मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २५ मंगलबार ०८:१५:००
Read Time : > 1 मिनेट
सम्पादकीय

भय र मानवीयता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २५ मंगलबार ०८:१५:००

सांसारिक जीवनमा मानिसका अनेक धर्म र कर्म हुन्छन् । यहाँ धर्मलाई कुनै खास समूहले मानिआएका धार्मिक आस्थाका अर्थमा लिइएको होइन । ईश्वरीय आस्था र त्यसमा आधारित आध्यात्मिक कर्म फरक हुन् । तर, दया, माया, सद्भाव, सहयोगका अनेक पक्ष छन्, जसले मानिसलाई अरू प्राणीभन्दा विवेकी र संवेदनासहितको बनाएको छ । सामान्य विवेक र संवेदना सबै प्राणीमा हुन्छ । आफ्नो जीवन जिउन अरूको हत्या गर्ने प्राणीले पनि भोको छैन र आफ्नो जीवनमाथि संकट आउँदैन भने अरू जीवको हत्या गर्दैन । मानिसहरू रोगी, आबाल वृद्धालाई सहयोग गर्ने, दानदातव्य गर्ने, सामाजिक सार्वजनिक हितका लागि आफ्नो समय र श्रम लगानी गर्ने प्रवृत्तिका हुन्छन् । यी मानिसका प्राकृतिक गुण नहुन सक्छन्, बरु यी सामाजिकीकरणले बनाएका गुण हुन् ।

हालै युरोपका केही वृद्धवृद्धाले आफ्नो जीवनभन्दा युवाको जीवन महत्वको छ भनेर भेन्टिलेटरको प्रयोग युवालाई गर्न देऊ भनेका समाचार आए । चिकित्सक र नर्सले कोरोना उपचारमा संलग्न भएकैले संक्रमित भएर मृत्युवरण गरेका छन् । आफूमा संक्रमण हुन सक्ने जान्दाजान्दै सुरक्षाकर्मी बर्दी फुकालेर भागेका छैनन्, बरु असुरक्षित अवस्थामै पनि आफ्नो कर्तव्यपालन गरिरहेका छन् । नेपालमै पनि स्वास्थ्यकर्मीहरू आवश्यक सुरक्षा उपकरणविनै उपचारमा खटिएका छन् । तर, आममानिस भने यसरी सहज ढंगले आफ्नो कर्तव्य र धर्म पालन गर्न तयार भएको नदेखिनुु हाम्रो समयको एउटा लाजमर्दो यथार्थ हो ।

मान्छे जब भयग्रस्त हुन्छ अनि सारा मानवीयता, धर्म, परोपकार, स्वयंसेवा, पेसागत मर्यादा र नैतिक जिम्मेवारीबाट समेत भाग्दो रहेछ
 

थानकोट, काठमाडौंको एउटा डेरामा आश्रय लिइरहेका तनहुँका मिर्गाैलापीडित व्यक्ति घरबेटीले दिएको पीडाका कारण अस्पतालमा भोकै रात बिताउन बाध्य भएका छन् । बुटवलमा ९ दिनपहिले मृत्यु भएका बाबुराम थापाको शव आफन्तले नै बुझ्न र सद्गत गर्न नमानेपछि अस्पतालमै अलपत्र परेको छ । उनको परिवारका सदस्य निरीहता र अपमानबोधको सिकार भएर दिनदिनै जिउँदै मरिरहेका छन् । झापाको बिएन्डसी अस्पतालले झाडापखालाका एक बिरामी बालकलाई अस्पतालमा प्रवेशै नदिएर लखेटेको छ । बाराका एक युवाको वीरगन्जका सबै सरकारी र निजी अस्पतालले उपचार गर्न नमानेपछि काठमाडौं आउँदै गर्दा उपचारै नपाई मृत्यु भएको छ । उनीहरू सबै कोरोना भएको भन्दै सर्न सक्ने आशंका गरेर अर्को मान्छेमा उत्पन्न भयका कारण जनाएको प्रतिक्रियाका सिकार भएका हुन् ।

यस्तो भयले जब ग्रस्त हुन्छ अनि सारा मानवीयता, धर्म, परोपकार, स्वयंसेवा, पेसागत मर्यादा र नैतिक जिम्मेवारी सबैबाट मान्छे भाग्दो रहेछ । यतिवेला संक्रमणको भय सबैलाई छ । हाम्रो जस्तो देश र विकसित देशमा समेत शासन गर्नेहरूको मति भ्रष्ट भएकाले उपचारको प्रबन्ध गर्न नसकेर, नजानेर या प्रणालीगत संकटका कारण आफ्नै नीतिहरूको सिकार भएर आधारभूत जिम्मेवारी पूरा गर्नसमेत सकिरहेका छैनन् । तर, संसारका सबै देशमा अहिले पनि मानिस आवश्यक सतर्कतासहित मानव कल्याणमा लागिरहेका छन् । चिडियाघरमा जीवजन्तुलाई खाना खुवाइएकै छ । अत्यावश्यक सवारीसाधन चलिरहेकै छन् । औषधि र खाद्यान्नका पसल चलेकै छन् । सहरमा दूध नियमित आपूर्ति भइरहेको छ । यी क्षेत्रमा संलग्न सबैले भयका कारण आफ्नो जिम्मेवारीबाट भाग्ने हो र अरू मरे मरून्, आफू बाँच्नुपर्छ भन्ने हो भने मानवसमाज कसरी बस्नलायक रहला र ?