मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी इरान
२०७६ चैत २५ मंगलबार ०७:३९:००
Read Time : > 2 मिनेट
विश्व

कोराेना संक्रमण गुपचुप राख्दा इरानमा अनियन्त्रित

Read Time : > 2 मिनेट
एजेन्सी इरान
२०७६ चैत २५ मंगलबार ०७:३९:००

विश्वव्यापी महामारी बनेको कोरोना संक्रमणबाट प्रताडित देशहरूमध्ये एसियाली मुलुक इरान पनि एक हो । यहाँ कोरोना संक्रमणबाट पछिल्ला दिनमा औसत दैनिक एक सय ४५ जनाको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ । तर, मृतकको वास्तविक तथ्यांक योभन्दा धेरै भएको उपचारमा संलग्न चिकित्सक र विज्ञहरूले दाबी गर्दै आएका छन् । 

फेब्रुअरीको तेस्रो साता पहिलोपटक देखिएको कोरोना १६ दिनमा इरानका ३१ ओटै प्रान्तमा फैलिएको थियो । १६ वटा मुलुकले इरानबाट आफ्नो देशमा भाइरस फैलिएको बताउँदै आएका छन् । इराक, अफगानिस्तान, बहराइन, कुवेत, ओमन, लेबनान, दुबई, क्यानडा, पाकिस्तान, जर्जिया, इस्टोनिया, न्युजिल्यान्ड, बेलारुस, अजरबैजान, कतार र अर्मेनियाले इरानबाट आफ्नो देशमा भाइरस फैलिएको बताएका हुन् ।

स्वास्थ्य प्रणाली अस्तव्यस्त

तीन साताअघि कोरोना संक्रमण फैलिएपछि डा. एफ मोहमद संक्रमितको उपचारमा दिनरात खटिएका छन् । उत्तरी गिलान प्रान्तको एक अस्पतालमा कार्यरत उनले विगत दुई सातादेखि आफ्नो परिवार देख्न पाएका छैनन् । 

संक्रमणकै कारण उनले आफ्ना सहकर्मी र गुरु गुमाए । ‘कोरोना भाइरस महामारीले हाम्रो सम्पूर्ण स्वास्थ्य प्रणालीलाई नै अस्तव्यस्त बनाएको छ,’ मोहमद भन्छन्, ‘अस्पतालका स्वास्थ्यकर्मीको आत्मविश्वास गुमेको छ । हामी निकै दबाबमा छौँ ।’ उत्तरी इरानको अस्पतालमा काम गर्ने अधिकांश चिकित्सकले उनको जस्तै नियति भोगेका छन् । ‘हामीसँग पर्याप्त मास्क छैन । हाम्रा सहकर्मी दिनहुँजसो संक्रमणको सिकार भई मृत्युवरण गरिरहेका छन्,’ डा. मोहमद भन्छन् ।

बिरामीबाट भएको संक्रमणबाट सहकर्मी गुमाउनु स्वास्थ्यकर्मीका लागि हृदयविदारक क्षण हो । पछिल्लो समयमा इरानमा दर्जनौँ स्वास्थ्य स्वयंसेवीले ज्यान गुमाएका छन् । संक्रमितको उपचारमा संलग्न एक २५ वर्षीया नर्स नार्जेस खनालिजादेहको मृत्युको तस्बिर केही दिनअघि सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तर, उनको कोरोनाबाट मृत्यु नभएको सरकारको दाबी छ ।

‘अमेरिकाको जैविक हतियार’

१९ फेब्रुअरीमा पहिलोपटक संक्रमित भेटिएको घोषणा गर्दै सरकारले सर्वसाधारणलाई भाइरसबारे चिन्तित नहुन आग्रह गरेका थियो । संक्रमणबारे शत्रुहरूले बढाइचढाइ गरेको इरानका सर्वोच्च नेता आयोतोल्लाह अल खमेनीले आरोप लगाएका थिए । त्यसको एक सातापछि संक्रमित र मृतकको संख्या ह्वात्तै बढेको थियो । राष्ट्रपति हसन रौहानीले पनि सर्वोच्च नेताको भनाइप्रति समर्थन जनाउँदै ‘शत्रुहरूले षड्यन्त्र गरेको’ आरोप लगाएका थिए । 

इरानको जनजीवन अस्तव्यस्त पार्न विरोधीले संक्रमणबाट मृत्यु हुनेको संख्याबारे अफवाह फैलाएको भन्दै उनले आमइरानीलाई आफ्नो नियमित काम गर्न अनुरोध गरेका थिए । हालै सरकार नियन्त्रित टेलिभिजिनमा आफ्नो सम्बोधनमा रौहानीले कोरोना भाइरसलाई अमेरिकाले निर्माण गरेको जैविक हतियार बताउँदै उसले जैविक हमला गर्न खोजेको आरोप लगाएका थिए । सोमबारसम्म इरानमा कोरोनाबाट तीन हजार सात सय ३९ को मृत्यु भएको छ भने ६० हजार पाँच सय संक्रमित छन् । इरान कोरोनाबाट बढी संक्रमित हुने सातौँ देश हो ।

छैन मेडिकल किट

कोरोनाबाट प्रभावित मुख्य तीन प्रान्त गिलान, गोलेस्तान र मजनदरानका चिकित्सकका अनुसार अस्पतालमा कोरोना भाइरस परीक्षण गर्ने किटको अभाव छ भने औषधि, अक्सिजन ट्यांक, मास्क, ग्लोब, प्रोटेक्टिभ वेयरलगायत मेडिकल आपूर्ति सहज हुन सकेको छैन । अस्पताल अभावमा बिरामीलाई कामचलाउ र अस्थायी टहरामा उपचार गरिएको छ । बिरामीको प्रवाह बढेपछि स्थानीय रंगशालामा उपचार गरिएको गिलान प्रान्तको एक अस्पतालको आइसियू वार्डमा कार्यरत एक चिकित्सक बताउँछिन् ।

 ‘सरकारी तथ्यांक गलत’

अधिकांश चिकित्सकको भनाइमा कोरोनाबाट मृत्यु भएको भनी सरकारले सार्वजनिक गरेको संख्या वास्तविकभन्दा न्यून हो । गोलेस्तान प्रान्तस्थित ए एन्ड ई मेडिकलका एक चिकित्सकका अनुसार उनी कार्यरत अस्पतालमा दैनिक तीन सय बिरामी आउँछन् । 

उनीहरूमध्ये ६० देखि ७० प्रतिशत कोरोना संक्रमित हुन् । तर, मेडिकल सामग्रीको अभावमा गम्भीर अवस्थाका बिरामीलाई मात्र भर्ना गरिन्छ र भर्ना गरिएकालाई मात्र संक्रमितका रूपमा गणना गरिन्छ । पछिल्लो दुई सातामा आफूले काम गरेको अस्पतालमा दैनिक पाँच बिरामीको मृत्यु हुने गरेको उनको भनाइ छ । उनका अनुसार कोरोनाको परीक्षण किटको व्यवस्था गर्दागर्दै बिरामीको मृत्यु भइसकेको हुन्छ ।

इरानले महामारीलाई सुरुमा गुपचुप राख्न खोज्दा अहिले अनियन्त्रित बनेको विज्ञहरूको भनाइ छ । उपचारमा संलग्न डा. मोहमदका अनुसार सरकारले कोरोनाबाट मृत्यु हुनेको तथ्यांक लुकाइरहेको छ । कोरोनाबाट मृत्यु हुने पछिल्लो तथ्यांक हेर्दा सरकारले तथ्यांक लुकाएको अनुमान गर्न सकिन्छ । किनकि  तथ्यांकमा कोरोनाबाट मृत्यु हुनेको संख्या औसतमा १४० मात्र देखिन्छ ।