भन्ने विषयमाथि प्रकाश पारेको छ । अमेरिकी अनलाइन सपिङ अमेजनले उत्पादन बढाउन स्टोरका कर्मचारीलाई ह्यान्डसेट दिनेजस्ता नवप्रवर्तन उपाय प्रमुख कर्पोरेसनहरूले ल्याउने हो भने यसको अनिच्छित परिणाम हुन सक्छ उत्पादनमा कमी । अधिकांश कामदारका लागि प्रविधि आफैँभन्दा पनि त्यसलाई कसरी अपनाइएको छ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ । 

दोस्रो अनुमान हो, स्वचालनबाट अधिकांश कामदार लाभान्वित हुँदैनन् । तर, श्रमिकले कति तलब लिन्छन् भन्ने कुरा मेसिनले नभई मानिस र राजनीतिले निर्धारण गर्ने हो । प्रविधिले समग्र उत्पादकत्व बढाउँछ भन्ने विचारलाई मान्ने हो भने (गत दशकमा ओइसिडी राष्ट्रको उत्पादन  बृद्धि सबैभन्दा न्यून थियो) कामदार र राजनीतिक नेताहरू काम र जीवनबीच उत्कृष्ट सन्तुलन ल्याउने कुरामा बढी केन्द्रित रहन सक्छन् । दैनिक ८ घन्टा काम गर्ने विवाद शताब्दीदेखि चल्दै आएको र हालै भएका वार्ताहरूले हप्तामा काम गर्ने समय छोट्याउने भन्ने विषयका लागि बाटो बनाएको छ । केही मजदुर संगठनहरूले यस्तो गर्दै आएका छन् तर यसलाई अरूले पनि अपनाउनुपर्छ । 

अन्त्यमा स्वचालनलाई जति बढाइँ–चढाइ गरिएको छ, वास्तवमा यो श्रमिकका लागि त्यति दबाबमूलक विषय भने होइन । प्रविधि बाधक बन्न सक्छ, तर आजका कामदारको सबैभन्दा ठूलो चिन्ताको विषय भनेको बेरोजगारी, अनिश्चित रोजगारी र तलबमा कमी हो । अन्तर्राष्ट्रिय श्रम संगठनको २०१८ को विश्व रोजगारी सामाजिक परिदृश्यअनुसार अनौपचारिक क्षेत्रमा काम गर्ने विश्वका १ अर्ब ४० करोड मानिस रोजगारीको असुरक्षित परिस्थितिमा रहेका छन् । यस्तो असुरक्षित हुने बेरोजगारको संख्या भने १९ करोड २० लाख रहेको छ । 

पक्कै पनि आजको नयाँ प्रविधिले कामदारलाई नकारात्मक तरिकाबाट प्रभावित पारिरहेका छन् । यो वास्तवमा सधैँ सत्य नै साबित भएको छ र मानिसहरू एउटा आर्थिक क्षेत्रबाट अर्कोमा विस्थापित हुने क्रम पनि जारी नै छ । एकातिर प्राविधिक नवप्रवर्तनले नयाँ अवसरको सिर्जना त गर्छ साथै यसले कामदारको अधिकारलाई कसरी कमजोर बनाउँछ र आर्थिक असुरक्षालाई कसरी बढाउँछ भन्ने कुरा आजको ‘गिग’ अर्थतन्त्रले देखाएको छ । कामदारको डर सही छ र यसैकारण उनीहरूलाई खराब अवस्थाबाट बचाउन श्रमिक आन्दोलनहरू भइरहेका छन् । हाल जलवायुसँग सम्बन्धित अव्यवस्थामा प्रयोग हुँदै आएको ‘जस्ट ट्रान्जिसन’को अवधारणालाई प्रविधिसँग सम्बन्धित विघटनमा विस्थापित गर्नु स्वचालनले कसैलाई पनि पछाडि छोड्दैन भन्ने सुनिश्चित गर्ने एक महत्वपूर्ण नवप्रवर्तन हो ।

तर, हामीले कामविहीन विश्वका उत्सुक कथाहरूलाई भने स्वीकार गर्नु हुँदैन । प्रविधि र आर्थिक विकास प्रतिस्पर्धाको मैदान हो र मजदुर संगठन कार्यक्षेत्रको अवस्था सुधार्ने, नयाँ उद्योगमा कामदारको व्यवस्थापन गर्ने र कर्मचारीले कम्पनी सञ्चालनको विषयमा धेरै बोल्न नपाउने सत्तावादी व्यावसायिक मोडललाई चुनौती दिनेजस्ता कुरामा बढी केन्द्रित हुन आवश्यक छ । 

सकारात्मक संकेतहरू उदाइरहेका छन् । सेवा क्षेत्रमा श्रमिक संगठनहरू बढ्दै छन् । विश्वका केही ठूला कर्पोरेसनका कर्मचारीहरू तलब बढाउन काममा लागेका छन् । र, अमेरिकाका कामदारहरूले पनि बाँच्न पुग्ने तलबको माग गरिरहेका छन् (उनीहरूले पाई पनि रहेका छन्) । स्वचालनको प्रभाव मजदुर संगठनमा अझ प्रस्टसँग देखिन्छ भन्ने कुरा सुनिश्चित गर्नु अर्को चरण हो । कामको भविष्य पूर्वनिर्धारित छैन, यो अझै पनि कोरिँदै छ । सदाजसो कलम कसले चलाउँछ भन्नेचाहिँ महत्वपूर्ण प्रश्न हो ।

ब्रुनो डोब्रुसिन ग्रिन इकोनोमी नेटवर्कमा वान मिलिया जब्स क्याम्पेनका संयोजक हुन् ।
कपिराइट : प्रोजेक्ट सिन्डिकेट, २०१९
(नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)
www.project-syndicate.org