मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २५ मंगलबार ०८:३०:००
Read Time : > 1 मिनेट
सेयर बजार

वैशाख ३ गतेसम्म सेयर बजार बन्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २५ मंगलबार ०८:३०:००

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन वैशाख ३ गतेसम्म लम्ब्याउने निर्णय गरेपछि सेयर बजार पनि बन्द हुने भएको छ । 

लकडाउनको अवधि आठ दिनलाई थप भएसँगै सेयर बजार पनि वैशाख ३ गतेसम्म बन्द हुने नेपाल स्टक एक्सचेन्जका सिइओ चन्द्रसिंह साउदले बताए । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले सरकारले गरेको निर्णयमा चल्न नेप्सेलाई पहिले नै निर्देशन दिएकाले लकडाउनको अवधि थप भएपछि बजार बन्द हुने जानकारी गराए । 

कोरोना भाइरस संक्रमणका कारण चैत १० गतेदेखि बन्द  छ । यति वेला सेयर बजारको कारोबारभन्दा पनि स्वास्थ्य सुरक्षाको बढी आवश्यकता भएका कारण सेयर बजार बन्द गर्नुपरेको साउद बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा पूर्ण अनलाइन र सेटलमेन्टको काम अनलाइनमार्फत भएकाले कारोबार भइरहेको छ । नेपालमा यो सबै गर्नका लागि लगानीकर्ता आफैँ उपस्थित हुनुपर्ने भएकाले सेयर बजार बन्द गर्नुपरेको उनले बताए । 

नेप्सेले कम्पनीहरूको सूचना वेबसाइटमा सार्वजनिक गर्ने काम भने खुला रहेको बताएको छ । नेप्से सर्कुलरमा समृद्धि फाइनान्सका अध्यक्षले राजीनामा दिएको सूचना आएको छ । कम्पनीका अरू कुनै सूचना आएभने वेबसाइडमा राख्ने नेप्सेले बताएको छ ।  

साउदका अनुसार सेयर राफसाफको काम पनि लकडाउनको अवधिभर वैशाख ३ गतेसम्म बन्द हुने भएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखी चैत ११ गतेदेखि २५ गतेसम्म राफसाफ बन्द गरेको थियो ।

सेयर बजार बन्द गरिराख्न हुँदैन : ज्योति दाहाल

सेयर बजार बन्द गरिराख्न नहुनेसेयर जानकार तथा अधिवक्ता ज्योति दाहाल बताउँछन् । सेयर बजार तरलता कायम गराउने वित्तीय बजार भएकाले यसको कारोबार निरन्तर रोकिरहन नमिल्ने उनी बताउँछन् । 

उनी भन्छन्, ‘संकट, विपत्ति भन्ने कुरा आउँछ, जान्छ । सबै संकट वा विपत्तिले सबै कुरालाई काबुबाहिर पारेको हुन्न । बैंकजस्तै सेयर बजार पनि वित्तीय बजार हो । वित्तीय बजारलाई यो–त्यो भनेर रोकिराख्न मिल्दैन ।’ 

 बजार खुल्नेबित्तिकै सर्वस्व जान्छ भन्ने धारणा लिनु गलत भएको उनी बताउँछन् । बजारमा सेयर मूल्य घटे पनि धारण गरेको कित्ता नबेचेसम्म घट्दैन । सेयरबजार घट्ने र बढ्नेकै दोसाँध हो । लाभ लिने नै यस्तै घट्दा र बढ्दा हो । घट्दै नघटे वा नबढे त्यो सेयर बजार नै होइन । 

सेयर बजार सुनिश्चित नाफाको बजार होइन, जोखिमको बजार हो । जोखिम जति उच्च छ, नाफाको अंक पनि त्यत्तिकै उच्च छ । कमजोर मनमस्तिष्क लिएर सेयर कारोबार हुन्न । 
राफसाफ कसरी होला, दलाल, सिडिएसका कर्मचारी कसरी आउलान् भनेर कारोबारीले चिन्ता लिने होइन । लकडाउनको अर्थ करोबार नै रोक, बाटोमा हिँड्दै नहिँड भनेको होइन ।

सावधानी अपनाएर कार्यलाई आंशिक रूपमा भने पनि चालू गर्नुपर्छ भन्ने हो । पूरा समयको सट्टा आंशिक रूपमा सुरुमा १ घन्टाबाट खोलेर क्रमशः परिस्थिति हेरी समय बढाउँदै लगेर पूर्ण रूपमा बजार खुलाउन आवश्यक रहेको उनले बताए ।